close

इरानको सरकारी बैंकमा साइबर हमला, इजरायली ह्याकरको हात रहेको आशंका

टेकपाना टेकपाना

असार ४, २०८२ ६:५२

इरानको सरकारी बैंकमा साइबर हमला, इजरायली ह्याकरको हात रहेको आशंका

काठमाडौँ । इरानको सरकारी स्वामित्वमा रहेको बैंक सेपाहको प्रणालीमा साइबर आक्रमण भएको छ । ‘गोनजेश्के दारान्दे’ (Predatory Sparrow) नामक ह्याकर समूहले सामाजिक सञ्जालमार्फत बैंकको डेटा नष्ट गरेको जानकारी दिएको हो । यस समूहले आफूले साइबर आक्रमण गर्नुको कारण बैंकले इरानी सेनालाई आर्थिक सहयोग गरेको आरोप लगाएको छ ।

यो हमला इजरायल र इरानबिच पछिल्लो समय बढ्दै गइरहेको तनावका दौरान भएको हो । ​रोयटर्सका अनुसार बैंक सेपाहको वेबसाइट मंगलबारदेखि अफलाइन छ । बैंकको बेलायतस्थित सहायक संस्था ‘बैंक सेपाह इन्टरनेसनल पीएलसी’ले भने यसबारे टिप्पणी गरेको छैन । इजरायली मिडियाहरूका अनुसार बैंकका ग्राहकले आफ्नो खातामा पहुँच पाउन सकेका छैनन् ।

अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) का पूर्वसाइबर सुरक्षा प्रमुख रोब जोयसले बैंकको कोषमा पहुँच अवरुद्ध गरिनु वा इरानी बैंकप्रति विश्वासको संकट सिर्जना हुनु देशको अर्थतन्त्रका लागि खतराको विषय रहेको बताएका छन् ।

यसअघि सन् २०२२ मा ‘गोनजेश्के दारान्दे’ समूहले नै इरानको स्टिल उत्पादन कारखानामा साइबर हमला गरेको थियो । उक्त हमलाबाट कारखानामा ठुलो आगलागीसमेत भएको थियो । सुरक्षा विज्ञहरूका अनुसार यस्ता हमला सामान्य ह्याकरहरूको पहुँचभन्दा बाहिर हुने हुँदा राष्ट्र-समर्थित साइबर आक्रमण हुनसक्ने अनुमान गरिएको छ ।

साइबर सुरक्षाविद्हरूका अनुसार सन् २०२१ मा इरानभरका पेट्रोल पम्पहरूमा सेवा अवरुद्ध हुने गरी भएको आक्रमणमा पनि यही समूहको संलग्नता रहेको थियो । यद्यपि, इजरायलले आफू यस समूहसँग जोडिएको औपचारिक पुष्टि गरेको छैन । तर, इजरायली सञ्चारमाध्यमहरूले ‘गोनजेश्के दारान्दे’लाई इजरायल सरकार समर्थित भनेर उल्लेख गर्दै आएका छन् ।

 

पछिल्लो अध्यावधिक: असार ४, २०८२ ११:४९