close

नेपाली साइबर सुरक्षा कम्पनी भैरव टेकलाई ‘सेक्युरिटी अपरेसन्स टु टाइप वन’ को मान्यता

टेकपाना टेकपाना

बैशाख ११, २०८१ १६:४

नेपाली साइबर सुरक्षा कम्पनी भैरव टेकलाई ‘सेक्युरिटी अपरेसन्स टु टाइप वन’ को मान्यता

काठमाडौं । नेपालको साइबर सुरक्षा कम्पनी भैरव टेकले सर्भिस अर्गनाइजेसन कन्ट्रोल टु टाइप वन (SOC 2 type 1) सर्टिफिकेसन प्राप्त गरेको छ । अमेरिकन इन्स्टिच्युट अफ सर्टिफाइड पब्लिक अकाउन्टेन्ट्स (एआईसीपीए) बाट भैरव टेकले हालै यस्तो मान्यता पाएको हो ।

थुप्रै किसिमका क्वालिटी (गुणस्तर), रिक्स (जोखिम) र कम्प्लायन्स सेवाहरू प्रदान गर्ने साइबर सुरक्षा सेवाप्रदायक क्यूआरसी (QRC) सोलुसन्सद्वारा कार्यान्वयन गरिएको अडिटबाट आफूले एसओसी टु टाइप वन सर्टिफिकेसन पाएकाे भैरव टेकले जनाएकाे छ ।

यो प्रमाणीकरणले कम्पनीले गर्ने सिस्टमको सुरक्षा, उपलब्धता, प्रोसेसिङ इन्टेग्रिटी र गोपनीयताको अवस्था के-कस्तो छ भन्ने व्यहोरा दर्शाउने भैरव टेकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजय लिम्बु सेनिहाङले बताए । उनका अनुसार कम्पनीले सूचना सुरक्षा अभ्यास, नीति, प्रक्रिया र सञ्चालनले सुरक्षा, उपलब्धता र गोपनीयतामा काम गरिरहेकाे छ । 

“लामो समयको लेखापरीक्षण प्रक्रियापछि हामी भैरव टेक एसओसी टु टाइप वन प्रमाणित कम्पनी भएको घोषणा गर्न पाउँदा निकै उत्साहित छौं,” सीईओ सेनिहाङले भने, “हामी नेपालबाट एसओसी टु प्रमाणित भएको एकमात्र साइबर सुरक्षा कम्पनी भएकाले, यस प्रमाणीकरणले हाम्रो कम्पनीका लागि एउटा बेन्चमार्क सेट गरेको छ ।”

उनले अगाडि भने, “साथै, उचित किसिमका साइबर सुरक्षाका सेवा र सुविधा प्रदान गर्दै, त्यसको कार्यान्वयनका लागि योग्य प्रणालीको व्यवस्थापन र प्रयोगलाई बढावा दिने कुरामा पनि हामी प्रतिबद्ध छौं ।”

विगत ५ वर्षदेखि आईएसओ २७००१ः२०१३ प्रमाणित साइबर सुरक्षा फर्म भैरव टेकले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विभिन्न किसिमका साइबर सुरक्षाका सेवा तथा सुविधा दिंदै आएको छ ।

कम्पनीले सेक्युरिटी अपरेसन्स सेन्टर अन्तर्गत सर्भिस भल्नेराबिलिटी एसेसमेन्ट एन्ड पेनिट्रेसन टेस्टिङ, मेनेज्ड डिटेक्सन एन्ड रेस्पोन्स (एमडीआर), गभर्नेन्स रिस्क एन्ड कम्प्लायन्स (जीआरसी) र मेनेज्ड साइबर सुरक्षा परामर्श जस्ता सेवा प्रदान गर्दै आएको छ । 

साइबर सेक्युरिटी जगतमा आफ्नो उल्लेखनीय प्रदर्शनका कारण यो कम्पनीले लगातार तीन पटक टप २५० एमएसएसपी अफ दि वर्ल्डमा पर्न सफल भएको थियो । सन् २०२२ मा यो कम्पनी अलाइड मार्केट रिसर्चद्वारा पेनिस्ट्रेसन टेस्टिङको टप कि प्लेयर घोषित भएको थियो ।

पछिल्लो अध्यावधिक: बैशाख ११, २०८१ १६:४