युट्युवको नसुनिएको कहानी

काठमाडौं । सन् २००६ को अक्टुबर महिनाको एक दिन । बिहान ३ बजे क्यालिफोर्नियास्थित रेडहुड सहरको डेन्नी पार्किङमा पार्क भएको एउटा कारमा गूगलका जनरल काउन्सिल डेभिड ड्रम्मोण्ड र युट्युवका वित्तीय प्रमुख गिडियन यूको भेट भयो ।

उक्त गाडीभित्र  ड्रम्मोण्ड र यू आफ्नो ब्ल्याकबेरी फोनको टर्च लाइटले दस्तावेजको ठेली पढिरहेका थिए । त्यतिखेरै एकजना प्रहरी अधिकारी आएर आफ्नो साइरन बजाए । अनि ती दुई व्यक्तिको अनुहारमा लाइट लगाए । 

डेन्नी पार्किङ क्षेत्रमा बिहान ३ बजे ती दुई व्यक्ति के गर्दैछन् भनेर प्रहरी अधिकारीले जाँचबुझ गरे । यूले जवाफमा ती प्रहरी अधिकारीलाई भने, ‘हामी मर्जर सम्झौतामा हस्ताक्षर गर्दैछौं ।’

यूले ती प्रहरी अधिकारीलाई कार नजिक बोलाए । उनले त्यस बेला सामान्य घरेलु कपडा लगाएका थिए । सुरुवाल, एउटा टी सर्ट, बेसबल क्याप लगाएका यूले ती प्रहरी अधिकारी आफू नजिक आएपछि ती दस्तावेजहरु देखाए ।

जसमा गूगलले एक अर्ब ६५ करोड अमेरिकी डलरमा युट्युवको पूर्ण स्वामित्व खरिद गर्न लागेको कुरा उल्लेख थियो । ती प्रहरी अधिकारीले उनीहरुलाई आफ्नो काम गर्न खुल्ला छोडिदिए ।

ड्रम्मोण्ड र यूले दस्तावेजमा हस्ताक्षर गरे र आ-आफ्नो घर फर्किए । दुवैको कम्पनीले भिन्नाभिन्नै कारणका लागि उत्सव मनाए । 

गूगलले युट्युवको स्वामित्व प्राप्त गरेको थियो, जसले उसको साम्राज्य विस्तारमा महत्वपूर्ण भूमिका खेल्दै थियो । यस्तै अर्कोतर्फ १८ महिनाको कलिलो कम्पनीबाट मोटो रकम हात परेको थियो ।

त्यस बेला नयाँ कम्पनी युट्युव आफूविरुद्ध लागिरहेका कपीराइट आरोपहरुको बचाउ गरिरहेको थियो । यस्तै तिब्र गतिमा प्रयोगकर्ता बढिरहँदा कम्पनीको पूर्वाधारले थेग्न नसकेर साइट क्र्याश हुने समस्या आइरहेको थियो । 

बाहिरी रुपमा विश्वभर सनसनी मच्चाएको युट्युव भित्रभित्रै भने टुट्ने अवस्थामा थियो । सम्झौताको दिनसम्मको अवधि युट्युवका लागि एकदमै सकसपूर्ण रह्यो । 

दुई सहसंस्थापक मध्ये  स्टिभ चान जो युट्युवमा प्रमुख प्राविधिक अधिकृत थिए भने चाड हर्ले कम्पनीका सीईओ । यी दुई जना सहसंस्थापक सेवाग्राहीको माग धान्न संघर्ष गरिरहेका थिए ।

यो त्यो समय कुरा हो, जतिखेर अमेजनको वेब सर्भिस अस्तित्वमा आइसकेको थिएन र युट्युवले सर्भर स्पेसमा आगो लगाइरहेको थियो । 

युट्युवका पहिलो कर्मचारी तथा इञ्जिनियर यु पान भन्छन्, ‘त्यो एउटा ठूलो मेहेनतको काम थियो । मलाई लाग्छ हामी हप्ताको सातै दिन काममा खट्थ्यौं । हाम्रो सेवा अनियन्त्रित रुपमा बढिरहेको थियो । भ्यूजको संख्या एकदमै धेरै बढिरहेको थियो । हाम्रोमा जस्तो हार्ड ड्राइभ कसैको व्यवसायमा जलेको थिएन होला ।’

२००६ को सेप्टेम्बरमा युट्युवको प्रमुख वित्तीय अधिकृत-सीएफओको रुपमा प्रवेश गरेका गिडियन यू ती दिनहरुको स्मरण गर्छन्, जब युट्युवले सर्भर स्पेसमा पहुँचका लागि सबैसँग भिख मागेको थियो । 

‘कुनै समय हामी हाम्रा सम्पूर्ण लगानीकर्ता हाम्रा साथीहरु समक्ष पुगेका थियौं । हामीले सबैलाई ईमेलमार्फत उनीहरुले प्रयोग नगरेको कुनै सर्भर भए हामीलाई उपलब्ध गराउन माग गरेका थियौं’ यूले भने, ‘हामीहरुले साथीहरुको घर र कम्पनीसम्म पुगेर भ्याएसम्मका सबै सर्भरहरु जुटाएका थियौं ।’

युट्युव नेप्सटर जस्तो अर्को कम्पनी बन्न चाहँदैन थ्यो । धेरै ठूला म्युजिक लेबल र फिल्म स्टुडियोहरुका सामग्रीहरु युट्युवमा राखिएका थिए । जसले गर्दा यो कम्पनी त्यति चाँडै विगठन हुने अवस्था भने  थिएन ।

‘युट्युवका संस्थापकहरुले पाइरेटेड सामग्रीहरु राख्ने परिकल्पना गरेका थिएनन्,’ पे पालमा काम सुरु गर्नुभन्दा केही समय अगाडि युट्युवका संस्थापकहरुसँग रहेर काम गरेका रियोलोफ बोथाले भन्छन् ।

युट्युवमा लगानी गर्नका लागि सिक्किवा क्यापिटल नामको कम्पनी स्थापना गरिएको थियो । बोथाले अगाडि भन्छन्, ‘सुरुवातदेखि हामीले कानूनी टाेलीसँग काम गर्‍यौं र एउटा कन्टेन्ट मोडेरेसन टिमको पनि स्थापना गर्न सुरु गर्‍यौं । तर त्यसले  लगत्तै साइटलाई तल झार्‍यो । यदि तपाईंले फिल्टर राख्नथाल्नु भयो भने क्यान्सरले जस्तै गरी तपाईंको साइटलाई यसले गाँज्न थाल्छ ।’

त्यस बेला कानूनी जोखिम युट्युवका लागि सबैभन्दा ठूलो चुनौती बनेको बोथा बताउँछन् । ‘त्यो बेला चाड र स्टिभको मनमा कम्पनीलाई बचाई राख्नु फाइदाको विषय होला त भन्ने प्रश्न उब्जियो । लडाईं लडिरहनका लागि हामीसँग आवश्यक संसाधन थिएन,’  बोथाले भन्छन् । 

युट्युवका जनरल काउन्सिल तथा व्यवसायीक मामिलाका भीपी जाहाभा लेभिन युट्युव अगाडि नबढ्ने सोच आफ्नो मनमा आएको दिन सम्झन्छिन् । पूर्वाधारको माग उच्च थियो ।

कम्पनीको बैंक खाता विस्तारै शून्यमा झर्दै थियो । म्युजिक कम्पनीहरुले कराेडाैं डलर माग गरिरहेका थिए । साझेदारी  गर्नका लागि अन्य खेलाडीहरुले युट्युवको ढोका ढकढकाइरहेका थिए । 

‘हामीले सक्नेसम्मको प्रयास गरिरहेका थियाैं,’ सीएफओ यू भन्छन्, ‘जब यी सबै तत्वहरु एकठाउँ आएर बस्छन्, तब पैसा उठाउन गाह्रो हुन्छ । जब धेरै पैसा संकलन हुन्छ, तब मात्रै धेरै पैसा पूर्वाधारमा लगानी गर्न सकिन्छ र लगानीकर्ताहरुसँग पनि सम्भावित डिलहरु सम्भव हुन्छ ।’

एक साँझ युट्युव कम्पनी र युनिभर्सल म्युजिकबीच विवादपूर्ण वैठक भयो । उक्त वैठक धेरै नै आक्रमक थियो । बोथाका अनुसार युनिभर्सल म्युजिकले युट्युवमाथि कपीराइट उल्लंघन गरेको आरोप लगाएको थियो ।

अर्को दिन चेन र हर्ले युट्युव अफिस नजिक रहेको बारमा गए । यी दुई जना रातको समयमा कहिलेकाँही कम्पनीको बारेमा कुराकानी गर्न त्यहाँ जाने गरेका थिए । सान मेटियोको ब्लक वरिपरी उनीहरु एकछिन डुले । त्यसपछि बारमा उनीहरुले कम्पनी बिक्री गर्न चाहेको कुरा यूलाई बताए । 

यूका अनुसार चान र हर्ले दुवै जना लगातारका विवादित वैठकहरुबाट निराश भइसकेका थिए । कपीराइट उल्लंघनका बैठकहरु अझै आक्रमक बन्दै थिए । ती दुई युवाले राम्रो प्रडक्ट दिनका लागि युट्युवको सुरुवात गरेका थिए । न कि त्यो दिन देख्न । 

संस्थापकहरुको समूहले पूर्वाधारको समस्या समाधान गर्नसक्ने तथा सन्तोषजनक डिल गर्नसक्ने ठूला कम्पनीहरुलाई युट्युवको स्वामित्व बिक्री गर्दा कस्तो होला भन्ने विषयमा छलफल गरे । 

युट्युवको बोर्ड र लगानीकर्ताहरुसँग परामर्श लिएपछि अब एक्विजिसन अर्थात् अधिग्रहणको बाटोतर्फ अघि बढ्ने कुरामा सबैको सहमति भयो । 

बोलकबोलको युद्ध 

यूका अनुसार स्पोर्ट्स बारमा भएको त्यो रातको वैठकपछि तेस्रो हप्तामा मात्र युट्युवको अधिग्रहण भयो । युट्युवको बिडिङ युद्धमा माइक्रोसफ्ट, भायकम तथा न्युज कर्प जस्ता दर्जनाैं खेलाडीहरु सहभागी हुने बताइए पनि अन्त्यमा याहू र गूगलले मात्र प्रतिस्पर्धामा भाग लिए ।

‘उक्त बिडिङ युद्ध वास्तवमा धेरै सानो, तर कडा थियो,’ यु स्मरण गर्छन्, ‘हामी सबै सूचनाहरु एकदमै नियन्त्रित रुपमा फ्लो होस् भन्ने चाहन्थ्याैं । ता कि लिक हुने सम्भावना कम गर्न सकियोस् । त्यो बेला हामीले सही स्वामित्वकर्ता पायाैं । अन्यथा युट्युव तत्कालीन समयमाभन्दा खराब स्थितिमा गएर अन्त्य हुन सक्थ्यो ।’

चान र हर्ले दुवै जना वित्तीय पृष्ठभूमिबाट आएका थिएनन् । ती दुवै सम्झौताको शर्तहरुमा कसरी छलफल गर्ने भनेर सुझाव माग्न आफ्ना लगानीकर्ता स्क्योवाकोमा पुगेका थिए । 

‘मेरो घरको डाइनिङ रुममा हामी पिज्जा डिनर गर्थ्याैं । सबै जना टेबल वरिपरी बस्थ्याैं र रियोलोफबोथा पिज्जा ल्याउने इञ्चार्ज थिए,’ स्क्योवाका पूर्व साझेदार पेरी लामोण्ड भन्छन्, ‘हामीसँग प्रतिस्पर्धा गर्न नसकिने नवीन प्रडक्ट छ भन्ने कुरा याहू र गूगललाई स्पष्ट थियो । त्यो बेला हाम्रो पल्ला गह्रुंगो नै थियो ।’

युट्युवलाई अधिग्रहण गर्नु अघि यू याहूका वित्तीय अधिकारी थिए । उनले याहूका आफ्ना पुराना साथीहरुमाझ युट्युव खरिद गर्नसक्ने सम्भावनाको कुरा कुरा सेयर गरेका थिए । यदि याहूले रुची देखाउँथ्यो भने, उसले तत्काल मिटिङ सेटअप गर्नु पर्ने थयो । 

सिलिकन भ्यालीमा संस्थापकहरु सवत्र चर्चित भएका कारण उनीहरुले कसैको ध्यान नजाने ठाउँमा वैठक बस्नु पर्‍यो । दस्तावेजहरु सबै राम्रोसँग तयार पारिएका थिए । उनीहरुले युट्युवको कार्यालयभन्दा १४ मिनेट टाढा रहेको डेन्निको रेडउड शहरलाई चयन गरे ।

पहिलो दिन हर्ले र चानले गूगलका ल्यारी पेज र एरिक स्क्यामिड्टसँग भेट गरे । यूका अनुसार जब गूगलले पहिलोपटक युट्युव अधिग्रहणको प्रस्ताव गर्‍यो, त्यो एकदमै न्यून मूल्य थियो । 

त्यसबेला युट्युव पनि आफ्नै छुट्टै डिलमा जुटेको थियो । महंगो कपीराइट मुद्दाबाट बच्न सकिन् आशामा उ म्युजिक लेबलसँग डिल वार्तामा थियो । २००६ सेप्टेम्बरमा युट्युवका सुरुवाती समयका दुई कर्मचारीहरु लेभिन र क्रिस म्याक्सी, जो साइटका लागि विजनेस डेभलपमेन्ट इञ्चार्ज थिए, उनीहरुले वार्नर म्युजिकसँग सम्झौता गरे । 

लेभिनका अनुसार उक्त सम्झौता आफैमा नयाँ र एउटा ल्याण्डमार्क थियो । प्रयोगकर्ताले तयार पारेको भिडियोलाई युट्युवले होस्ट गर्ने, त्यसमा वार्नरको स्वामित्व रहेको म्युजिक हुने र विज्ञापनबाट आएको आम्दानी दुवैले बाँड्ने सहमति भएको थियो । 

त्यस समय  लेभिन र म्याक्सी तिब्र गतिमा ठूला राइट होल्डरहरुसँग अन्य तीन डिलमा छुट्टाछुट्टै छलफल गरिरहेका थिए । जुन दिन युट्युवले आफ्नो कम्पनी अधिग्रहण भएको घोषणा गर्‍यो, त्यो दिन उसले अन्य तीन फरक डिलको पनि घोषणा गरेको थियो ।

एउटा सीबीएससँग । जसमा युट्युवले सीबीएसको कार्यक्रमलाई प्रशारणको अनुमति दिएको थियो । यस्तै अन्य दुई म्युजिक लेबल र युनिभर्सल म्युजिक ग्रुप र सोनी म्युजिकको पूर्ववर्तीसँग थियो । ती कम्पनीहरुले युट्युवलाई आफ्ना म्युजिक भिडियो प्रशारणको अनुमति दिएका थिए ।

यूका अनुसार युट्युव याहू र गूगलसँग अधिग्रहणको उचित मूल्यबारे छलफल गरिरहेको थियो । लेभिन अधिग्रहणपछि युट्युवसँग काम गरिरहेको ल फर्मतिर प्रवेश गरिन् । 

युट्युव अब सान मेटियोस्थित आफ्नो कार्यालयमा अटाउन नसक्ने भइसकेको थियो । उ सान ब्रुनोतिर सर्ने योजनामा थियो । स्क्योवाका ल्यामोण्डले आफ्नो सम्पर्कको प्रयोग गरेर युट्युवलाई आफ्नो पुरानो मूख्यालयमा भाडाको भवन दिलाए । 

युट्युव नयाँ भवनमा सर्ने योजना यथावत् नै थियो । कम्पनी बिक्री हुने कुरा चलि नै रहेको थियो । त्यसैबीच म्याक्सीसँग मिलेर लाइसेन्सिङ डिलमा छलफल गरिरहेकी लेभिनको अगाडि समयक्रमले अप्ठ्यारो मोड खडा गरिदियो । 

‘हामी आइतबार बिहान २ बजेतरि कार्यलयमा नै थियौं । डिल टुंगिने क्रममा थियो । अर्कोतिर कम्पनी सर्नका लागि सबै कुरा प्याकिङ भइरहेको थियो ।’ लेभिन स्मरण गर्छिन्, ‘मलाई याद छ, म त्यतिखेर सोनी म्युजिकसँग फोन कलमा थिएँ । त्यही बेला अचानक फोन डिसकनेक्ट भयो । अन्य सहकर्मीहरुले हाम्रो फोन सिस्टम र प्रिन्टरको प्लग तानेर डिसकनेक्ट गरिदिए । हामी त्यो बेला यसो नगर्नुहोस्, रोक्नुहोस्, फोन, प्रिन्टरलाई डिसकनेक्ट गर्नुहोस् भनेर भनिरहेका थियौं ।’

गूगलको अन्तिम मौका 

अक्टुबर सुरुवाततिर आइपुग्दा युट्युव डिल गर्ने संघारमा थियो । तर त्यो डिल गूगलसँग थिएन । यूका अनुसार युट्युव र याहूसँगको उक्त डिलको पुनरावलोकन गर्न एक दिनभरको वैठक बसेको थियो ।

साथै सोही दिनको अन्त्यमा अधिग्रहणका लागि टर्म शिटमा हस्ताक्षर गर्ने योजना पनि थियो । त्यसको अघिल्लो दिन युट्युवले गूगललाई अन्तिम माैका दिने निर्णय गरेको थियो ।

‘हामीले याहूलाई दोस्रो प्राथमिकतामा राखेका थियौं र गूगललाई धेरै महत्वका साथ पहिलो प्राथमिकतामा राखेका थियौं,’ ल्यामोण्ड भन्छन् । 

हर्ले र चेनले गूगललाई निर्धारित मूल्य भन्न यूलाई अनुमति दिएका थिए । यू भन्छन्, ‘मैले गूगललाई यदि तिमीले यो मूल्य कबोल गर्न सक्याैं भने हामी याहूसँग वार्ता रद्द गर्छौं भनेको थिएँ ।’

युट्युवको टिमले एक अर्ब ६५ करोड डलर रकम प्रस्ताव गरेको थियो । बोथाका अनुसार उक्त रकम  २००२ मा इबेले पेपालका लागि तिरेको मूल्यभन्दा दश प्रतिशतले धेरै थियो ।

पेपालको सहकर्मी सञ्जालमा रहेका पिटर थियल, एलोन मस्क र रेड होफम्यान बोथा र युट्युवका संस्थापकहरुसँग प्रतिस्पर्धामा रहेको बोथा सुनाउँछन् ।

गूगलले प्रस्तावित मूल्यमा सहमति जनायो र युट्युवले आफू डिल गर्न तयार रहेको बतायो । तर अर्को बिहान याहूसँग भेट हुन बाँकी नै थियो ।

यदि यो सम्झौता हुने नै हो भने तत्काल हुन आवश्यक छ ता कि युट्युवले याहूसँग डिल रद्द गर्न सकोस् भन्ने धारणाहरु आए । त्यसपश्चात ड्रम्मोण्ड र यूले रातभर लागिपरेर बिहानसम्ममा काम सम्पन्न गरे  । 

यसरी उनीहरुले युट्युवको कार्यालयदेखि १४ मिनेट र गूगल कप्लेक्सदेखि १२ मिनेट दूरीमा रहेको पार्किङ एरियामा यूको गाडीभित्र बसेर दस्तावेजमा हस्ताक्षर गरे ।

‘म फर्केर गएँ र ती दस्तावेज चाड र स्टिभलाई देखाएँ । त्यसपछि हामीले याहूलाई बोलाएर वैठक रद्द गर्‍यौं । यसरी यो सबै कुरा सम्पन्न भएको थियो,’ यूले भने । तर युट्युवको खरिद प्रक्रियामा आफू संलग्न भएको विषयमा प्रतिक्रिया दिन याहूले अस्वीकार गरेको छ ।

त्यो सबै हत्तारमा भएको थियो 

टर्म शिट हस्ताक्षर गरेदेखि डिल घोषणा हुँदासम्म पाँच दिन लागेको चेन बताउछन् । तर लेभिन र यू एक हप्ता लागेको बताउँछन् । जे जति समय लागे पनि यो डिल हतारमै भएको थियो । 

‘त्यस समय यी सबै कुराहरु हतार हतारमा भएका थिए । हामीले लिगल अफिसको तल उक्त डिलमा हस्ताक्षर गरेका थियौं । त्यसपश्चात म करिब सय, ११० माइल प्रति घण्टाको रफ्तारमा सान ब्रुनो आइपुगेँ र अफिसभित्र गएर त्यो डिल सम्पन्न भएको घोषणा गरेँ,’ यू भन्छन्, ‘यो सम्झौताको घोषणा बिना तडक भडक सामान्य रुपमा गरियो । ल्यारी पेज, सेर्गेइ ब्रिन र एरिक स्किम नयाँ सान ब्रुनोको कार्यालयमा आएका थिए । त्यहाँ हर्ले र चेनसँग उनीहरुले युट्युब अधिग्रहण गरेको घोषणा गरे ।’

२००६ जूनमा युट्युवको एड सेल्स निर्देशकको रुपमा प्रवेश गरेका जेमी बायर्नी अझै पनि युट्युवमै कृयटर पार्टनरशिपको वरिष्ठ निर्देशकको रुपमा कार्यरत छन् । उनी त्यसलाई पूर्णरुपमा आश्चर्यजनक डिलको रुपमा व्याख्या गर्छन् । 

बायर्नी भन्छन्, ‘त्यो समय युट्युवको सबैभन्दा ठूलो प्रतिस्पर्धी गूगल भिडियो थियो । यो कुराले पनि हामी धेरैलाई मार्मिक बनाएको मलाई लाग्छ ।  अहिले गूगलको सहायता र पूर्वाधारबाट प्राप्त यो अतुलनीय लाभका लागि हामी खुशी र उत्साही छौं । तर एउटा कुरा सधैं खट्किरहन्छ । वास्तवमा हामीले जे गरिरहेका थियौं, त्यसमा हामी सफल थियौं ।’

युट्युवका कतिपय कर्मचारीहरु उक्त अधिग्रहणका बारेमा जानकार समेत थिएनन् । युट्युवका कन्टेन्ट मोडरेटर मिस्टी इविङ डेविसलाई यो कुराको कुनै सुइँकोसम्म थिएन । कमर्चारीहरुले त्यो सोमबारको दिन युट्युवको कार्यालयमा काममा बित्ने सोचेका थिए ।

कुनै ठूलो अधिग्रहणको बारेमा कल्पना  समेत थिएनन् । इविङ डेभिसका अनुसार नयाँ सिटिङ प्लान र डेस्कहरु मिलाउने योजना भएको हुँदा त्यो दिन सबै कर्मचारीहरु पुरानो कपडामा नयाँ कार्यालय आएका थिए । 

तर युट्युवको पुरै टिमले कम्पनी बिक्रीको सेलिब्रेसनमा सहभागी हुनुपर्‍यो । डेभिस भन्छन्, ‘यदि त्यो दिनको फोटो कसैसँग छ भने, हामी साँच्चै नै एकदमै न्यून स्तरको देखिएका थियौं । हामी कसैले त्यस्तो अपेक्षा गरेका थिएनौं ।’

बायर्नीका अनुसार टोलीले त्यो दिन बनाएको सर्ट भिडियोमा हर्ले र चेनले ब्लेजर लगाएका थिए र उनीहरुले कम्पनी बिक्री गरेको घोषणा गर्दै कृयटर कम्युनिटीलाई धन्यवाद दिएका थिए ।

हर्ले उक्त भिडियोमा भन्छन्, ‘हामी तपाईंको लागि उत्कृष्ट सेवा विकास गर्न प्रतिबद्ध छौं । हामी नवीन सेवा तथा प्रविधि बनाउने छौं । ता कि तपाईंले हाम्रो साइटमा रमाइलो महसुस गर्न सक्नुहोस् ।’

एउटा ठूलो सफलता

नोभेम्बरमा अधिग्रहण सम्पन्न भएपछि पनि युट्युवका कर्मचारीहरुको जीवनमा कुनै परिवर्तन आएन । आजसम्म युट्युवको कार्यालय सान ब्रुनोमा नै अवस्थित छ । 

चानले २००९ मा गूगल प्रवेश गर्न युट्युव छोडे र दुई वर्षपछि पुन कम्पनी नै छोडे । हर्ले २०१० सम्म युट्युवको सीईओ रहे । त्यसपश्चात गूगलका सालार कामानगरले उनको स्थान लिए ।

चानले हर्लेसँग मिलेर एकसाथ केही नयाँ गर्ने विषयमा कुराकानी भइरहेको बताएका थिए । त्यसपछि दुवैले २०११ मा साझेदारी गरेर इन्टरनेट कम्पनी एभीओएस सिस्टम ल्याए । 

युट्युवका अधिकांश पुराना कर्मचारीहरुले आफ्नो जीवनमा झिनामसिना परिवर्तन मात्र आएको बताउँछन् । त्यो पनि सुरुवातमा । गूगलले युट्युवको कार्यालयमा आफ्नो मिनी केभिनियन्स स्टोर थप गर्‍यो । जहाँ कर्मचारीहरुले चिया र सफ्ट ड्रिंस निःशूल्क पाउँथे । 

युट्युवका नम्बर वान कर्मचारीमा पर्ने यु पानले नयाँ कम्पनीले पार्टी भने राम्रो दिने गरेको आफूले ख्याल गरेको बताउँछन् । अधिग्रहण भएको घोषणाको दिनदेखि कर्मचारीहरुले सब वेको स्याण्डविच खाजा पाउँथे ।

गिडियन यू भन्छन्, ‘पुरानो कार्यालयमा हामीले नुडल्स कप पाउँथ्यौं । तर नयाँ अफिसमा नयाँ खाजा पाउँछौं, यो एउटा ठूलो सफलता हो ।’

तर एउटा सकरात्मक कुरा के छ भने युट्युवले अधिग्रहण अघि जे गर्दै थियो, उसलाई स्वतन्त्रपूर्वक त्यही काम गर्न दिने गूगलले बाचा गरेको थियो । उसले खुल्ला रुपमा युट्युवलाई स्वतन्त्रापूर्वक काम गर्न छोडिदिएको छ । 

युट्युव कनटेन्टका तत्कालीन उपाध्यक्ष केभिन डोनाहुई भन्छन्, ‘मर्जर भएका कम्पनीहरुको दुःखको समाचार धेरै जसो सुन्नमा आउँछ । तर हामीलाई त्यस्तो भएन ।’

गूगलको स्वामित्वमा पनि युट्युवमा नियन्त्रण भने चान र हर्लेको नै थियो । गूगलबाट आएका कर्मचारीहरुलाई पनि उनीहरुले नै काम तथा जिम्मेवारी बाँडफाँड गर्थे ।

टिमको मूख्य चासो भनेको अब युट्युव र गूगल भिडियोलाई संयुक्त रुपमा अघि लगेर प्रस्तुत गर्नुपर्ने थियो । 

चेन भन्छन्, ‘त्यो क्षण हाम्रो सबैभन्दा ठूलो शत्रुसँग हात मिलाउनु जस्तै थियो र हामी साथी बन्न दबावमा थियौं । सुरुमा यो निकै अप्ठ्यारो थियो, तर त्यसपछि गूगल भिडियो र युट्युव मर्ज भयो ।’

यो एउटा स्टार्टअपको केस हो । जुन फल्न फुल्न सक्षम थियो, अधिग्रहण हुँदै नाटकीयरुपमा परिवर्तन भयो । युट्युव अब एउटा सानो क्लोज किट परिवार जस्तो महसुस गर्दैन ।

अब यो एउटा मल्टी बिलियन डलरको व्यवसाय भइसकेको छ । जुन यो ग्रहकै सबैभन्दा ठूलो कम्पनीको छत्रछायाँमा छ । 

कुनै बेला युट्युवको बोर्डमा सेवा गरेका स्क्योवाका बोथा डिल घोषणा भइसकेपछि युट्युवको कार्यालय छिरेका ती दिनहरु स्मरण गर्छन् । पहिलो नामबाटै सबैबाट परिचित हुने बोथा अब आफैलाई नयाँ अनुहारहरुले घुरिरहेको पाउँछन् । 

‘म भित्र जान्छु । सबै विस्थापन भएका छन् । फ्रन्टडेस्कका कर्मचारी नयाँ छन् । म आफूलाई पूर्णरुपमा कुनै बाहिरी व्यक्ति भएको महसुस गर्छु । म एकदमै अचम्मित पर्छु । त्यो बेला म महसुस गर्छु: यो त गूगलको पो कम्पनी हो त ।’

एजेन्सीको सहयोगमा ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team