close

यी २२ वर्षे युवा, जो आफ्नै सेल्फी फोटो बेचेर रातारात करोडपति बने

टेकपाना टेकपाना

माघ ६, २०७८ २१:४१

यी २२ वर्षे युवा, जो आफ्नै सेल्फी फोटो बेचेर रातारात करोडपति बने

काठमाडौं । इन्डोनेसियाका एक विद्यार्थी आफ्ना सेल्फी फोटोहरुलाई नन-फन्जिबल टोकन (एनएफटी) का रुपमा बिक्री गरेर रातारात करोडपति बनेका छन् । कम्प्युटर विज्ञान अध्ययन गर्ने ती विद्यार्थीको नाम हो, सुल्तान गुस्ताफ अल गोजाली ।

उनले चार वर्षको अवधिमा आफ्नो कम्प्युटरको अगाडि बसेर झण्डै एक हजार सेल्फी फोटो लिए । अनि ती फोटोलाई एनएफटीमा रूपान्तरण गरी बिक्रीका लागि ‘ओपनसी’ (एनएफटी खरिदबिक्री हुने ठाउँ) मा अपलोड गरे ।

२२ वर्षीय यी युवकले सुरुवातमा प्रत्येक सेल्फी एनएफटीको मूल्य ०.००००१ इथर (इथेरियम नेटवर्कको क्रिप्टोकरेन्सी) अर्थात् तीन अमेरिकी डलर राखे । तर तत्कालै क्रिप्टो व्यापारीको ध्यान उनको एनएफटीले तानेपछि एकाएक यसको मूल्य बढ्न थाल्यो ।

अहिले एनएफटीका रूपमा उनकाे व्यक्तिगत फोटो १० हजार डलरभन्दा भन्दा बढीमा बिक्री भइरहेको छ ।

‘Uploading my photo into NFT lol,’ भन्दै उनले १० जनवरीमा पहिलाेपटक ट्वीट गरे ।

अर्को दिन, उनले ट्वीट गरेर मानिसहरूले ३५ वटा फोटो एनएफटी एक दिनमै किनेको र आफूले विश्वास नै गर्न नसकेको बताए ।

याे क्रम यसै राेकिएन । उनका दुई सयभन्दा बढी सेल्फी एनएफटीहरू त्यसको भोलिपल्ट बिक्री भयो । त्यसपछिका दिनमा एनएफटीको मार्केटप्लेस ओपनसीमा सयौं थप व्यापारीले उनको सेल्फी एनएफटी किने ।

उनले कसैले आफ्नो अनुहार (सेल्फी) किने हास्यास्पद हुन्छ भनेर आफूले एनएफटीमा फोटो कन्भर्ट गरेको बताएका छन् ।

‘मैले कसैले सेल्फी पनि किन्छ भनेर कहिल्यै सोचेको थिइनँ । त्यसैले मैले यसको मूल्य मात्र तीन डलर राखेको थिएँ,’ उनले एएफपीसँग भने ।

उनका सेल्फीहरू अहिले पुरा कलेक्सनसहित प्रति पिस चार इथर (१२ हजार ५०० डलर) मा बिक्री भइरहेको छ, जसको कूल मूल्य ३७४ इथर (१२ लाख डलर) पुगिसकेकाे छ ।

स्थानीय कर अधिकारीहरूले यी युवालाई कर भुक्तानी गर्न निर्देशन दिन ट्विटरमार्फत सम्पर्क गरेका छन्, तर उनले आफ्ना आमाबाबुलाई अझै पनि आफ्नो नयाँ फेला परेको सम्पत्तिबारे केही थाहा नभएको दाबी गरे ।

‘साँच्चै भन्नुपर्दा, मैले मेरा आमाबुवालाई भन्ने साहस अझै पाइनँ, उहाँहरूले पैसा कहाँबाट आयो भनेर सोचिरहनु हुनेछ,’ उनले सुनाए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२