close

यस्तो छ, अनलाइनबाटै मतदाता नामावली दर्ता गर्ने तरिका

टेकपाना टेकपाना

बैशाख ९, २०८१ १६:९

यस्तो छ, अनलाइनबाटै मतदाता नामावली दर्ता गर्ने तरिका

काठमाडौं । मतदाता नामावलीमा नाम दर्ता गर्न गृह जिल्ला जान पाउनुभएको छैन ? यदि काम विशेषले तपाईँ गृह जिल्लाबाहिर हुनुहुन्छ भने चिन्ता नगर्नुहोस् । तपाईँले अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नुहुनेछ ।

निर्वाचन आयोगको वेबसाइटमा गएर तपाईँले नाम दर्ता गराउन सक्नुहुनेछ । मतदाता नामावलीको प्रि-रजिष्ट्रेसन र अध्यावधिक गर्ने काम निर्वाचन आयोगले सुरु गरिसकेको छ ।

आयोगले २०८० फागुन २५ गतेदेखि मतदाता नामावली दर्ता गर्ने काम स्थगित गरेको थियो । आयोगले हालै मतदाता नामावली दर्ता र अद्यावधिक गर्न सुरु गरेको छ ।

उपनिर्वाचन हुने इलाम र बझाङ जिल्लामा वैशाख २५ गतेदेखि र बाँकी सबै जिल्लामा वैशाख ३ गतेदेखि नै नाम दर्ता र अध्यावधिक गर्ने काम सुरु गरेको छ ।

-निर्वाचन मतदाता नामावलीमा नाम दर्ता गर्न सुरुमा तपाईँ निर्वाचन आयोगको अफिसियल वेबसाइट (election.gov.np) मा जानुहोस् ।

-वेबसाइट खोल्नेवित्तिकै तपाईँ होमपेजमा पुग्नुहुन्छ । होमपेजमा आयोगका फोटोहरू परिवर्तन भइरहेको देख्‍नुहुनेछ । त्यसलाई थोरै स्क्रोल गर्नुभयो भने स्क्रिनको बायाँपट्टि 'मतदाता नामावली प्रि-रजिष्ट्रेसन र अद्यावधिक', 'मतदाता नामावली', 'निर्वाचन परिणाम' र 'इ-बुलेटिन' शीर्षकहरू देख्नुहुनेछ ।

-अब तपाईँले सुरुको 'मतदाता नामावली प्रि-रजिष्ट्रेसनबाट र अद्यावधिक' शीर्षकमा क्लक गर्नुहोस् । त्यसपछि तपाईँले स्क्रिनमा निर्वाचन आयोगको ठूलो लोगो देख्‍नुहुन्छ ।

-लोगोको दायाँपट्टि साना अक्षरमा 'नयाँ दर्ता' र 'नामावली अद्यावधिक' दुई शीर्षक देख्‍नुहुनेछ । मतदाता नामावलीमा नयाँ नाम दर्ता गराउनको लागि 'नयाँ दर्ता' मा क्लिक गर्नुहोस् । त्यस्तै मतदाता नामावलीमा रहेको त्रुटी सच्चाउन र नामावली सार्नको लागि 'नामावली अद्यावधिक'मा क्लिक गर्नुहोस् ।

-तपाईँले यदि 'नयाँ दर्ता'मा क्लिक गर्नुभयो भने स्क्रिनमा तपाईँको मोबाइल नम्बर माग्छ । तपाईँले मोबाइल नम्बर राखेपछि निर्वाचन आयोगले तपाईँको मोबाइल नम्बरमा चार अक्षरको ओटीपी कोड पठाउँछ । त्यो कोड राखेपछि तपाईँ आवेदन भर्न सक्षम बन्नुहुन्छ ।

दायाँपट्टि रहेकाे 'नयाँ दर्ता' मा क्लिक गरेपछि तपाईँको आवेदन भर्न सुरु हुन्छ । तपाईँले नयाँ दर्तामा क्लिक गर्ने वित्तिकै त्यहाँ 'आवेदन भर्नु पूर्व ध्यान दिनुपर्ने कुराहरु' र  'औंठाको छाप र फोटो दिन जाँदा निम्न बमोजिमका कागजातहरू लिएर जानुपर्ने छ' गरी दुई ओटा शीर्षकमा सूचना देख्नुहुन्छ । त्यसलाई ध्यानपूर्वक पढेर 'हालसम्म मेरो नाम मतदाता नामावलीमा समावेश भएको छैन' भन्नेमा ठीक चिन्ह लगाएर हरियो रंगको बक्सभित्र भएको 'सुरु गर्नुहोस्' मा क्लिक गर्नुहोस् ।

-त्यसपछि तपाईँले क्रमैसँग आफ्नो स्थायी ठेगाना, व्यक्तिगत विवरण, नागरिकताको विवरण, अपाङ्गता भए/नभएको, सम्पर्क स्थान लगायत खुलाएर विवरण भर्नुहोस् र सबमिट गर्नुहोस् । त्यसपछि तपाईँले भरेको विवरण तपाईँको मतदाता केन्द्रका लागि पुग्छ ।

अनलाइन फाराम भरिसकेपछि प्राप्त हुने संकेत नम्बरसहितको प्रिन्ट कपि र आवश्यक कागजात लिएर बायोमेट्रिक दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा जानुपर्ने निर्वाचन आयोगका मुख्य निर्वाचन आयुक्त्त दिनेश थपलिया बताउँछन् । उनका अनुसार यसअघि कुनै पनि मतदाताले मतदाता नामावलीमा नाम दर्ता गर्न मतदाताले आफ्नो गृह जिल्ला नै जानुपर्ने बाध्यता थियो ।

आयोगले अनलाइन माध्यमबाट नाम दर्ता गर्ने प्रविधि ल्याएसँगै काम विशेषले गृह जिल्ला बाहिर रहेकाहरू मतदाता नामावलीमा नाम दर्ता गर्नकै सम्बन्धित जिल्लामा धाउनुपर्ने बाध्यता हटेकाे छ ।

"अब १६ वर्ष पुगेर नागरिकता लिने बित्तिकै सम्बन्धित मानिसले अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न सक्छन्," उनी भन्छन्, "यसले मानिसको समयको सदुपयोग गरेको छ । बारम्बार जिल्लामा जानुपर्ने समस्या हटाइदिएको छ । अब मतदाता निर्वाचनको समयमा मात्रै सम्बन्धित जिल्ला गए पुग्छ ।"

निर्वाचन आयोगले २०७९ सालबाटै अनलाइनबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्थाको सुरुवात गरेको थियो । सुरुमा उपत्यकाका तीन जिल्लाबाट सुरु भएको यो व्यवस्था हाल देशभरकै जिल्लामा विस्तार भएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ९, २०८१ १६:९