के हो क्राउडसोर्सिङ, लाभ लिने कसरी ?

How to Use Crowdsourcing Effectively

काठमाडौं । सन् २०११ मा एउटा हलिउड फिल्म आयो ‘लाइफ ईन अ डे’ । फिल्म निर्माता रिड्ले स्कटले यो फिल्मलाई कूल  चार हजार पाँच सय घण्टा लामो ८० हजारवटा भिडियो क्लिपबाट तयार पारेका थिए । 

यो कुरालाई यहाँ उल्लेख गर्नु पछाडि एउटा रोचक कारण छ । त्यो ८० हजार क्लिपमध्ये कुनै पनि क्लिप फिल्म प्रडक्सन हाउसले भने बनाएको थिएन । ती सबै क्लिप विभिन्न मानिसहरुले पठाएका क्लिप थिए ।

जसलाई मिलाएर करिब ९० मिनेटको फिल्म बनाइएको थियो । ह्याकिङ अथवा इन्टरनेट सेक्युरिटी अनुसन्धानको क्षेत्रमा रुची राख्नुहुन्छ भने बगक्राउडको नाम सायद तपाईंले सुन्नु भएकै होला । साइबर सुरक्षाको क्षेत्रमा काम गर्ने यो सबैभन्दा ठूलो बग बाउन्टी तथा भल्नरेबिलिटी डिस्क्लोजर प्लेटफर्म हो । 

यो कम्पनीले विश्वभरका कुनै पनि संस्थामा संलग्न नरहेका स्वतन्त्र ह्याकरहरुबाट काम गराउँछ । कम्पनीको विजनेस मोडल नै यसैमा आधारित छ । सबैभन्दा नयाँ खबर त फेसबुकले हालै नयाँ एप सार्वजनिक गरेको छ ।

‘होस्ट’ नामको यो एप एउटा ज्ञानमूलक सामग्री शेयर गर्ने प्लेटफर्म हो । यहाँ व्यक्तिले आफ्नो मनमा उठेका विषय चर्चामा ल्याउन र प्रश्न गर्न सक्छन् । कुनै विषयमा अनुमान गर्न सक्छन् । प्लेटफर्ममा तपाईंले उठाएको त्यो विषय जोकसैले देख्न सक्छ । 

यसरी आफूलाई लागेको विचार, तथ्य, विश्लेषण र तथ्यांक त्यसमा थप गरी एउटा निचोड निकाल्न सकिन्छ । तपाईंभित्रको ज्ञानको भोक पनि यसबाट मेटिने, विचार पनि साटासाट हुने र सबैभन्दा महत्वपूर्ण कुरा नयाँ ज्ञानको सिर्जना हुने । यो भन्दा राम्रो अवधारणा के हुनसक्ला, एकछिन सोच्नुहोस् त !

यी तीनैवटा प्रयोगमा देखिएको समानता भनेको ‘भिडको प्रयोग’ हो । भीडले अन्वेषण जन्माउँछ, सिर्जना जन्माउँछ, युगलाई दिशानिर्देशन दिन्छ र समग्रमा हाम्रो भविष्य तयार पार्छ ।

आफ्नो सेवा तथा वस्तुको बारेमा नयाँ आइडिया लिन व्यवसाय, सरकार र सार्वजनिक संगठनहरु सबै भिडकै प्रतिक्रिया लिने गर्छन् । भिडबाट अन्वेषण र भविष्य जन्माउने एउटा स्थापित अवधारणा नै छ, जसलाई ‘क्राउड सोर्सिङ’ भनिन्छ ।

कसरी सुरु भयो क्राउडसोर्सिङ ?

सन् २००६ मा विकास भएको यो अवधारणा एउटा सोर्सिङ मोडल नै हो । यसअघि विकास भएका अवधारणा हुन्, ईन सोर्सिङ (जहाँ कुनै पनि संस्थाले बकैदा मान्छे नियुक्त गरेर दैनिक ज्यालादारीको आधारमा काम गराउँछ ) र आउटसोर्सिङ (जहाँ कम्पनीले आफ्नो लागि आवश्यक कर्मचारीहरु बाहिरको जुनसुकै ठाउँबाट नियुक्त गरेर करारमा तलब दिने गरी काम गराउँछ) ।

क्राउड सोर्सिङ आउटसोर्सिङकै अर्को रुप हो । तर यो भिडबाट गरिने काम हो । क्राउड सोर्सिङ प्रविधिको प्रयोग गरेर विश्वभर छरिएको भिडको शक्तिलाई प्रयोग गरेर आफू र आफ्नो आवश्यकता अनुकूलका मानिसहरु नियुक्त गरेर काम गराउन सकिन्छ ।

तपाईंले कुनै एउटा व्यक्तिलाई हजार रुपैयाँ दिएर एउटा काम गराउन सक्नुहुन्छ । तर त्यही हजार रुपैयाँ वा त्यो भन्दा कम मूल्यमा तपाईको कामलाई अझ राम्रो तरिकाले गर्न सक्ने ठूलो भीड हुन्छ । मात्र खोज्न आवश्यक छ । जसलाई आजको समयमा प्रविधिले निकै सहजीकरण गरिदिन सक्छ ।

यो त भयो क्राउड सोर्सिङको कर्मचारी नियुक्ती गर्ने व्यवसायिक मोडल । तर क्राउड सोर्सिङ यतिमा मात्र सिमित छैन । वास्तवमा क्राउडसोर्सिङ अन्वेषण जन्माउने सबैभन्दा दीगो र प्रभावकारी विधि पनि हो ।

आजको प्रविधिको युगमा हरेक विषयका तथ्य तथा जानकारीहरु इन्टरनेटमा पाउन सकिन्छ । यी सबै जानकारीबाट नयाँ इन्साइट्स विकास गर्न सकिन्छ । तिनै इन्साट्सले आज अन्वेषणको भूमिका खेलिरहेका छन् ।

आज क्राउडसोर्सिङको प्रयोग हरेक क्षेत्रमा सम्भव छ । चाहे त्यो अध्ययन अनुसन्धान, कृषि, स्वास्थ्य, संकट व्यवस्थापन जेसुकै होस् । यी बाहेक अन्य धेरै क्षेत्रमा पनि यसको प्रयोग हुनसक्छ । वास्तवमा तपाईं हामीले सर्वाधिक प्रयोग गर्ने विकिपेडिया पनि क्राउडसोर्सिङ कै प्रतिफल हो ।

यहाँ हरेक मानिसहरु आएर आफूले जानेका कुरा थप गरी विकिपेडियालाई सधैं अपडेटेड गरिहन्छन् । क्राउडसोर्सिङकै प्रयोग गरेर तपाईंको पहुँच नभएको कुनै पनि क्षेत्रको विज्ञबाट तपाईंले जानकारी बटुल्न सक्नुहुन्छ ।  

कसरी गर्ने क्राउडसोर्सिङ ?

आजको समयमा क्राउडसोर्सिङ एउटा प्रभावशाली हतियार हो । तथ्यांक संकलनदेखि, कम्पनी सञ्चालनमा दक्षता विकास गर्न र सामान्य समस्याको समाधानका लागि समेत यो टूल एकदमै महत्वपूर्ण छ ।

यो अवधारणको अभ्यासले धेरै कम्पनीहरुलाई अनपेक्षित गतिमा वृद्धि तथा विकास हुन सघाएको छ । जसले गर्दा आजको समग्र औद्योग तथा व्यवसायको क्षेत्रमा नै यसले क्रान्ति ल्याइदिएको छ । 

व्यवसायको प्रयोजनको आधारमा विभिन्न तरिकाले क्राउडसोर्सिङको काम गरिन्छ । क्राउडसोर्सिङको काम गर्नका लागि डेडिकेटेड प्लेटफर्म पनि हुने गर्छन् । 

तपाईंले आफ्नो परियोजना अनुसार प्लेटफर्म चयन गर्न सक्नुहुन्छ ।  उदाहरणका लागि सफ्टवेयर डेभलपरहरुले गिटहबको प्रयोग गर्छन् । यदि तपाईंको व्यवसाय उपभोक्ताको डेटा संकलन गर्ने प्रकृतिको छ भने तपाईंले सोसल मिडिया वा उपभोक्ताबाट त्यसको जानकारी लिन सक्नुहुन्छ ।

अमेजनको मेकानिकल टर्क पनि एउटा रिमोट वर्कर हायर गर्नका लागि विश्वासिलो क्राउडसोर्स प्लेटफर्म हो । आफ्नो कम्पनीलाई आवश्यक क्लाउडसोर्सिङ प्लेटफर्महरु तपाईंले अनलाइनमा खोजेर प्राप्त गर्नसक्नुहुन्छ ।  

क्राउडसोर्सिङ गर्न चाहानेले सबैभन्दा पहिले आफ्नो कामको प्रकृति र आवश्यक श्रमशक्तिको बारेमा स्पष्ट उल्लेख गर्नुपर्छ । त्यसपछि स्पष्टरुपमा इन्स्ट्रक्सनहरु लेख्नुपर्छ । आफ्नो आवश्यकतालाई सुहाउँदो क्राउडसोर्सिङ प्लेटफर्म खोज्नुहोस् ।

त्यसपछि रिलिज गरेर भिडबाट श्रमशक्तिको चयन गर्नुहोस् । उनीहरुको विचार र क्षमतालाई लेखाजोखा गर्नुहोस् । ठीक लागेका कामहरुलाई आफ्नो परियोजनामा समेट्नुहोस् र अन्तिम प्रडक्ट तयार गर्नुहोस् । 

यसको फाइदा 

क्राउडसोर्सिङबाट विशेष लाभान्वित हुने भनेको व्यावसायिक संस्थाहरु नै हुन् । कुनै पनि परियोजना पुरा गर्न तपाईंसँग पर्याप्त पूँजी र जनशक्ति छैन भने तपाईंले क्राउडसोर्सिङ मार्फत आफ्नो सीमित पूँजीमा काम गर्नसक्ने दक्ष जनशक्ति विश्वको जुनसुकै कुनामा पाउन सक्नुहुन्छ ।

यसका लागि पहुँच विस्तार गराउने वा सहजीकरण गर्ने जुनसुकै काम भए पनि क्राउडसोर्सिङले नै पुरा गर्नसक्छ । कम्पनीमा नभएका स्किल ग्यापलाई पनि यसले पुरा गर्नसक्छ । यसबाट जुनसुकै कामको गतिलाई पनि बढाउनुका साथै सञ्चालन खर्च पनि घटाउन सकिन्छ । 

क्राउडसोर्सभित्रको दुविधा 

यो युग सूचनाको युग हो । भर्चुअल विश्व हाम्रै वास्तविक विश्वको छायाँ हो । तर यसले नै हामीलाई डोर्‍याइरहेको छ । किनभने यसले हाम्रो वास्तविक विश्वमा भएका  सूचनालाई संकलन, मध्यस्तता, सहजीकरण र समाधान प्रभावकारी अनि तीव्र गतिमा गर्न सक्छ ।

क्राउडसोर्सिङको अवधारणा पनि यिनै कुराहरुमा अडेको छ । तर क्राउडसोर्सिङलाई लिएर धेरैमा दुविधा पनि छन् । कतिले युट्युव, फेसबुक जस्ता डिजिटल प्लेटफर्महरुलाई पनि क्राउडसोर्सिङ मान्छन् । फेसबुक र युट्युवमा मानिसहरुले जानकारी तथा सामग्रीहरु फीड गर्छन् ।

यसर्थमा यो पनि क्राउड फण्डिङको अवधारणामा आधारित जस्तो देखिन्छ । तर वास्तवमा यी प्लेटफर्महरु क्राउड फण्डिङ भने होइनन् । क्राउडसोर्सिङको मूख्य आशय त भिडबाट उत्कृष्ट विकल्प छनाैट गरेर काम सम्पन्न गर्नु वा समस्या समाधान गर्नु हो ।

यी प्लेटफर्महरुले मनोरञ्जन तथा अन्य सामग्रीहरुका लागि ठाउँ दिन्छन् । त्यहाँबाट कतिपय मान्छे हेरेर फर्किन्छन् । कतिले आफ्नो इच्छाअनुसार सामग्री प्रदान गर्छन् । उनीहरुले न कुनै समस्या समाधान गर्छन्, न त केही पाउँछन् ।  

क्राउडसोर्सिङमा कुनै निश्चित कामको लागि प्लेटफर्मले मानिसहरुलाई आह्वान गर्दछ । तर यी प्लेटफर्मले त्यस्तो गर्दैन । यहाँ मानिसहरु कुनै अपेक्षा नराखेरै स्वतस्फूर्तरुपमा प्लेटफर्ममा सहभागी हुनसक्छन् ।

तर यदि युट्युवले भिडियो प्रतिस्पर्धाका लागि प्रयोगकर्तालाई भिडियो बनाउन आह्वान गरेको भए यसलाई क्राउडसोर्सिङ भन्न सकिन्थ्यो । तर यी सबै संस्थाहरुले आफ्नो सामग्रीमा सुधार गर्न र नयाँ रणनीति तय गर्न क्राउडसोर्सिङको सहयोग लिन भने सक्छन् ।

 

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team