close

महामारीमा व्यवसाय धान्न इन्टरनेटको प्रयोग बढ्दै

टेकपाना टेकपाना

असोज ८, २०७७ ९:२१

महामारीमा व्यवसाय धान्न इन्टरनेटको प्रयोग बढ्दै

काठमाडाैं । कोभिड–१९ महामारी सुरू भएपछि नेपालमा सञ्चालनमा रहेका व्यवसायले इन्टरनेट, सामाजिक सञ्जाल तथा अन्य डिजिटल प्लाटफर्मकाे प्रयोग बढाएको एक अध्ययनले देखाएको छ ।

विश्व बैङ्क समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र जापान सरकारको सहकार्यमा गत जेठ १२ देखि २८ गतेसम्म गरिएको उक्त अध्ययनमा पाँचमध्ये एकले व्यावसायिक उद्देश्यका लागि इन्टरनेट, साेसल मिडिया, स्पेसलाइज्ड एप अथवा डिजिटल प्लाटफर्मकाे प्रयोग गरेको पाइएको हो ।

परम्परागत व्यापारमा गिरावट आउन थालेपछि नयाँ व्यावसायिक अवसर प्राप्त गर्न डिजिटल प्रणालीको प्रयोग बढेको अध्ययनको निष्कर्ष छ ।

सर्वेक्षणमा देशभरका सातै प्रदेशका ५४० लघु, साना तथा मझौला उद्योग सहभागी थिए । सर्वेक्षणमा देशका आधा उद्याेगहरु कोभिड १९ कै प्रभावका कारण एक महिनाभित्र नै बन्द हुने अवस्थामा पुगेका थिए ।

यस्तै ८० प्रतिशत व्यवसायी कम्पनीहरुको बिक्री ओरालो लागेको थियो । प्रतिकूल अवस्थाबाट बच्न धेरै जसो कम्पनीहरुले बेतलबी बिदा दिने, कामको समय र तलब घटाउने गरेका थिए ।

आईएफसीले विश्वभरको अर्थतन्त्रलाई दिगो बनाउन र  रोजगारीको सुरक्षा गर्न सहयोगका लागि कुल आठ अर्ब डलरको प्याकेज ल्याएको छ ।

नेपालमा आईएफसीले साना तथा मझौला उद्योगहरुलाई सहयोग गर्नलाई एनएमबी बैंक र ग्रिन परियोजनामा २५ मिलियन डलर लगानी गरेको छ । 

त्यस्तै सर्वेक्षणका अनुसार काेराेना महामारीकाे बेला करिब ४५ प्रतिशत व्यवसायले आफ्ना कर्मचारीलाई बिदा दिएका छन् भने २७ प्रतिशतले काम गर्ने समय घटाएका छन् । त्यस्तै सबै किसिमका व्यवसायमा गरेर १२ प्रतिशत महिला कामदारको तलब घटाइएको छ ।

माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका कन्ट्री डिरेक्टर रहेका फारिस हदाद जेर्भोसका अनुसार कोभिड १९ को महामारीले व्यवसायीहरूकाे प्रतिरक्षात्मक क्षमताको पनि अभिवृद्धि गराइदिएको छ ।

यस्ता उद्योगले नेपालको कुल गार्हस्थ उत्पादनमा २२ प्रतिशत योगदान दिएका छन् । त्यस्तै १७ लाख ५० हजारले रोजगारी पनि पाएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०