close

प्रविधिलाई पछ्याउन नसक्दा यसरी पतन भयो ब्ल्याकबेरी

टेकपाना टेकपाना

पुस २०, २०७८ १२:३८

प्रविधिलाई पछ्याउन नसक्दा यसरी पतन भयो ब्ल्याकबेरी

काठमाडौं । एक दशक अघिसम्म स्मार्टफोन बजारमा ब्ल्याकबेरी सबैभन्दा विश्वसनीय ब्राण्ड थियो । विश्वका ठूला सेलिब्रेटी र धनाढ्यको प्रिय ब्राण्ड थियो । यसको सुरक्षा र विश्वसनीयतामा अन्य ब्राण्डको दूरी धेरै लामो बनिसकेको थियो ।

तर, समय फेरियो, अनि ब्ल्याकबेरीको भाग्य पनि । सन् २०१० ताका ब्ल्याकबेरीको ब्राण्ड बजारबाट यसरी बाहिरिएला भनेर कमैले मात्र कल्पना गर्थे ।

तर, ठूला स्क्रिनको स्मार्टफोन बजारमा आफूलाई स्थापित नगर्दा एक दशकअघि विश्वभर विश्वसनीय ब्राण्डको रुपमा उदाएको ब्ल्याकबेरीले आफ्नो पूर्वघोषणा अनुरुप आज जनवरी ४ देखि आफ्नो ब्राण्डको फोनमा सपोर्ट दिन बन्द गरेको छ ।

आजदेखि ब्ल्याकबेरी अपरेटिङ सिस्टम ७.१ र त्यसभन्दा अघिल्ला अपरेटिङ सिस्टम भएका फोन, ब्ल्याकबेरी टेन अपरेटिङ सिस्टम प्रयोग भएका फोन, ब्ल्याकबेरी प्लेबुक अपरेटिङ सिस्टम २.१ र त्यसअघिका संस्करण प्रयोग भएका डिभाइस चल्ने छैनन् ।

यसको अर्थ हो, यी अपरेटिङ सिस्टम प्रयोग भएका डिभाइसमा इन्टरनेट वा फोन चल्छन् भन्ने कुनै ग्यारेन्टी हुन्न । चल्तीको ब्राण्डबाट झरेर आफ्नो डिभाइसको सपोर्ट नै बन्द गर्ने स्थितिमा कम्पनी आइपुग्नुलाई धेरै अर्थमा विश्लेषण गरिएको छ ।

धेरैको विश्लेषण छ– समय अनुसार फेरिएको प्रविधिलाई अंगीकार गर्न नसक्दा ब्ल्याकबेरी यो अवस्थामा आइपुगेको हो । ब्ल्याकबेरीले स्मार्टफोन बजारमा दुईवटा कुरामा योगदान दियो ।

यसले इन्स्ट्यान्ट म्यासेजलाई नयाँ स्वरुप दियो भने स्मार्टफोन पनि कम्युटरजस्तै छिटो चल्छन् भन्ने सन्देश दियो । फोन बजारमा नयाँ प्रविधिलाई स्थापित गर्न योगदान गरेको ब्ल्याकबेरी त्यसपछि भने आफ्नै मुर्खताको शिकार बन्यो ।

बजारमा फुल स्क्रिन भएका स्मार्टफोनहरु लोकप्रिय भइरहँदा ब्ल्याकबेरीले भने किबोर्ड भएका फोनमै जोड गरिरहेको थियो । यो समयमा ब्ल्याकबेरीलाई उछिनेर बजारमा सामसङ र एप्पलका डिभाइस लोकप्रिय भइरहेका थिए ।

योबाहेक, क्यामेरा प्रविधिमा पनि ब्ल्याकबेरीले कुनै चासो राखेन । जबकि अहिले क्यामेरा स्मार्टफोनका सबैभन्दा महत्वपूर्ण भाग बनेका छन् । फुल स्क्रिन भएको स्मार्टफोन सार्वजनिक गरेर लोकप्रियता कमाएको एप्पललाई ब्ल्याकबेरीले आफ्नो प्रतिस्पर्धी नै मानेन ।

यो पनि ब्ल्याकबेरी ब्राण्डको लागि घातक भएको धेरैको विश्लेषण छ । ब्ल्याकबेरीले डेटा सुरक्षालाई प्राथमिकतामा राखेका कारण सेलिब्रेटी र धनाढ्य बीचमा यो फोन लोकप्रिय भएको थियो ।

तर, कम्पनीले साधारण प्रयोगकर्तालाई आवश्यक फिचर भएका स्मार्टफोनमा ध्यान नदिँदा बजारबाट ब्राण्ड नै विस्थापित अवस्थामा पुग्यो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५