close

साना ई-कमर्सलाई डेलिभरीमा सघाउने स्टार्टअप ‘फ्याब बड’

अर्पना आले मगर अर्पना आले मगर

पुस २१, २०७८ १९:१

साना ई-कमर्सलाई डेलिभरीमा सघाउने स्टार्टअप ‘फ्याब बड’

काठमाडौं । १२ कक्षा पास गरेपछि के गर्ने ? नयाँ पुस्ताका अधिकांश विद्यार्थीको जवाफ हुन्छ ‘विदेश जाने’ । यही जवाफ थियो कैलालीका नहकुल भण्डारीको पनि ।

वि.स. २०७२ सालमा १२ कक्षा पास गरेर १९ वर्षको उमेरमा नहकुल पनि विदेश जाने तयारीमा काठमाडौं आए । तर विदेश उनको गन्तव्य बन्न सकेन ।

२०७२ साल वैशाख १२ गतेको भूईंचालोले नहकुलको विदेश जाने सोचलाई त तोड्यो, तर देशमा केही गर्ने उनको अठोटलाई बलियो बनाइदियो ।

भूईंचालो र अघोषित नाकाबन्दीका कारण देशमा सवारीसाधानको लागि इन्धन कम हुँदा कारपुलिङ, अथवा अरु कसैको दुई पाङ्ग्रे वा चार पाङ्ग्रे सवारीमा लिफ्ट दिने प्रचलन सुरु भयो ।

यही समयमा उनले राइड शेयरिङलाई नेपालमा पनि व्यवसायिक बनाउने सोच लिएर ‘फ्याब क्याब’ अर्थात् ट्याक्सीमा राइड शेयरिङको सेवा सुरु गरे ।

हुन त मोटरसाइकलमा राइड शेयरिङ सुरुवात गर्ने उनको सोच थियो । यसका लागि उनले यातायात व्यवसायीहरूसँग पनि सहकार्य गरेका थिए ।

यद्यपि सरकार र यातायात व्यवसायी दुवै तर्फबाट बाइकमा यो सेवा दिन नमिल्ने भनेपछि कानूनी रुपमा काम गर्न भनेर उनले ट्याक्सीमा यो सेवा दिन सुरु गरे ।

‘मान्छेको आवश्यकतालाई हेरेर हामीले यो राइड शेयरिङ सुरु गरेका थियौं । तर त्यतिखेर सरकारी नीति नहुँदा हामीले यो सेवा अगाडि बढाउन सकेनौं,’ उनले सुनाए ।

सन् २०१८ देखि सुरु गरेको यो सेवा लामो समयसम्म रहन सकेन । यो कुराले नहकुल पक्कै खुशी थिएनन् । तर निराश पनि थिएनन् ।

‘कुनै पनि व्यवसाय छोटो समयमा नै सफल हुँदैन भन्ने कुरा राम्रोसँग बुझेको थिएँ । त्यो बेलामा हामीले यस्तो प्रकारको सेवा सञ्चालन गर्न उपत्यकाको तीनवटै जिल्लाका मेयरसँग पनि प्रस्ताव राख्यौं । तर यस्ता ‘बच्चा’ ले के गर्छन् भन्ने सोचसहित उहाँहरूले हाम्रो प्रस्तावलाई बेवास्ता गर्नुभयो,’ पुराना दिन सम्झँदै उनले भने, ‘सरकारी नीति बन्न नसक्दा हामीले त्यो व्यवसायलाई अगाडि बढाउन सकेनौं ।’

आफ्नी दिदीले कम्प्युटर इन्जिनियरिङ पढेको भएर उनले पनि इन्जिनियरिङ पढ्ने सोच बनाएका थिए । यद्यपि १२ कक्षा सकेर इन्जिनियरिङ पढ्ने कि चार्टड अकाउन्टेड (सीए) पढ्ने, अथवा अन्य कुनै विषय पढ्ने भनेर दोधार चलिरहँदा बरु विदेश जाने, केही वर्ष बसेर देश फर्कने सोच बनाएका थिए ।

यद्यपि परिस्थितिका कारण सोचे अनुरुप त भएन । तर उनको भविष्य अन्तै मोडियो । व्यवसायिक यात्रा सहज नहुने कुरा सानै उमेरमा सिकेका नहकुलका लागि पनि यो यात्रा त्यति सहज थिएन ।

सोचे अनुरुप आफ्नो व्यवसायका लागि वातावरण नबन्दा उनी थकित पनि भएका थिए । कुनै यस्तो पनि दिन थियो, जहाँ उनलाई हरेक दिन महसुस हुन्थ्यो ‘अब चाहिँ सक्दिनँ । म छोडिदिन्छु । विदेश नै जान्छु ।’

‘तनाव त हरेक दिन हुन्थ्यो । कहिलेकाहिँ त अब सक्दिनँ, छोड्दिन्छु भन्ने सोच पनि आयो । तर जतिबेला म थाक्थेँ, त्यतिबेला आमाले अब लागिसकेपछि बीचमा छोड्ने होइन है भनेर प्रोत्साहन गर्नुहुन्थ्यो,’ संघर्षका ती दिन सुनाउँदै उनले भने ।

त्यसपछि उनी केही समय सुस्ताए । तर थाकेका थिएनन् । साथीहरूसँग घुम्दै हिँड्दा उनको दिमागमा फेरि नयाँ कुरा सुझ्यो ।

डेटा साइन्समा एकदमै रुचि भएका नहकुल बजार अध्ययन गर्न मन पराउँछन् । पढाइलाई निरन्तरता नदिए पनि आफ्नै अध्ययनमार्फत उनले धेरै कुरा सिकेका थिए । बजार अध्ययनकै क्रममा उनले नेपालमा डेलिभरी सेवा त्यति सहज र व्यवसायिक नभएको पाएपछि उनले फ्याब क्याबलाई पुनः नामकरण गरी ‘फ्याब बड’ को सुरुवात गरे ।

फ्याब बड ‘फिल दि बिट र बाई एण्ड गेट इट डेलिभर’ को छोटो रुप हो । यसको अर्थ हो, खरिद गर्नुहोस् र डेलिभरी पाउनुहोस् ।

यो सेवाअन्तर्गत सेवाग्राहीले व्यक्तिगत अथवा संस्थागत दुवै रुपमा सामान अर्डर र डेलिभरी गराउन सक्छन् । सेवाग्राहीले उपत्यकाभित्र आफूले चाहेको कुनै पनि ठाउँबाट आफूलाई चाहेको खानेकुरा, औषधि वा अन्य सामग्री अनलाइन अर्डर गरी डेलिभरी गराउन सक्छन् ।

त्यसैगरी संस्थागत रुपमा पनि सामान आफ्नो ग्राहककहाँ डेलिभरी गराउन सकिने उनले बताएका छन् । साना तथा अफलाइन व्यवसायीहरूले पनि सहज रुपमा ‘फ्याब बड’ मार्फत आफ्ना ग्राहकलाई डेलिभरी दिनसक्ने उनले बताए ।

आफ्नो अध्ययनको क्रममा उपत्यकाभित्रकै थुप्रै साना-साना व्यवसायहरू यसरी डेलिभरी सेवामा आवद्ध नभएको पाएपछि उनले डेलिभरी मेकानिजम सुरु गर्ने सोचेका थिए ।

‘डेलिभरी सर्भिसमा अझै पनि साना व्यावसायीहरू सूचीकृत हुन सकेका छैनन् । त्यसैले सबै प्रकारका व्यवसायलाई डेलिभरी सेवाको पहुँचमा पुर्‍याउन हामीले फ्याब बड सुरु गरेका हौं,’ उनले बताए । तयारी लामो समयदेखि चलिरहे पनि सञ्चालनमा आएको भने केही महिनामात्र भएको उनले बताए ।

अर्डर आएको सामान ६० मिनेटभित्र डेलिभरी गर्ने व्यवस्था रहेको छ । औषधिजस्तो संवेदनशील कुराको डेलिभरी गर्न नेपालमा एक/दुई दिन लाग्ने, तर फ्याब बडमा भने अर्डर गरेकै दिन औषधि डेलिभरी गरिने उनले बताए ।

डेलिभरी सेवा र चार्ज भने राइड शेयरिङमा जस्तै गरी व्यवस्थापन गरिएको छ ।

‘सेवाग्राहीलाई कुनै सामान अर्डर गर्नुपर्‍यो भने हाम्रो वेबसाइटमार्फत दिइएको निर्देशनअनुसार सामान अर्डर गर्न सक्नुहुन्छ । त्यसपछि अर्डर आएको डेलिभरी पर्सनलाई नोटिफिकेशन आउँछ र सो क्षेत्र नजिकको मान्छेले अर्डर एक्सेप्ट गर्नुहुन्छ । त्यसपछि सामान लिन जानुहुन्छ र सम्बन्धित ठाउँमा गएर डेलिभरी गर्नुहुन्छ,’ उनले भने ।

यसरी सुरूमा सम्बन्धित ठाउँभन्दा दुई किलोमिटरसम्मको राइडरलाई रिक्वेस्ट पठाइन्छ र त्यसपछि भने ६ किमिसम्मको राइडरलाई पठाइन्छ । अहिले भने ३० रुपैयाँको बेसफेयरमा प्रति किलोमिटर १७ रुपैयाँ चार्ज गरिन्छ ।

अहिलेसम्म अर्डर एक्सेप्ट नहुने खालको समस्या भने नभएको उनले बताए । आउने दिनमा यो सेवालाई थप परिस्कृत र व्यवस्थित गर्न मोबाइल एपमा पनि काम गरिरहेको उनले भने ।

चीनको अनलाइन शपिङ प्लेटफर्म ‘अलिबाबा’ ले पनि साना व्यवसायीलाई समावेश गरेकाे उदाहरण दिँदै उनले विश्वमा भइरहेको प्रचलनलाई अध्ययन गरी नेपालमा पनि त्यस्तै सेवा दिने सोचेको बताए ।

आफ्नो व्यवसाय सञ्चालनमा आएपनि अझै धेरै काम गर्न बाँकी भएको उनी बताउँछन् । हाल बजार विस्तारका लागि उनी विभिन्न संस्था/व्यवसायीसँग सहकार्य गरिरहेका छन् ।

‘हाम्रो मुख्य उद्देश्य भनेको नै अनलाइन र अफलाइन दुवै व्यवसयीलाई सेवा दिनु हो,’ उनले सुनाए ।

कम्पनीले माघ महिनादेखि खाद्यन्न सामान पनि डेलिभरी सुरु गर्ने तयारी गरेकाे छ । ‘फ्याब बडले सुरुमा काठमाडौं र ललितपुरमा खाद्यन्नको डेलिभरी सुरु गर्ने छ, उनले भने ।

यसका लागि कम्पनीले ‘छिट्टै नै ६०६० अर्थात ६० सेकेण्डभित्र खरिद गर्नुहोस् र ६० मिनेटभित्र प्राप्त गर्नुहोस’ अभियान सुरु गर्दैछ । स्टार्टअप सुरु गर्न सबैभन्दा पहिले नवीन सोच चाहिने उनकाे भनाइ छ ।

‘मैले सिकेको कुरा भनेको कुनै पनि कुरा सोचबाट नै सुरु हुने हो । यदि तपाईंसँग कुनै व्यवसायको सोच छ भने तपाईंले सुरुवात गरिहाल्नुपर्छ,’ उनले भने, ‘सोचलाई कार्यान्वयन गर्ने हो, बजारमा जाने हो, अनि प्रतिक्रिया लिने हो । लगानीलगायत अन्य कुरा विस्तारै मिल्दै जान्छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५