close

यसरी सजिलै बुझ्नुहोस्, ई-मनी, क्रिप्टो, डिजिटल र भर्चुअल करेन्सी

टेकपाना टेकपाना

माघ २८, २०७८ १७:५

काठमाडौं । अनलाइन भुक्तानीसँगै मुद्राको नयाँ स्वरूपको विषय धेरैका लागि चाँसो र सरोकारको विषय बनेको छ । भर्चुअल, क्रिप्टो, डिजिटल करेन्सी र ई-मनी झट्ट सुन्दा कतिपयलाई एउटै हो कि भन्ने पनि लाग्न सक्छ ।

नेपाल राष्ट्र बैंकले नेपालभित्र बस्ने नेपाली तथा विदेशी नागरिकले मात्र होइन, विदेशमा बस्ने नेपालीले समेत क्रिप्टोकरेन्सी कारोबार गर्न नपाउने उर्दी जारी गरिसकेको छ ।

यस्तो अवस्थामा मुद्राका यी विभिन्न नामको विषयमा जानकारी राख्नु अझ महत्त्वपूर्ण विषय हुन जान्छ । त्यसैले आज हामी यसको विषयमा संक्षिप्त रुपमा चर्चा गर्दैछौँ ।

१. भर्चुअल करेन्सीः

भर्चुअल करेन्सीलाई विद्युतीय माध्यमबाट कारोबार गर्न सकिने वास्तविक मुद्रा (Real money or fiat currency) जस्तै कार्य गर्न सक्ने मुद्राको रुपमा बुझ्न सकिन्छ । निजी क्षेत्रबाट जारी गरिएको र लिगल टेन्डर स्टाटस प्राप्त नगरेको तथा राज्यको जमानी नभएको स्पेक्युलेटिभ एसेट्स (साटफेर गर्न सकिने सम्पत्ति) को रुपमा पनि यसलाई बुझ्न सकिन्छ ।

भर्चुअल करेन्सी विशेषगरी दुई प्रकारको हुन्छ । त्यसमध्येको एउटा केन्द्रिकृत भर्चुअल करेन्सी हो । जसमा एकल प्रशासक हुन्छ, जसले नियम बनाउँछ र भर्चुअल करेन्सीलाई फियट करेन्सीमा भुक्तानी दिन सक्छ ।

२. क्रिप्टो करेन्सीः

क्रिप्टोकरेन्सी भर्चुअल करेन्सीकै अर्को प्रकार हो । यो चाहिँ विकेन्द्रिकृत भर्चुअल करेन्सीको रुपमा समेत चिनिन्छ । क्रिप्टोकरेन्सी विद्युतीइ माध्यमबाट कुनै वित्तीय संस्थाको मध्यस्तता बिना नै रकमान्तर अर्थात ट्रान्सफर गर्न सकिन्छ ।

यसमा क्रिप्टोग्राफीको प्रयोग गरी बेनामी कारोबार हुने गर्दछ । यसको लेखाङ्कन कुनै बैंक वा खास संस्थाले नभई विकेन्द्रिकृत रुपमा ब्लक चेन प्रविधिमार्फत गरिन्छ ।

जनवरी २०२२ सम्ममा आठ हजारभन्दा बढी क्रिप्टोकरेन्सी रहेको अनुमान गरिएको छ । बिटक्वाइन पहिलो र सबैभन्दा व्यापक रुपमा विस्तार भएको क्रिप्टोकरेन्सी हो ।

३. ई-मनीः

क्रिप्टोकरेन्सी वा भर्चुअल करेन्सीलाई इलेक्ट्रोनिक मनी अर्थात ई-मनी भन्दा भिन्न रुपमा बुझ्नुपर्ने नेपाल राष्ट्र बैंकको भनाई छ । ई-मनी भनेको फियट करेन्सीकै विद्युतीय स्वरूप हो ।

जुन वास्तविक मुद्राको मूल्यलाई विद्युतीय माध्यमबाट ट्रान्सफर गर्न प्रयोग गरिन्छ । मोबाइल बैंकिङमा रकमान्तर हुने मुद्रादेखि लिएर भुक्तानी सेवाप्रदायक संस्थाको वालेटमा भएको रकम सबै ई-मनी हो ।

४. डिजिटल करेन्सीः

डिजिटल करेन्सीले सामान्यतयाः भर्चुअल करेन्सी र ई-मनी दुवैलाई समेट्छ । केन्द्रिय बैंकले समेत कागजी मुद्राको साटो डिजिटल करेन्सी जारी गर्न सक्छ ।

जसलाई सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी) पनि भनिन्छ । सीबीडीसी वास्तविक मुद्राकै अभौतिक स्वरूप हो । यसलाई जारी गर्ने देशको सरकारले पूर्ण रुपमा जमानी दिएको हो ।

पछिल्लो अध्यावधिक: जेठ ७, २०८१ १९:५३