close

अनलाइन अर्डरकै भरमा घर-घरमा प्लम्बरदेखि कम्प्युटर मर्मतसम्मको सेवा

हिक्मत आचार्य हिक्मत आचार्य

चैत २९, २०७८ १८:५१

अनलाइन अर्डरकै भरमा घर-घरमा प्लम्बरदेखि कम्प्युटर मर्मतसम्मको सेवा

काठमाडौं । आफ्नो उद्देश्यमा निरन्तर लगाव राखे एक दिन अवश्य सफल भइन्छ । यही सोचका साथ अगाडि बढिरहेको स्टार्टअप हो, सजिलो सेवा

केही समयअघि मात्र सजिलो मर्मत सेवाबाट रिब्राण्‍ड भएर ‘सजिलो सेवा’ नामबाट सञ्चालन भइरहेको यो कम्पनी सन् २०१७ बाट आधिकारिक रूपमा सञ्चालनमा आएको हो ।

सजिलाे सेवाले गर्ने कामको अवधारणमा कविश श्रेष्ठ र सुजित रेग्मी एमबीएमा उद्यमशीलता विषय पढ्दै गर्दा आएको थियो ।

काठमाडौं विश्वविद्यालयले हरेक वर्ष उद्यमशीलता अध्ययनरत विद्यार्थीलाई केही समूहमा विभाजन गरेर बिजनेस आइडियामा अनुसन्धान गर्न लगाउँछ । सोही समूहबाट उत्कृष्ट बिजनेस आइडिया हुनेलाई विश्वविद्यालयले सम्मान गर्ने गर्छ ।

त्यहीमध्ये कविश र सुजित आवद्ध समूहकाे बिजनेस आइडिया उत्कृष्ट ठहरियो । भू-कम्पबाट प्रभावित भएकाे देशको  त्यस्तो अवस्थामा त्यसबेला मर्मत सम्भारको काम सर्वाधीक आवश्यक परेको विषय थियो । त्यही परिस्थितिमा मर्मत सेवा अनलाइनमार्फत उपलब्ध गराउने उनीहरू विचार उत्कृष्ट सावित भयो ।

कम्पनीका सह-संस्थापक कविश श्रेष्ठले भने, ‘केयू (काठमाडौं विश्वविद्यालय) को व्यवहारिक जाँचमा म र सुजित एउटै समूहमा परेका थियौँ । त्यहीँबाट सजिलो सेवाले गर्ने कामको अवधारणा आएको हो ।’

उनीहरू अनलाइनबाट मर्मत सेवा उपलब्ध गराउन ५० भन्दा बढी विभिन्न संस्थामा गएर खोज तथा अनुसन्धान गर्न थाले ।

क्याम्पसमा बिजनेस आइडिया उत्कृष्ट ठहरिएपछि उनीहरू ‘आइडिया स्टुडियोज सिजन २’ मा सहभागी बने । त्यहाँ पनि उनीहरूको विचार उत्कृष्ट ठहरियो ।

सो कार्यक्रममा विजेता भएका कविश र सुजितलाई आफ्नो विचार व्यवसायमा परिणत गर्नु थियो । त्यही विचारलाई अघि बढाउन रेग्मी र श्रेष्ठले आफूले अर्को कम्पनीमा दुई वर्षदेखि गरिरहेको काम छोडेर त्यसैमा लाग्ने निर्णय गरे ।

थुप्रै कार्यक्रममा सहभागी भइरहँदा उनीहरू विभिन्न क्षेत्रका विज्ञबाट प्रभावित हुने अवसर पाए । यसले गर्दा पनि उनीहरूलाई आफ्नै कम्पनी खोल्ने धेरै प्रेरणा मिल्यो ।

त्यसअघि उनीहरूले दुई सयभन्दा बढी प्राविधिक व्यक्तित्वसँग कुरा गरे । उनीहरूलाई आफ्नो परम्परागत शैलीबाट काम गर्दा आइपरेका समस्या पहिचान गरी श्रेष्ठ र रेग्मीले समाधानको उपाय निकाले ।

प्रायः सबैका घरमा विद्युत, फर्निचर, कम्प्युटर वा प्लम्बिङका समस्या आइरहेका हुन्छन् । त्यस्ता कुराको मर्मत गर्ने प्राविधिकलाई कहाँबाट सोझै सम्पर्क गर्न सकिन्छ भन्ने सबैजसोको समस्या रहेको उनीहरूले पाए ।

प्राविधिक र घरमा मर्मत सम्भारको आवश्यक पर्ने व्यक्तिबीच खोज गर्दा उनीहरू आफूले एउटा मध्यस्थकर्ताको भूमिका निभाउन सक्ने उपाय निस्कियो ।

‘सबैको घरमा थुप्रै भौतिक समस्या आइरहेका हुन्छन् भने अर्कोपट्टि त्यस क्षेत्रसँग सम्बन्धित प्राविधिकले काम पाइरहेका छैनन्’ उनले भने, ‘यस्तो अवस्थामा हामी प्राविधिक र सेवाग्राहीलाई जोड्न सक्छौं भन्ने विचार आयो ।

कम्पनी सुरु गर्ने योजना बनाई सकेपछि उनीहरूको भेट पुकार आचार्यसँग भयो । त्यसपछि तीनजना मिलेर कम्पनी खोल्ने योजना बनाए ।

२० जुन, २०१७ मा कम्पनी सजिलो मर्मत सेवाको रूपमा दर्ता भयो । सुरुवातमा उनीहरूले प्लम्बिङ र इलेक्ट्रिक सेवा अगाडि बढाए ।

कम्पनी सुरु गर्न आफैंमा चुनौतीपूर्ण काम हो । त्यसपछि आउने बजार व्यवस्थापनले निकै ठूलो भूमिका निर्वाह गर्ने काम गर्छ । उनीहरूलाई बजारमा आफ्नो सेवा परिचित गराउनु थियो । त्यसको जिम्मा कविश आफैंले लिए ।

मानिसहरूलाई विभिन्न माध्यमबाट आफूले उपलब्ध गराउने सेवाको जानकरी दिँदै गए । यसरी बजारमा राम्रो प्रभाव परेपछि सेवाग्राहीलाई प्राविधिकले सजिलो मर्मत सेवाबाट आफूले दिने सेवा सुरु गर्न थाले ।

‘सुरुवातीमा मानिसहरूलाई प्रभावित पार्न निकै गाह्रो थियो । त्योभन्दा पहिले प्राविधिकलाई काम दिन्छौं भनेर आश्वासन दिनु झनै सकसपूर्ण काम थियो,’ श्रेष्ठले भने, ‘सुरुमा नै हाम्रो सेवा राम्रो छभन्दा मानिसले सहजै विश्वास गर्दैनन् । त्यसका लागि हामीले सेवामा बढी केन्द्रित हुनु थियो । हामी त्यसैमा केन्द्रित हुँदै गयौं । त्यसपछि हाम्रो सेवा बजारमा परिचित हुन थाल्यो ।’

प्राविधिकलाई विभिन्न सेवा उपलब्ध गराउँदै उनीहरूलाई आवश्यक तालिम सजिलो मर्मत सेवाले दिन थाल्यो । त्यसपछि प्राविधिकहरू सजिलो सेवा मार्फत काम गर्न तयार भए ।

हाल आठभन्दा बढी विभिन्न सेवा उपलब्ध गराइरहेको सजिलो सेवामा २५० बढी कर्मचारी र १८ भन्दा बढी प्राविधिक जोडिएका छन् । त्यस्तै हालसम्म ३० हजारभन्दा बढी बुकिङ भइसकेको कम्पनीले जनाएकाे छ ।

कुनै पनि सेवा विस्तार गर्न सीप बाहेक अन्य कुरा पनि आवश्यक पर्छ भन्ने बुझेका श्रेष्ठले प्राविधिकलाई अन्य विविध कुरामा तालिम दिन थाले । सेवाग्राहीलाई सेवा दिइसकेपछि कस्तो व्यवहार गर्ने वा उनीहरूलाई प्रभावित पार्न के के गर्न सकिन्छ भन्ने कुराबारे तालिम दिन थाले ।

मानिसहरूमा अनलाइनका सामानप्रति नकारात्मक भ्रम हुन्छन् । त्यस्तै कतिलाई बजारको मूल्यभन्दा अनलाइन सेवाको मूल्य धेरै हुन्छ भन्ने लाग्छ । त्यस्तो अवस्थामा अनलाइनबाट सजिलो सेवाले गर्ने काम भरपर्दो, सुलभ र बजारको मूल्य जत्तिकै हुन्छ भन्ने बुझाउन केही समय लागेको सह-संस्थापक श्रेष्ठ बताउँछन् ।

सेवा विस्तार गर्न त्यतिका चुनौती हुँदा उनीहरूलाई व्यक्तिगत रूपमा मात्र सेवा दिएर अघि बढ्न नसक्ने श्रेष्ठले जनाए । त्यसका लागि उनीहरूले कुनै ठूला संस्थाहरूलाई सेवा दिइर आफ्नो सेवा विस्तार गर्ने योजना बनाए ।

संघका संस्थालाई समयमा गुणस्तरीय सेवा आवश्यक पर्ने भएकाले उनीहरूको रोजाइमा सजिलो सेवा पर्‍यो । त्यसैको परिणाम स्वरूप उनीहरूले एएमसी अर्थात् वार्षिक मर्मत सम्भार सम्झौता (AMC-Annual Maintenance Contract) सेवा ल्याएको उनले जनाए ।

‘विशेषगरी अहिलेको अवस्थामा विभिन्न संघ संस्थालाई सजिलो सेवाले दिने सेवा निकै आवश्यक रहेको देखिन्छ’ उनले भने, ‘त्यसैले हाम्रा ६० प्रतिशतभन्दा बढी ग्राहक संघसंस्था छन् ।’

सुरूवातमा धेरै लगानी अभाव हुँदा उनीहरूले धेरै काम मौलिक रुपमा सुरु गरेका थिए । त्यसैलाई विस्तारै अगाडि बढाउँदै कम्पनी सञ्चालन गरेका थिए । सुरुवाती दिनमा काठमाडौं विश्वविद्यालयको इन्क्युबेसन सेन्टरमा रहेर काम थालेकाले खर्च निकै कम लागेको श्रेष्ठको भनाइ छ ।

हाल सजिलो सेवाले कम्युटर, उपकरणहरू, फर्निचर, विद्युतीय सेवा, प्लम्बिङ, सरसफाई, किट नियन्त्रण, ट्याक सरसफाई, एयर कन्डिस्निङ जस्ता सेवा उपलब्ध गराउँदै आएको छ ।

मानिसलाई आवश्यक जुनसुकै सेवा सजिलो सेवाको वेबसाइटमा गएर अर्डर गर्न सक्छन् । प्राविधिकको अत्यावश्यक परेको खण्डमा वेबसाइटमा रहेको इमर्जेन्सी सेवा लिन सक्छन् । जसका माध्यमबाट प्राविधिक दुई घन्टा वा आवश्यक परे त्यसभन्दा छिटो सेवाग्राही कहाँ पुग्छन् ।

कुनै पनि व्यवसायको सफलताका लागि ग्राहकको प्रतिक्रिया निकै नै आवश्यक पर्छ । ग्राहकले दिएका महत्वपूर्ण सुझावलाई लिएर काम गरिरहेको उनले बताए ।

सजिलो सेवाबाट भन्नासाथ प्राविधिक आइपुग्छन् भन्ने नभएको भन्दै श्रेष्ठले भने, ‘प्राविधिकहरूले सेवाग्राहीको के समस्या छ, त्यो पहिचान गरी त्यसलाई आवश्यक सामान बाहिर वा अन्य ठाउँबाट ल्याउँदा केही ढिलो हुनसक्छ ।’

सुरुवातमा आफ्नो सेवामा आफैंलाई आपत् पर्दा प्राविधिकलाई सम्पर्क हुन नसकेको भन्दै श्रेष्ठले आफ्नो विगत सम्झिए ।

एक पटक श्रेष्ठको घरमा उनी र उनकी सानी बहिनी हुँदा गल्तीले धाराको टुटी टुट्छ । ट्याङ्कमा पानी धेरै भएकाले टुटी भएको ठाउँबाट पानी प्रेसरले बग्न थाल्छ ।

पानी बाहिरसम्म आउन थालेपछि उनी आफ्नो कम्पनीका प्राविधिकलाई सम्पर्क गर्छन् । तर, कसैको फोन लाग्दैन । सायद राति भएकाले उनीहरूले फोन अफ गरेर राखेका थिए । त्यसपछि उनलाई इमर्जेन्सी सेवाको आवश्यक रहेको महसुस हुन्छ ।

सजिलो सेवामा भएका विभिन्न सेवाको परिस्कृत रूप यस्तै घटनाबाट प्रभावित भएका छन् ।

श्रेष्ठ र उनको समूहले केही समयमा सेवा मात्र नभई ‘सामानसहितको सेवा’ उपलब्ध गराउने योजना बनाएका थिए । सेवा मात्र दिँदा सेवाग्राहीलाई आवश्यक परेका सामान कतै अन्तबाट ल्याउनपर्ने हुन्थ्यो ।

त्यसलाई समाधान गर्न उनीहरूले सामानसहितको सेवा विस्तार गर्ने योजना बनाए ।

त्यही समयमा कम्पनीमा ट्रु नर्थ असोसिएट्सले १० करोड लगानी गर्ने प्रतिबद्धता जनायो ।

सामान सहितको सेवा विस्तार गर्न सजिलो मर्मत सेवाबाट नाम परिवर्तन गरी सजिलो सेवामा रिब्राण्ड गरेको श्रेष्ठले जनाए ।

कम्पनी रिब्राण्ड गर्नु र ट्रु नर्थले १० करोड लगानी गर्नु संयोग भएको उनले जनाए ।

ट्रु नर्थ असोसियट्सलाई प्रभावित पार्न धेरै समय लागेको उनको भनाइ छ ।

अहिले रिब्राण्ड भइसकेपछि सजिलो सेवाबाट ग्यास गिजर, वाटर हिटर, सोलर वाटर हिटर, कीटनाशक औषधि लगायतका सामान उपलब्ध छन् ।

केही समयमा अन्य सुविधा विस्तार गर्ने कम्पनीकाे योजना छ ।

सजिलो सेवाका प्राविधिक पनि आफूले दिएको सेवाप्रति सन्तुष्ट छन् । सजिलो सेवाबाट पहिले काम थालेका विजय प्रकाश उपाध्यायले भने, ‘हामीलाई सेवाग्राहीबाट धेरै माग आओस् भन्ने चाहना हुन्छ । त्यो माग सजिलो सेवाले पूरा गरिदिने प्रतिबद्धता गरेपछि यसमा जोडिन पुगेँ ।’

सेवाग्राहीको आवश्यकतालाई पूरा गर्न सजिलो सेवाबाट अत्यन्तै सहज भएको उनले बताए । बाहिरबाट काम गर्नुभन्दा सजिलो सेवाबाट काम गर्नु आफूलाई सहज हुने उनले बताए । सजिलो सेवाको माध्यमबाट काम गर्दा आफू पूर्णरूपमा सेवाग्राहीको काममा बढी ध्यान दिन सकिने उनको बुझाइ छ ।

सजिलो सेवा आफ्ना कमजोरीहरू सच्याउँदै सेवामा बढी केन्द्रित भइरहेको छ ।

हाल काठमाडौंमा मात्र सीमित सेवा विस्तारै अन्य सहर तथा गाउँमा पनि विस्तार गर्ने कम्पनीकाे याेजना छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४