काठमाडौं । तपाईंहरुमध्ये धेरैजना टोरेन्टको प्रयोगकर्ता हुनुहुन्छ होला । अधिकांशले फिल्म डाउनलोड गर्न टोरेन्ट प्रयोग गर्छन् । युट्युब तथा फ्री मुभी स्ट्रिमिङ साइटमा कुनै फिल्म छैन र सब्सक्रिप्सन साइटमा एक्सेस छैन भने यस्तो बेला निःशुल्क फिल्म हेर्ने माध्यम टोरेन्ट हुन्छ ।
तर सामान्य बुझाईभन्दा फरक टोरेन्ट आफैंमा एउटा छुट्टै प्रविधि हो । यो प्रविधि के हाे र यसले कसरी काम गर्छ भन्ने विषयमा सजिलो भाषामा आज हामी तपाईंलाई बुझाउने छौं ।
उदाहरणका लागि तपाईं आफ्नो ब्राउजरमा कुनै वेबसाइट सर्च गर्नुहुन्छ भने त्यही वेबसाइटको सर्भरबाट तपाईंले खोजेको कुराहरु तपाईंलाई आउँछ । वा तपाईं कुनै फाइल डाउनलोड गर्दै हुनुहुन्छ भने त्यो फाइल जुन सर्भरमा सेभ रहेको छ, त्यहाँबाट तपाईंको डिभाइसमा आएर फाइल डाउनलोड हुन्छ ।
तर यदि एउटै फाइललाई एकैपटक लाखौं मानिसहरुले एकैसमयमा डाउनलोड गर्न चाहन्छ भने त्यो ट्राफिकलाई थेग्न सर्भर निकै शक्तिशाली हुनुपर्ने हुन्छ । त्यसको स्पिड पनि उच्च हुनुपर्दछ, अन्यथा सबै प्रयोगकर्ताले त्यसको वेबपेज देख्न सक्दैनन् ।
सर्भरलाई बलियो बनाउन बाहेक यसका लागि तपाईंसँग अन्य विकल्प छैन । तर सर्भर राख्ने आर्थिक हैसियत बलियो आम्दानी भएको कम्पनीबाहेक अरुहरुसँग हुँदैन ।
तर टोरेन्ट प्रविधि यसभन्दा फरक छ । उदाहरणका लागि यदि एकजना सिङ्गल युजर, जस्तो मसँग कुनै डकुमेन्ट, म्युजिक, फाइल, गेम, फिल्म जुनसुकै फाइल छ । त्यसलाई म विश्वको जुनसुकै कुनामा धेरैभन्दा धेरै मानिसहरुमाझ पुर्याउन चाहन्छु ।
तर मसँग यसका लागि कुनै सर्भर त हुँदैन । यस्तै बेला म टोरेन्ट प्रविधिको प्रयोग गर्न सक्छु । मैले सबैमाझ पुर्याउन चाहेको फाइल मेरो ल्यापटप वा मोबाइलमा छ । यस्तो बेला म कुनै पनि टोरेन्ट होस्टिङ वेबसाइटमा गएर त्यस फाइलको एउटा टोरेन्ट क्रिएट गर्न सक्छु ।
जब मैले क्रिएट गरेको टोरेन्टलाई कसैले डाउनलोड गर्छ । तब उसले त्यसलाई आफ्नो टोरेन्ट क्लाइन्टमा एड गर्दछ, तब विस्तारै टोरेन्ट क्लाइन्टले त्यस फाइललाई मेरोबाट त्यस व्यक्तिकोमा पुर्याउन सुरु गर्दछ ।
यति बेला मेरो इन्टरनेटको अपलोड र त्यस व्यक्तिको इन्टरनेटको डाउनलोड स्पिड अनुसार त्यस फाइल तपाईंकहाँ आइपुग्छ । जब त्यो फाइल त्यस व्यक्तिको सिस्टममा आइरहेको हुन्छ तब त्यस व्यक्तिको सिस्टमबाट पनि त्यस फाइल अपलोड भइरहेको हुन्छ ।
यही समय अर्को तेस्रो व्यक्तिले पनि त्यस फाइललाई डाउनलोड गर्छ भने उसले अब दुई ठाउँबाट त्यस फाइललाई एक्सेस गर्नसक्छ क्रमशः मेरो र त्यस व्यक्तिको सिस्टमबाट । अब तेस्रो व्यक्तिले डाउनलोड गर्न थाले लगत्तै त्यस फाइलको तीनवटा स्रोत बन्दछ ।
यसरी टोरेन्टले वान टु वान नेटवर्कबाट एउटा वृहत जालो निर्माण गर्दछ, जसबाट फाइल जुनसुकै समय जुनसुकै व्यक्तिले जहाँबाट पनि एक्सेस पाउँदछ ।
टोरेन्ट प्रविधिमा फाइल टुक्रामा डाउनलोड हुन्छ । जुन सोर्सबाट जति मिल्यो त्यति डाउनलोड हुन्छ । कतैबाट शिर कतैबाट जिउ कतैबाट फेद हुँदै टुक्रामा डाउनलोड हुनछ । तर अन्त्यमा यो सबै डाउनलोड हुन्छ ।
त्यसमा दुईवटा पक्ष हुन्छ एउटा सिडर्स र अर्को लिचर्स । सिडर्स फाइल अपलोड गर्ने पार्टीलाई भनिन्छ । जब तपाईं फाइल डाउनलोड गर्नुहुन्छ तब तपाईलाई सिडर्सको नम्बर टेबलमा देखाइन्छ ।
सिडर्सको रेटिङ जति धेरै भयो तपाईंको टोरेन्ट फाइल त्यति नै राम्रो छ भन्ने कुरा बुझ्नु पर्दछ । यसलाई धेरैजनाले अपलोड गर्दैछन् भन्ने कुरा बुझ्नु पर्दछ ।
अर्को पक्ष भनेको लिचर्स हो । जसलाई हामी पियर्स पनि भन्छौं । लिचर्स त्यो पक्ष हो जसले फाइल डाउनलोड गरिरहेका हुन्छन् ।
यदि तपाईंले फाइल डाउनलोड गर्दै सिडर्स १० हजार र लिचर्स १२ हजार छन् भने फाइललाई १० हजारले अपलोड र १२ हजारले डाउनलोड गरिरहेका छन् भनेर बुझ्नुपर्दछ ।
यस्तो बेला त्यो फाइल एकदमै राम्रो स्पिडमा उपलब्ध छ भन्ने कुरा तपाईंले बुझ्नुपर्दछ । किनभने १० हजार जनाले त्यस फाइललाई अपलोड गरिरहेका हुन्छन् ।
तर कुनै फाइलमा २ जना सिडर्स छन्, तर पाँच सय जना लिचर्स छन् भने त्यस फाइललाई डाउनलोड नगर्नुहोस् । किनभने त्यसमा एकदमै कमले अपलोड गरिरहेको हुँदा डाउनलोड स्पिड कम हुन्छ र सिस्टमले थेग्न सकिरहेको हुँदैन ।
यसमा अर्को एउटा पक्ष हुन्छ एक्टिभ सिडर्स भनिन्छ । कसैले टोरेन्ट डाउनलोड गर्दैछ डाउनलोड भइसकेपछि पनि पनि टोरेन्टलाई बन्द गर्दैन भने उसको सिस्टमबाट फाइल अपलोड भएर सबैलाई फाइदा पुगिरहेको हुन्छ ।
यस्तै टोरेन्टमा लिचर्सका लागि अपलोड र डाउनलोड स्पिड चयन गर्ने विकल्प पनि हुन्छ । यस्तोमा कसैले आफ्नो डाउनलोड स्पिडलाई बढाएर अपलोड स्पिडलाई घटाउँछ भने सिडर्सको संख्यामा त उ गणना भइरहेको हुन्छ । तर त्यो टोरेन्ट १, २ केबीपीएसमा अपलोड भइरहेको हुन्छ र त्यस टोरेन्ट खासै स्वस्थकर हुँदैन ।
यदि तपाईं कुनै टोरेन्ट डाउनलोड गर्दै हुनुहुन्छ भने सिडर्सको संख्या धेरै भएको सुनिश्चित गर्नुहोस् । साथै यी दुवैको अनुपात पनि मिल्नुपर्छ । उदाहरणका लागि सिडर्सको संख्या १० हजार भयो तर लिचर्स एक लाख भयो भने यस किसिमको असन्तुलित अनुपातले पनि टोरेन्टलाई राम्रो बनाउँदैन ।
टोरेन्टसँग जोडिएर आउने कुराहरुमा यो पाइरेसीका लागि प्रयोग हुने बताइन्छ । तर यो गलत बुझाई हो । टोरेन्ट पाइरेसीका लागि पनि प्रयोग त हुन्छ । तर यसको वास्तविक प्रयोजन भनेको जुनकुनै उपयोगी फाइललाई व्यक्तिगत रिसोर्समा वान टु वान नेटवर्कबाट विश्वभर पुर्याउनु हो ।
धेरै धेरै ठूलठुला कम्पनीहरुले पनि यसको प्रयोग गर्छन् । २०१५ तिर आएको म्याग्नेट लिङ्क प्रविधिले फाइल कताकताबाट अपलोड भइरहेको छ भने सिडर्सलाई ट्रयाक गरेर जोड्न पनि मद्दत गर्दछ ।