close

नागरिक एपमा आएन यातायातको कर तिर्ने सुविधा, अब साउन ६ गतेको भाखा

टेकपाना टेकपाना

साउन १, २०७८ १२:३६

नागरिक एपमा आएन यातायातको कर तिर्ने सुविधा, अब साउन ६ गतेको भाखा

काठमाडौं । साउन १ गतेदेखि नागरिक एपबाटै यातायात तथा सवारी साधनको नवीकरण र राजस्व तिर्न सकिने सुविधा सुरु हुन नसक्ने भएको छ । बागमती प्रदेश सरकारले प्राविधिक तयारी पुरा हुन नसकेको भन्दै नागरिक एपमा उपलब्ध हुने सुविधाको भाखा सारेको हो ।

बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले थप प्राविधिक तयारी आवश्यक देखिएकाले सेवा सुरु गर्ने मिति केही दिन पछिका लागि सारिएको  बताए । ‘साउन ६ गते मुख्यमन्त्री ज्यूले हेटौडामा यसको शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ,’ उनले टेकपानासँगको कुराकानीमा भने, ‘यो नसर्ने मिति हो भनेर बुझ्नुहोस् ।’

पुरानै ढर्राबाट चलिरहेको पद्धति र प्रणालीलाई नयाँ डिजिटल प्रणालीमा लैजान चुनौतिपूर्ण हुने भन्दै उनले आवश्यक तयारी पुरा भइनसकेको बताए । ‘प्राविधिक तयारी र परीक्षणका लागि थप समय आवश्यक देखियो,’ उनले भने ।

यद्यपि एपको पछिल्लो अपडेटबाट नागरिक एपमा ‘सवारी कर’ फिचर आएको छ । यातायात कार्यालयमा रहेको आफ्नो सवारीसाधनको विवरण, चुक्ता गरिसकेको तथा चुक्ता गर्न बाँकी राजस्व लगायतको जानकारी हेर्न सकिने सुविधा रहेको छ ।

अब ६ गतेबाट त्यसमा यातायातको राजस्वको अनलाइन भुक्तानीको सुविधा समेत थप हुने छ । बागमती प्रदेशबाट सुरु हुने यो सेवा क्रमशः देशका सबै प्रदेश अन्तर्गतका यातायात कार्यालयमा विस्तार गरिने बताइएको छ ।

हाल नागरिक एपमा स्थायी लेखा नम्बर (प्यान) लिने, जग्गाको विवरण हेर्ने, प्रहरीबाट चारित्रिक प्रमाणपत्र लिने, बैंक खाता खोल्ने, लगायतका सुविधाहरू रहेका छन् । सरकारले सम्भव भएसम्मका सबै सरकारी सेवा यही एउटै एपबाट दिने उद्देश्य राखेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१