close

पठाओका संस्थापक फाहिम सलेहको हत्या

टेकपाना टेकपाना

साउन १, २०७७ १६:५४

पठाओका संस्थापक फाहिम सलेहको हत्या

काठमाडौं । नेपाल तथा बंगलादेशमा चर्चित राइड शेयरिङ एप पठाओका संस्थापक फाहिम सलेहको हत्या भएको छ । न्युयोर्कको मेनहट्टनस्थित आफ्नै अपार्टमेन्टमा ३३ वर्षे आईटी उद्यमी सलेहको शव फेला परेको हो । 

उनको शरीर विद्युतीय आराले काटेर छिन्न भिन्न भएको स्थितिमा फेला परेको थियो । मंगलबार सलेहकै अपार्टमेन्टमा उनकी बहिनीले उनको शरीर क्षतविक्षत अवस्थामा फेला पारेकी थिइन् । प्रहरीका अनुसार शवको प्रकृति हेर्दा व्यावसायिक हत्याराले नै उनको हत्या गरेको देखिएको छ । घटनास्थलको सीसीटीभी फुटेजमा सलेह एकजना मास्कधारी व्यक्तिसँग आफ्नो अपार्टमेन्टमा छिरिरहेको देखिएका छन् । 

गोकडा कम्पनीले वक्तव्य जारी गर्दै आफ्ना संस्थापक तथा सीईओ सलेहको मृत्युको खबर पुष्टि गरेको छ । हाल प्रहरीले उनको हत्यालाई लिएर छानबिन चलाइरहेको छ । 

बंगलादेशी मूलका सलेहको जन्म साउदी अरबमा भएको थियो । उनले २०१५ मा बंगलादेशमा राइड शेयरिङ एप पठाओको स्थापना गरेका थिए, जुन पछिल्लो समय नेपालमा पनि निकै लोकप्रिय बनिरहेको छ । यस्तै उनले २०१७ मा नाइजेरिया र लागोसका लागि मोटोरबाइक शेयरिङ एप गोकडाको समेत स्थापना गरेका थिए । 

टेक क्रञ्चका अनुसार एक वर्ष अघि मात्र उनको कम्पनी गोकाडाले ५३ लाख डलरको उपक्रम पूँजी संकलन गरेको थियो । 

नवीन तथा अन्वेषणात्मक अवधारणाका धनी उर्जाशील युवा फाहिम सलेहलाई उनका सहकर्मी तथा साथीहरुले विकासशील मुलुकको एलोन मस्क भनेर बोलाउने गर्दथे । 

१५ वर्षको उमेरदेखि नै उनमा नवीन सोँच देखिन थालेका थियो । बाल्यकालदेखि नै घण्टौंसम्म अनलाइन भिडियो गेमहरुमा समय बिताउने, प्रविधि उद्योगका महत्वपूर्ण खेलाडीहरुकाे बारेमा पढ्ने बानीका कारण उनी पनि यही क्षेत्रतिर अग्रसर हुन प्रेरित भएका थिए ।

२०१६ मा सलेहले रेडिच नामको एउटा वेबसाइटसँग कुराकानी गर्दै भनेका थिए, ‘म यूकेलेले खेल्थेँ, यसमा भरमार आइडियाहरु पाउन सकिन्छ ।’

पाइजामा लगाएर घरभित्रै बसिरहने सलेह केही न केही बनाइरहन्थे, केही विज्ञापनहरु अनलाइनमा राखेर पैसा समेत कमाउँथे । १५ वर्षकै उमेरमा उनले प्रोग्रामिङमा विभिन्न परीक्षण गर्न थालेका थिए । त्यसैबेला उनले टिन-ह्याङआउट डट कम भन्ने सामाजिक सञ्जाल बनाएका थिए । उनी साथीहरुलाई त्यसमा आफ्ना आर्टिकलहरु लेखेर पोस्ट गर्न आग्रह गर्थे । यसरी उनको पहिलो प्रयोगले समुदायमा आधारित ब्लगिङ फोरमको रुप लिएको थियो । धेरै साइट ट्रायल र इररका बावजूद पनि उनले महिनामा दुईदेखि तीन डलर कमाउन सुरु गरेका थिए ।

उच्च माध्यामिक तहदेखि नै आफ्ना प्रविधि सम्बन्धी सोचहरु बेचेर उनले लाखौं लाख रुपैयाँ कमाउन थालेका थिए ।  युवाहरुका लागि एमड्युड डट कम, आइकन फन डट कम, एमएसएन डोल्ज डट कम, आइकन ड्युड डट कम र अन्य धेरै वेबसाइट बनाएर उनले एक लाख डलरदेखि डेढ लाख डलरसम्मको आम्दानी गर्न थालिसकेका थिए ।

बुबाको आखाँ छल्दै स्कूलको गृहकार्य नगरी उनी आफ्नो रुचीको अन्वेषणको काम गर्दथे । किशोर अवस्थामै हुँदा उनले गूगलबाट पहिलोपटक पाँच सय डलरको पेचेक पाएका थिए । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४