close

पेट्रोलबाट चल्ने पुरानो गाडीबाट केयूका विद्यार्थीले बनाए विद्युतीय कार 

टेकपाना टेकपाना

चैत २५, २०७८ १८:३

पेट्रोलबाट चल्ने पुरानो गाडीबाट केयूका विद्यार्थीले बनाए विद्युतीय कार 

काठमाडौं । काठमाडौं विश्वविद्यालयले पुरानो मारुती सुजुकी कारलाई विद्युतीय कारमा रूपान्तरण गर्न सफल भएको छ । विश्वविद्यालय अन्तर्गतको ग्रिन हाइड्रोजन ल्याब अन्तर्गत विद्यार्थीको समूहले पेट्रोलबाट चल्ने पुरानो कारलाई विद्युतीय कार बनाएका हुन् । 

विश्वविद्यालयमा अटोमोबाइल इन्जिनियरिङमा अध्ययनरत विद्यार्थी बिराज खरेल यसका लागि पूर्व उपकूलपतिले चढ्ने मारुती ८०० कार प्रयोग गरिएको बताए । ‘गत एक वर्षदेखिको प्रयासबाट अन्ततः हामीले यसलाई विद्युतीय कारमा रूपान्तरण गर्न सफल भएका छौँ,’ टेकपानासँगको कुराकानीमा उनले भने, ‘यस क्रममा हामीले पेट्रोलबाट चल्ने आईसी पार्टपुर्जाहरूलाई हटाएर इलेक्ट्रिक गाडीमा प्रयोग हुने पाटपुर्जाहरू राखेका छौँ ।’

विश्वविद्यालय अन्तर्गत पुरानो कारलाई विद्युतीय कारमा रूपान्तरण गर्न सुरुवाती पाँच छ महिना लामो अनुसन्धान गरिएको थियो । त्यसक्रममा गाडीमा कुन मोटर राख्ने, कन्ट्रोलर कस्तो राख्ने र गाडीलाई कसरी किफायती तवरमा चलाउन सकिन्छ भन्ने लगायतका विषयहरू तय गरिएको खरेले बताए । 

विद्यार्थीहरूले कारको अगाडि भागमा रहेको इन्जिन झिकेर छ किलोवाटको बीएल डिसी मोटर राखेका छन् । ट्रान्समिसन तथा पावर सप्लाइका लागि गेयर बक्स प्रयोग गरिएको छ ।

गाडी अगाडि पछाडि गुडाउन मोटर कन्ट्रोलर राखिएको छ । गाडीको एक्सिलेटर बढाउने र घटाउने कार्यका लागि पोटेन्सियल मिटर जडान गरिएको छ । पावर बढी आएको खण्डमा त्यसलाई अलग्याउन फ्युज लगायतका उपकरण जडान गरिएका छन् । 

तस्वीरः हरिजङ्ग थापा/टेकपाना

गाडीमा १२ भोल्ट क्षमताका छ ओटा लिड एसिड ब्याट्री राखिएका छन् । यसरी समग्रमा कार गुडाउन ७२ भोल्ट तथा १०० एम्पियरको पावर राखिएको छ । रूपान्तरण गरेर बनाइएको विद्युतीय कारको ‘रोड टेस्ट’ समेत सफल भइसकेको विश्वविद्यालयका सहायक प्राध्यापक तथा ग्रिन हाइड्रोजन ल्याबका प्रमुख बिराजसिँह थापाले बताए ।

‘कारले एक पटकको फुल चार्जमा ३५ किलोमिटरसम्मको रेञ्ज दिएको छ,’ उनले भने । चार्ज गर्न छुट्टै चार्जर खरिद गरिएको छैन । विश्वविद्यालय अन्तर्गत रहेको टेक्निकल ट्रेनिङ सेन्टरमा रहेको चार्जिङ सिस्टमबाट गाडी फुल चार्ज हुन करिब ६ देखि ७ घण्टा लाग्ने गरेको छ । 

परियोजनाका अर्का सदस्य अभिषेक मिश्रले ब्याट्रीका कारण कारको तौल भने बढ्न पुगेको बताए । ‘यसमा राखिएका प्रत्येक ब्याट्रीको तौल साढे ३२ किलोग्राम रहेको छ । छ ओटा ब्याट्री सहित त्यसका लागि बनाइएको ब्राकेट सपोर्टको तौल २१५ केजी जति थपिएको छ,’ उनले भने ।  

ब्याट्री राखिएकाले गाडिको पछाडि भागमा लोड बढी भएको छ । जसले गर्दा पाँच जना राखेर उकालोमा बाटोमा चलाउँदा तौलमा केही असन्तुलन हुने जोखिम भने रहेको छ ।

पुरानो युनिबडी भएको गाडीमा च्यासिस नराखेर सिटहरूलाई हाइड्रोलिक प्रेसले स्टिच गरेका कारण मोडिफिकेसन गर्न चुनौतीपूर्ण भएको परियोजनामा कार्यरत अर्का विद्यार्थी तेजराज थारू बताउँछन् ।

‘हामीले यहाँ लिड एसिड ब्याट्रीको ठाउँमा लिथियम पोलिमर अथवा लिथियम आयन ब्याट्री पनि राख्न सक्छौँ,’ उनी भन्छन्, ‘त्यस्तो अवस्थामा अगाडि इन्जिनको हटाउँदा खाली भएको ठाउँ, तेलको ट्याङ्की रहेको स्थान र पछाडि भागमा ब्याट्रीहरूलाई मिलाएर राख्न सकिन्छ ।’

गाडीको इन्टेरियरको कुरा गर्दा यो गाडीमा क्लज छैन । एक्सिलेटर र ब्रेक मात्र दिइएको छ । परियोजनामा काम गरिरहेका अर्का विद्यार्थी अभिषेक सुवेदीका अनुसार पुरानै गेयर बक्समा एउटा गेयर फिक्स गरेर कार चल्ने बनाइएको छ ।

उत्पादनको तहमा जाँदा त्यसको साटो टर्क कन्भर्टर राख्नुपर्ने उनको भनाई छ । ‘त्यस्तो अवस्थामा कारलाई अझ स्मुथ र इफिसेन्ट रुपमा चलाउन सकिन्छ,’ उनी भन्छन्, ‘परियोजनाको अन्तिम उद्देश्य कारलाई हाइड्रोजन फ्युलसेल ब्याट्रीबाट चलाउनु रहेको र  त्यसका लागि अनुसन्धानको काम सबै सकिएको छ ।’ 

सहप्राध्यापक थापाका अनुसार विश्वविद्यालय अन्तर्गत स्थापना गरिएको ग्रिन हाइड्रोजन ल्याबलले विभिन्न क्षेत्रमा काम गरिरहेको बताए ।

‘यद्यपि हाम्रो ध्यान यातायात क्षेत्रमा केन्द्रित छ । जसमा छोटो दूरीमा पेट्रोलको विकल्पमा ब्याट्रीबाट चल्ने विद्युतीय गाडी र लामो दूरीमा डिजलको विकल्पमा हाइड्रोजनबाट सञ्चालन हुने गाडी रहेका छन्,’ उनले भने, ‘अहिले हामी दुवैमा समानान्तर रूपमा काम गरिरहेका छौँ ।’

जसमध्ये पेट्रोलको विकल्पमा पुराना गाडीलाई विद्युतीयमा रूपान्तरण गर्ने उद्देश्य अनुरूप अगाडि बढाइएको परियोजना सफल भएको छ ।

तस्वीरः हरिजङ्ग थापा/टेकपाना

‘यदि कसैले पुरानो कार विद्युतीय कारमा रूपान्तरण गर्ने व्यवसाय नै गर्न चाहनु हुन्छ भने हामी यो डिजाइन दिन तयार छौँ,’ उनी भन्छन्, ‘सँगसँगै हामी बिना लागत तालिम तथा अन्य किसिमको सहयोगका लागि समेत उपलब्ध गराउने छौँ ।’ 

इन्जिन बिग्रिएर, गेयर बक्स बिग्रिएर नचल्ने अवस्थामा पुगेका कार र फालिएका कारलाई यसैगरी विद्युतीय कारमा रूपान्तरण गर्न सकिने उनी बताउँछन् ।

‘नयाँ कार किनेर त्यसलाई ईभीमा लैजाने कसैको पनि सोच हुँदैन,’ उनी भन्छन्, ‘सरकारले २० वर्ष पुराना कारहरूलाई विस्थापित गर्नुपर्ने नीति नै बनाएको छ । धेरै सरकारी निकायहरूमा ठूलो सङ्ख्यामा गाडीहरू थन्किएर बसेका छन् । त्यस्ता कारहरूमा रहेको इन्जिन र गेयर बक्स र पेट्रोल ट्याङ्क झिकेर इलेक्ट्रिक कारमा रूपान्तरण गर्न सकिन्छ । यद्यपि हामीले बनाएको यो कारमा गेयर बक्स त्यसमै राखेका छौँ ।’ 

विश्वविद्यालय अन्तर्गत बनेको विद्युतीय कारमा गियर बक्सको इफिसेन्सी पनि प्रयोग गरिएको छ । इन्जिनको ठाउँमा मोटर राखिएको छ । मोटरका लागि चाहिने पावरका लागि गाडीमा ब्याट्री राखेका छौँ । 

‘अहिले हामीले गाडिको पछाडि डिक्कीमा ब्याट्री राखेका छौँ । हामीले गरेको डिजाइन अनुसार पुरानो कारमा मोटामोटी पाँच देखि छ लाख रुपैयाँ खर्च गर्ने हो भने विद्युतीय कारमा रूपान्तरण गर्न सकिन्छ,’ सहायक प्राध्यापक थापा भन्छन् । 

काठमाडौं विश्वविद्यालय अन्तर्गतको ग्रिन हाइड्रोजन ल्याबका प्रमुख सहायक प्राध्यापक बिराजसिंह थापा । तस्वीरः हरिजङ्ग थापा/टेकपाना

‘पुरानो कार फ्याँकेर पुनः पेट्रोल कार किन्नु भन्दा त्यसैमा पाँच लाख लगानी गर्दा इलेक्ट्रिक कार बनाउन सकिन्छ । काठमाडौं भित्र गुडाउनका लागि हामीले अहिले डिजाइन गरेको गाडी उपयुक्त हुन सक्छ ।’ 

अहिले नेपालमा लिथियम आयन ब्याट्री आयात गर्न नीतिगत असहजता रहेको भन्दै उनी आफूहरूले अहिले पुरानो कारलाई विद्युतीय कारमा रूपान्तरण गर्न लिड एसिड ब्याट्री प्रयोग गरिएको बताउँछन् ।

‘सफा टेम्पोमा पनि त्यही ब्याट्री प्रयोग हुनेगरेको छ,’ उनी भन्छन्, ‘क्रमशः आगामी दिनमा लिड एसिड ब्याट्री पनि नेपालमा आउन सक्छ । तर यस्तो ब्याट्री धेरै महँगो हुने गर्छ । यता लिड एसिड ब्याट्री राख्दा पाँच लाख रुपैयाँमा सबै पाटपुर्जा समेत आउन सक्छ । जब कि पुरानो गाडीकै मूल्य पाँच लाख पर्छ । अब त्यस्तोमा पुरानो कारलाई विद्युतीय कारमा रूपान्तरण गर्न २० देखि ३० लाख रुपैयाँ कसले खर्च गर्ला ?’

यदि दश देखि १५ वर्ष पुराना गाडीहरूमा एक डेढ लाख रुपैयाँ खर्च गरेर बनाउनु पर्ने छ भने त्यस्ता गाडीहरू पनि विद्युतीय गाडीमा रूपान्तरण गर्नु उचित हुनसक्छ,’ उनी भन्छन् । 

पेट्रोलियम पदार्थ आयातमा वर्षेनी दशौँ अर्ब रुपैयाँ मुलुकबाट बाहिरिने गरेको छ । अर्कोतर्फ जलविद्युतबाट उत्पादित बिजुली पर्याप्त मात्रामा खपत गर्न नसकिने परिस्थिति बन्दैछ । यस्तोमा पुराना गाडीहरूलाई विद्युतीय गाडीमा रूपान्तरण गर्दा लाग्ने खर्चमा सरकारले अनुदान दिएर प्रोत्साहन गर्नुपर्ने सहायक प्राध्यापक बिराजसिँह थापाको तर्क छ ।

यस बाहेक त्यस्ता गाडीमा लाग्ने कर शून्य बनाइदिने, चार्जिङ स्टेसनमा गएर चार्ज गर्दा लाग्ने शुल्क छूट दिने अथवा एकदमै न्यून गरिदिने, विद्युतीय गाडीमा रूपान्तरण गर्दा आवश्यक पर्ने सामग्रीको आयात र त्यसमा लाग्ने भन्सार सस्तो बनाइदिने काम सरकारले गर्न सक्छ । चार्जिङ स्टेसनलाई बिजुली सस्तोमा दिने नीति लिन सक्छ ।

सरकारले हालै मात्र पेट्रोलियम गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न सकिने नीति लिएको छ । पुराना गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्ने एउटा विकल्प हो । सबैले त्यही विकल्प अपनाउनु पर्छ भन्ने पनि छैन । पुराना र उपयोग विहीन हुने गाडीलाई भने रूपान्तरण गर्नु उचित हुने सहायक प्राध्यापक थापाको भनाई छ । 

‘घरबाट कार्यालय जान अथवा दैनिक २० देखि ३० किलोमिटरभन्दा कम यात्रा गर्नेहरूका लागि यसरी रूपान्तरण  गरिएका कार उपयोगी हुन सक्छन्,’ उनी भन्छन् ।

‘दीर्घकालीन रूपमा हेर्ने हो भने विद्युतीय गाडीमा पनि आफ्नै किसिमका सीमितताहरू छन् । ब्याट्रीका आफ्नै सीमितता छन्, त्यसको लागत, नियमित चार्ज गर्नुपर्ने अनेक कुराहरू त्यसमा आउँछन् । त्यसैले अबको पाँच दश वर्षपछि हामी हाइड्रोजनमै जानुपर्छ । त्यसैले हाम्रो अन्तिम लक्ष्य भनेको पनि हाइड्रोजनमै जाने हो ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५