close

गोप्य प्रतिवेदन सार्वजनिक गरिदिएको भन्दै भारतको सरकारी निकाय विरुद्ध गुगलको मुद्दा

टेकपाना टेकपाना

असोज ७, २०७८ १६:५९

गोप्य प्रतिवेदन सार्वजनिक गरिदिएको भन्दै भारतको सरकारी निकाय विरुद्ध गुगलको मुद्दा

काठमाडौं । भारतीय बजारमा प्रतिस्पर्धाको अनुगमन गर्ने कम्पिटिसन कमिसन इन्डिया (सीसीआई) विरुद्ध गुगलले मुद्दा दर्ता गराएको छ । सीसीआईले आफ्ना महत्वपूर्ण कागजात सञ्चार माध्यममा उपलब्ध गराएको भन्दै गुगलले बिहीबार दिल्लीस्थित उच्च अदालतमा मुद्दा दर्ता गराएको हो ।

गुगलले आफू तथा आफ्ना व्यावसायिक पार्टनरहरूलाई समेत असर पर्ने गरी सीसीआईले कागजात तथा तथ्याङ्क सञ्चार माध्यममा उपलब्ध गराएको आरोप लगाएको छ । यसअघि भारतमा गुगलको व्यावसायिक अभ्यासको विषयमा अध्ययन गर्ने क्रममा सीसीआईले गुगलका केही गोप्य प्रतिवेदन संकलन गरेको थियो ।

त्यसरी अध्ययनका क्रममा उपलब्ध गराइएका त्यस्ता प्रतिवेदन सीसीआईमार्फत सञ्चार माध्यममा पुगेको दाबी गुगलको छ । हालै मात्र सीसीआईले वेब सर्चमा गुगलको एकाधिकार अभ्यासका साथै टिभी तथा स्मार्टफोन बजारमा एन्ड्रोइडको व्यावसायिक अभ्यासको अध्ययन सुरूगरेको छ ।

गुगलको आरोप विरुद्दको सुनवाइ शुक्रबारलाई तोकिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१