close

अब शेयरमा जस्तै ‘डिजिटल सुन’मा लगानी गर्न पाइने, सुरु भयो अनलाइन सेवा

अर्पना आले मगर अर्पना आले मगर

चैत ३०, २०७८ १२:५३

अब शेयरमा जस्तै ‘डिजिटल सुन’मा लगानी गर्न पाइने, सुरु भयो अनलाइन सेवा

काठमाडौं । सामान्यतया सुन खरिद गर्ने भन्ने बित्तिकै हामी बजारको कुनै पसलमा गएर सुनका गरगहना अथवा सरसामान बनाउन लगाउने र खरिद गर्ने कुरा बुझ्छौँ । परापूर्वकालदेखि नै सुनमा गरिने लगानीलाई उपयोगी मानिन्छ ।

यो मानिसहरूले एकदमै विश्वास गरेको सम्पत्ति पनि हो । अन्य कुरामा भन्दा सुनमा लगानी गर्नु सँधै उचित हुने र खेर नजाने धारणा पनि छ ।

तर समयसँगै सुनको परिभाषा पनि परिवर्तन हुँदै गएको छ । पछिल्लो समय छिमेकी देश भारतमा निकै नै चर्चामा रहेको र प्रचलनमा आएको ‘डिजिटल गोल्ड’ नेपालमा पनि सुरु भएको छ ।

‘योपो’ सुपर एपले आफ्नो सुपर एपमार्फत डिजिटल गोल्ड अर्थात् डिजिटल सुन सम्बन्धी सेवा सुरु गरेको हो । सफ्ट लञ्चको रुपमा सुरु भएको यो सेवा अन्तर्गत प्रयोगकर्ताले ‘योपो गोल्ड’ अर्थात् डिजिटल सुन खरिद तथा बिक्री गर्न सक्नेछन् ।

कम्पनी नयाँ वर्ष २०७९ को सुरुवातसँगै यसलाई औपचारिक रुपमा सार्वजनिक गर्ने तयारीमा छ । डिजिटल गोल्ड एक प्रकारले वास्तविक सुन नै हो ।

प्रयोगकर्ताले भौतिक रुपमा सुनमा लगानी गरेको जस्तै यसमा पनि लगानी गर्न सक्छन् । तर फरक यति मात्र छ कि ग्राहकले अनलाइन माध्यमबाट सीमित अर्थात् थोरै रकममा समेत सुन खरिद गर्न सक्छन् । सो रकम बराबरको सुन कम्पनीले बैंकमा लगेर मौज्दात गर्छ । 

भौतिक सुनकै समान मूल्य हुने यो डिजिटल सुनमा भौतिक सुन सरह नै मूल्य घटबढ हुने, तर भौतिक सुनको प्रयोग गर्दा हुने डर यसमा नहुने कम्पनीका सहसंस्थापक नवराज श्रेष्ठले बताउँछन् । ‘प्रयोगकर्ताले हाम्रो एपमा गएर आजकै बजार मूल्यमा सुन खरिद गर्न सक्नुहुन्छ ।

अनि उहाँले खरिद गरेको रकम बराबरको सुन पसलबाट एपसँग सहकार्यमा रहेको बैंकमा लगेर डिपोजिट गरिदिन्छौँ,’ उनी भन्छन्, ‘प्रयोगकर्ताले चाहेको खण्डमा कुनै पनि बेला सहजै आफ्नो डिजिटल गोल्ड सो दिनको सुनको बजार मूल्यको आधारमा बिक्री गर्न सक्नुहुन्छ ।’ साथै यसरी मौज्दातमा राखिएको सुनको आधारमा बैंकको नियम अनुसार ऋण पनि झिक्न सकिने उनको भनाई छ ।

‘विभिन्न भोजभतेरहरूमा सुनका गहना लगाउने नेपाली मान्यतालाई ध्यानमा राख्दै हामीले गहनाहरू भाडामा प्रयोग गर्न सकिने सुविधा पनि ल्याएका छौँ,’ उनी भन्छन्, ‘एपमार्फत डिजिटल सुन खरिद गर्ने प्रयोगर्ताले हाम्रो माध्यमबाट आवश्यकता अनुसार सुनका गहनाहरू भाडामा लिएर समेत प्रयोग गर्न सक्नुहुन्छ ।’

यसका लागि आफूहरूले सुन पसल तथा गहना व्यापारीहरूसँग पनि सहकार्य गरेको श्रेष्ठ बताउँछन् । भौतिक सुन साथमा राख्दा हराउने, चोरी हुने लगायतका खतरा रहने भन्दै उनी डिजिटल गोल्डमा लगानी गर्दा लगानी सुरक्षित हुने दाबी गर्छन् ।

भौतिक पसलहरूमा १० देखि १२ प्रतिशत सम्म ज्याला जर्ती लिने गरेकोमा योपोले भने तीन प्रतिशतसम्म मात्रै सेवा शुल्क लिने उनको भनाई छ । डिजिटल गोल्डको नाममा सेवा दिइने भए पनि यसका लागि पृष्ठभूमिमा भौतिक रुपमै सुनको प्रयोग हुने बुझिन्छ ।

जसले गर्दा यस किसिमको सेवाबाट खरिद गरेको सुन निश्चित बैंकमा रहेको र त्यसका लागि जारी हुने बिल बिजकको आधिकारिकताको प्रत्याभूती दिने संस्था महत्त्वपूर्ण हुने जानकारहरू बताउँछन् । त्यसो त राष्ट्र बैंकले समेत विदेशी विनिमय व्यवस्थापन गर्ने सन्दर्भमा ‘पेपर गोल्ड’ (कागजी सुन) खरिद गर्छ ।

यस्तोमा विदेशी मुलुकको केन्द्रिय बैंकबाट बजार मूल्यमा त्यस्तो सुन खरिद गरिन्छ । तर उक्त सुन भौतिक रुपमा नेपाल पठाउनु भने पर्दैन । त्यसको सर्टिफिकेट मात्रै राष्ट्र बैंकले प्राप्त गर्दछ ।

यसरी खरिद गरेको ‘पेपर गोल्ड’ राष्ट्र बैंकले अन्य देशसँग बिक्री गर्न समेत सक्छ । यो प्रक्रियामा ‘पेपर गोल्ड’को प्रत्याभूति दिने संस्था सम्बन्धित देशको केन्द्रिय बैंक हुने गर्दछ ।

त्यसैले ‘पेपर गोल्ड’ तथा डिजिटल गोल्डमा विश्वास नै गर्न नसकिने भने हुँदैन । तर त्यसमा प्रत्याभूति कसले दिन्छ भन्ने कुरा महत्त्वपूर्ण हुने गर्दछ ।

यस्तो प्रत्याभूति बिना अनलाइनबाट डिजिटल गोल्ड तथा पेपर गोल्डमा लगानी गर्दा उक्त लगानी जोखिममा पर्न सक्ने जोखिम समेत रहने गर्दछ । यस्तोमा कुनै व्यापारिक कम्पनीले दिने प्रत्याभूतिमा विश्वास गर्न नसकिने कतिपयको तर्क समेत छ । 

यस्तोमा कुनै कमर्सियल बैंक, केन्द्रिय बैंक वा सरकारले त्यसका लागि प्रत्याभूति दिने कुरा हुन सक्छ । तर नेपालमा हालसम्म त्यसका लागि कुनै नीति तयार नभइसकेको नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण प्रसाद पोखरेल बताउँछन् । 

यद्यपि डिजिटल सुनको सुरक्षाको सुनिश्चितताका लागि त्यसलाई बैंकमा लगेर राखिने र सुनको बीमा समेत गरिने कम्पनीका अर्का सहसंस्थापक पराक्रमबहादुर सिंह बताउँछन् । ‘प्रयोगकर्ताहरूले सुन खरिद गर्दा हामीले गर्ने सम्झौतामा उहाँहरूको सुन मौज्दात रहने बैंकको विवरण लगायत सम्बन्धित बीमा कम्पनीको विवरण पनि उल्लेख गरिएको हुन्छ ।’

डिजिटल ‘गोल्ड’ (सुन) का सेवाको भुक्तानीका लागि नेपाल पेमेन्ट सर्भिस (एनपीएस) र बिभिन्न सुन पसलहरूसँग सम्झौता भइसकेको श्रेष्ठ बताउँछन् । ‘विभिन्न बैंकहरू, बीमा कम्पनीहरू र थप सुन पसलसँग सम्झौताको तयारी भइरहेको छ ।’

‘साथै सुन खरिद गरेपछि सोही अनुसारको बिल सुन पसलबाट समेत जारी हुन्छ । यसले प्रयोगकर्तालाई सुरक्षा प्रत्याभूत गर्छ,’ उनी भन्छन् । उनका अनुसार प्रयोगकर्ताले योपो सुपर एपबाट पाँच सय रुपैयाँदेखि दुई लाख रुपैयाँसम्मको डिजिटल सुन किनबेच गर्न सक्नेछन् । 

डिजिटल सुन खरिद बिक्री गर्ने सुविधा दिने योपो सुपर एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४