close

पावर बैंक किन्दा भुलेर पनि नगर्नुहोस् यस्ता गल्ती

टेकपाना टेकपाना

जेठ ४, २०७९ २१:२७

पावर बैंक किन्दा भुलेर पनि नगर्नुहोस् यस्ता गल्ती

काठमाडौं । पावर बैंक खरिद गर्नु प्रयोगकर्ताको सोखभन्दा पनि बाध्यता हो । अहिलेको समयमा धेरैजसो मोबाइल प्रयोगकर्तासँग पावर बैंक हुन्छ, ताकि मोबाइल हरेक समय चार्जमा रहिरहोस् ।

आजको दिनमा हाम्रो स्मार्टफोन, ट्याब, आईप्याड लगायतका सबै डिभाइस हाम्रो मनोरञ्जनदेखि कामसम्मका लागि सानो कम्प्युटरको रुपमा प्रयोग हुन्छ ।

यी कारणले पनि हाम्रा डिभाइसमा चौबिसैं घण्टा ब्याट्री आवश्यक हुन्छ । अनि सम्भव पनि छैन कि, हामीले हरेकपल्ट चार्ज गर्ने ठाउँ भेट्छौं भनेर । यस्तोमा सबैभन्दा उपयोगी विकल्पको रुपमा पावर बैंक रहेको छ ।

यद्यपि बजारमा भएका विभिन्न प्रकारका पावर बैंकहरूले हामीलाई अन्यौलमा पार्न सक्छन् । थुप्रै ब्रान्ड अनि अनेक प्रकारका पावर बैंकहरूको भिडमा हामीले खरिद गर्ने समयमा विभिन्न गल्ती गरिरहेका हुन्छौं, जसबाट सर्तक रहन आवश्यक छ । 

सस्तो रकमको पावर बैंक खरिद गर्नु 

पावर बैंक खरिद गर्ने बेलामा सबैभन्दा धेरै गल्ती हुने भनेको नै मूल्यलाई बढी प्राथमिकता दिँदा हो । सामान्यतया पावर बैंक खरिद गर्दा अन्य कुरालाई त्यति वास्ता नगरी उस्तै त होला नि भन्ने सोचका साथ कम मूल्यको पावर बैंक खरिद गर्ने गर्छौं ।

सस्तो मूल्य हुनु राम्रो हो, तर कहिलेकाहीँ सस्तो मूल्यतिर लाग्दा पावर बैंक कमसल वा डुप्लिकेट ब्रान्डको पनि पर्न सक्छ । केही समय प्रयोग गरेर एक-दुई महिनामा नै बिग्रनुभन्दा राम्रो उत्पादनमा लगानी गर्नु नै उपयुक्त हुन्छ ।

यसको अर्थ सबै महंगो पावर बैंक राम्रा हुन्छन् भन्ने कुरा चाहिँ पक्कै होइन । तर आफूले खरिद गर्न सक्नेसम्मको र राम्रो फिचर भएको पावर बैंक खरिद गर्नु नै उपयोगी हुन्छ । 

निकै थौरै वा निकै धेरै क्षमताको पावर बैंक खरिद गर्नु 

पावर बैंक खरिद गर्दा आफ्नो डिभाइस अथवा आफूलाई आवश्यक क्षमताको हेक्का नराख्नु पनि गल्ती हुन्छ । धेरैजसो समयमा प्रयोगकर्ताले आफूलाई आवश्यक क्षमता अनुसार पावर बैंक बोक्ने गर्दैनन् ।

याद गर्नुपर्ने कुरा भनेको थोरै क्षमताको ब्याट्री भएको पावर बैंक पनि सानै हुन्छ भने ठूलो क्षमताको ब्याट्री भएको पावर बैंकको आकार पनि ठूलै हुन्छ ।

टाढाको यात्रा गर्नुपर्ने स्थितिमा ठूलो पावर बैंक बोक्न झन्झटिलो हुनसक्छ भने पटक पटक डिभाइस चार्ज गर्नुपर्ने छ भने सानो पावर बैंक उपयोगी नहुन सक्छ । यसैले आवश्यकता नहेरी पावर बैंक खरिद गर्दा पछुताउनु पर्ने हुनसक्छ । 

डिभाइससँग कम्प्याटिबल नहुने पावर बैंक खरिद गर्नु 

प्रायजसो पावर बैंक खरिद गर्दा मोबाइललाई मात्र ठिक्क हुने पावर बैंक खरिद गरिन्छ । यो उचित नहुन पनि सक्छ । पावर बैंक खरिद गर्दा स्मार्टफोनसँगै क्यामेरा, ट्याबलेट, स्पिकर लगायतका डिभाइसहरूलाई पनि मिल्ने पावर बैंक खरिद गर्न सकिन्छ ।

फरक-फरक डिभाइसका लागि फरक-फरक चार्जर बोक्नुभन्दा एउटै पावर बैंक बोक्नु सहज पनि हुनसक्छ । पावर बैंक खरिद गर्दा फरक-फरक पोर्ट भएको खरिद गर्नु उपयुक्त हुन्छ । 

सुरक्षालाई ख्यालै नगरी पावर बैंक खरिद गर्नु 

सामान्यतया पावर बैंक खरिद गर्दा यसको क्षमता र मूल्य हेर्ने गरिन्छ । यसको सुरक्षाको विषयलाई लिएर खासै ध्यान दिएको देखिँदैन ।

पावर बैंक खरिद गर्दा शर्टसर्किट सुरक्षा, धेरै चार्ज भएमा डिस्चार्ज हुने फिचर, हाई भोल्टेजबाट सुरक्षा लगायतका विषयमा धेरैले ध्यान दिँदैनन् । जस्तो पायो त्यस्तै ब्रान्डको पावर बैंक खरिद गर्दा यसमा सुरक्षाको ग्यारेन्टी नहुन सक्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२