close

एन्ड्रोइड फोनमा स्टोरेज चिपको आयु थाहा पाउन सकिने फिचर आउँदै

टेकपाना टेकपाना

बैशाख ९, २०८१ १९:३७

एन्ड्रोइड फोनमा स्टोरेज चिपको आयु थाहा पाउन सकिने फिचर आउँदै

काठमाडौं । डिभाइसको इन्टर्नल स्टोरेज अर्थात् रोम चिप कति समय चल्न सक्छ भनेर जानकारी दिन एन्ड्रोइड १५ मा नयाँ फिचर आउने भएको छ । डिभाइसको इन्टर्नल स्टोरेजको अवस्थाबारे प्रयोगकर्तालाई जानकारी दिन गुगलले नयाँ फिचरमा काम गरिरहेको हो । 

उक्त फिचर उपलब्ध भएपछि प्रयोगकर्ताले 'डिभाइस डायग्नोस्टिक्स' जस्ता एपबाट स्टोरेज कम्पोनेट सम्बन्धी सबै सूचना आफ्नै फोनबाट हेर्न सक्नेछन् । त्यसरी देखिने सूचना एपीआईमा आधारित हुनेछ । उक्त एपीआईले फोनको स्टोरेज डिभाइसको स्वास्थ्य अवस्थाबारे प्रतिशतमा जानकारी दिने छ । जस्तै; त्यहाँ ९० प्रतिशत देखिँदा उक्त स्टोरेज डिभाइसको जीवनकाल त्यति नै बाँकी रहेको बुझ्न सकिन्छ । 

गुगलले यो एपीआई एन्ड्रोइड १५ को बेटा भर्सन वनमा इनेबल गरिसकेको छ । तर यो फिचर एन्ड्रोइड १५ बाट सञ्चालन हुने सबै मोडलले सपोर्ट नगर्न सक्छन् । किनकी त्यस्ता सूचना सङ्कलन गर्न डिभाइस पनि सक्षम हुनुपर्ने हुन्छ । 

यो फिचर हार्डवेयरको जीवनकालका समस्या समाधान गर्न गुगलले हाल चलाइरहेको परियोजना अन्तर्गत आउन लागेको हो । यसअघि पनि गुगलले एन्ड्रोइड १४ मा ब्याट्रीको अवस्थाबारे सूचनाहरू हेर्न मिल्ने बनाएको थियो । त्यसबाट प्रयोगकर्ताले ब्याट्रीको उत्पादन मिति, सर्कर काउन्ट लगायतका विवरण हेर्न सक्थे । तर गत मार्चमा एन्ड्रोइड १४ क्यूपीआर टू अपेडट दिँदै गुगलले यो फिचर हटाएको छ । 

आजकलका अधिकांश स्मार्टफोन ब्रान्डले केही वर्षसम्म बिक्री पछिको सेवा दिने गर्छन् । जसमा सफ्टवेयर अपडेट, सेक्युरिटी अपडेट जस्ता कुरा पर्छन् । तर प्रयोगकर्ताले आफ्नो डिभाइसको हार्डवेयरकाे अवस्था कस्तो छ भनेर थाहा पाएका भने हुँदैनन् । त्यस्तोमा यो फिचरले प्रयोगकर्तालई पुराना डिभाइस चलाइरहने कि नयाँ लिने भनेर निर्णय लिन समेत सहयोग गर्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १०, २०८१ १३:३३