काठमाडौं । आज बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चे आसपासको क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६.० रेक्टर स्केलको भूकम्प गएको छ । यो त पछिल्लो घटना हो । हामीले धेरै समयदेखि साना-ठूला भूकम्पको धक्का महसुस गरिरहेका हुन्छौं ।
भूकम्पलगत्तै धेरै जिउधन नोक्सान भएका खबर समाचारमा आउने गर्छन् । तर सोच्नुहोस् त यदि अन्य प्रकोपजस्तै भूकम्पको पनि अलर्ट सिस्टम थियो भने कतिको जिउधन जोगाउन सकिन्थ्यो होला ।
गुगलले गत अगस्टमा नयाँ वर्ल्डवाइड अर्थक्वेक डिटेक्सन सिस्टम तयार गरेको थियो । उक्त सिस्टममा भूकम्पको अलर्ट दिने फिचर पनि गुगलले थप गरेको छ । तर अलर्ट सिस्टम भने हाल क्यालिफोर्नियामा मात्र रहेको छ ।
यी फिचरबाट गुगलले एन्ड्रोइड फोनलाई सेस्मोमिटरमा परिवर्तन गर्ने भएको छ । कम्पनीले यो सिस्टम विश्वकै सबैभन्दा ठूलो भूकम्प डिटेक्सन नेटवर्क भएको बताएको छ ।
सिस्टमले कसरी काम गर्छ ?
गुगलका अनुसार एन्ड्रोइड फोनमा भएको एक्सेलेरोमिटरले पी वेबलाई मापन गर्नसक्छ । भूकम्प गइसकेपछि आउने पहिलो वेबलाई पी वेब भनिन्छ ।
फोनले भूकम्पलाई डिटेक्ट गरेको थाहा पाएपछि यसले त्यो सूचनालाई सेन्ट्रल सर्भरमा पठाइदिन्छ त्यसपछि त्यो भूकम्प हो वा होइन भन्ने कुरा त्यहाँबाटै निर्धारण हुन्छ ।
निर्धारण गर्न धेरै फोनबाट आउने सिग्नल डेटालाई सर्भरले चेक गर्दछ । समयक्रममा यही फोनमा आधारित रहेर अलर्ट जारी गर्ने सिस्टम पनि तयार गर्ने कम्पनीले अपेक्षा गरेको छ ।
हाल क्यालिफोर्नियामा सञ्चालनमा रहेको अलर्ट सिस्टमले अमेरिकी भूगर्भ सर्वेक्षण तथा क्यालिफोर्निया गर्भनरको आपकालीन सेवासँग सहकार्य गरिरहेको छ । गुगलले यो सेक अलर्ट नेटवर्कका लागि राज्यभर सात हजार संकलित सेस्मोमिटर डेटाको प्रयोग गर्दछ ।
यसरी थोरै मिनेटअघि मात्र पाइने अलर्टले पनि मानिसको जिउधन जोगाउन धेरै नै महत्वपूर्ण भूमिका खेल्दछ ।
विश्वकै ठूलो भूकम्प डिटेक्सन नेटवर्कको निर्माण
क्यालिफोर्नियाले जस्तै सेस्मोमिटरको ग्राउण्ड नेटवर्क इन्स्टल गर्नुपर्छ । यो विश्वको सबै ठाउँमा सहज छैन । यसकारण गुगलले भूकम्प डिटेक्ट गर्न एन्ड्राेइडको प्लेटफर्म प्रयोग गरेको हो ।
विश्वको जुनसुकै कुनामा तपाईं रहेपनि एन्ड्रोइड भूकम्प अर्लट सिस्टमको लाभ लिन सक्नुहुन्छ । तपाईको एन्ड्रोइड फोनले मिनि सेस्मोमिटरको काम गर्नसक्छ । उक्त डिटेक्सन नेटवर्क सिस्टम बनाउनका लागि विश्वभरका करोडौं एन्ड्रोइड फोनहरु जोडिएका छन् ।
तपाईंले प्रयोग गर्ने सबै स्मार्टफोनमा सानो एक्सेलेरोमिटर हुन्छ जसले सिंग्नललाई सेन्स गरेर भूकम्प गएको संकेत दिन सक्छ ।
भूकम्प अलर्ट प्रविधिले कसरी काम गर्छ र कसरी प्रयोग गर्ने ?
जब भूकम्प जान्छ, पी वेब र एस वेब दुई किसिमको उर्जाशिल सेस्मिक वेबहरु केन्द्रविन्दुबाट जान्छन् ।
पी वेबको तुलनामा एस वेबको गति दुई किलोमिटरले कम हुन्छ, तर यसको एम्प्लिट्युड धरै हुन्छ र पी वेबभन्दा धेरै नै विनाशकारी हुन्छ ।
भूकम्पको अलर्टले पी वेबलाई डिटेक्ट गरेर काम गर्दछ । यसले भूकम्पको केन्द्रविन्दुसँग नजिक रहेको सेस्मोमिटरबाट आएको पी वेबलाई डिटेक्ट गर्दछ ।
त्यसपछि ती सिंग्नलहरु प्रकाशको गतिमा कम्प्युटर सिस्टममा पुग्छ र त्यसले भूकम्पको लोकेसन र तपाईंको लोकेसनमा पी र एस वेबको यात्रा समयलाई निर्धारण गर्दछ ।
यसरी नै सिस्टमले तपाईंलाई अलर्ट गर्छ । विनाशक एस वेब तपाईंसम्म आइपुग्न कति समय बचेको छ भनेर यसले चाँडोभन्दा चाँडो अलर्ट गर्छ ।
तर, यदि तपाईं केन्द्रविन्दुको नजिक हुनुहुन्छ भने तपाईं ‘ब्लाइन्ड जोन’मा पर्नुहुन्छ र तपाईंले कुनै अलर्ट नै नपाउन सक्नुहुन्छ ।