close

जुम र गुगल मिटको नेपाली विकल्प ‘भुरिलो’, जसमार्फत जोकोहीले पढ्न र पढाउन सक्छन्

हिक्मत आचार्य हिक्मत आचार्य

जेठ ५, २०७९ ९:४२

जुम र गुगल मिटको नेपाली विकल्प ‘भुरिलो’, जसमार्फत जोकोहीले पढ्न र पढाउन सक्छन्

काठमाडौं । प्रविधिले गाउँ समाज जतातिरै रूपान्तरण ल्याइरहेको छ । अबको नयाँ पुस्ता प्रविधिकै वरपर रहेर हुर्किएको छ । अध्ययन अध्यापनदेखि कार्यालयका कामसम्म डिजिटलमैत्री बनिरहेका छन् । यही बदलिएको परिस्थितिमा आज हामी नयाँ सोच र शैलीले काम गर्न चाहने युवाहरुको कथा प्रस्तुत गर्दैछौं ।

विद्यमान शैक्षिक प्रणालीलाई डिजिटल रुप दिने उद्देश्यसहित तीन युवा दीपक थापा, दिलिप थापा र विजय धिमालले ‘भुरिलो’ परिकल्पना गरे । भुरिलो एक ई-लर्निङ प्लेटफर्म हो, जसले शिक्षक र विद्यार्थीलाई एक-आपसमा जोड्ने काम गर्छ ।

के हो ‘भुरिलो’ ?

विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ महामारीले मानिसहरूलाई धेरै कुराको वैकल्पिक पाटोसँग परिचित बनाइदियो । सम्पूर्ण क्षेत्र जहाँबाट भौतिक रूपमा नै काम गर्नुपर्ने अवस्था थिए, तिनै क्षेत्र विकल्पका रूपमा डिजिटल वा अनलाइन माध्यम खोज्न थाले ।

विभिन्न पेसामा आवद्ध मानिसहरू तिनका विकल्प नहुँदा बेरोजगार भए । त्यसमा पनि विशेषगरी निजी शैक्षिक संस्थामा आबद्ध शिक्षकहरूले निकै सास्ती बेहोर्नुपर्‍याे ।

सोही अवस्थालाई मध्यनजर गर्दै ‘सुर्सा टेक्नोलोजी’ मा आबद्ध तीन युवाले दुई वर्षअघि ‘भुरिलो’ को कल्पना गरे । उनीहरूले सो प्लेटफर्म प्रयोग गर्न ‘भुरिलो नेपाल प्रालि’ दर्ता गरे ।

भुरिलोका संस्थापक सदस्य दिलिप थापा भन्छन्, ‘कोभिड महामारीका कारण पढाएर जीविकोपार्जन गर्ने शिक्षकहरूलाई धेरै प्रभाव पार्‍यो । त्यसैलाई मध्यनजर गर्दै एउटा शिक्षकले आफ्नै ‘डिजिटल इन्स्टिच्युट’ बनाउन सकियाेस् भन्ने हिसाबले ‘भुरिलो’ बनाउने योजना बनायौं ।’

समस्यासँगै समाधानका विकल्प पनि प्रशस्त हुने भएकाले आफूहरूले तत्कालीन परिस्थितिमा नवीन सोचले भुरिलो अघि सारेको उनले बताए ।

‘महामारीले कुनै न कुनै रूपमा वैकल्पिक बाटो सोझ्याइदिएको हुन्छ,’ कम्पनीका अर्का संस्थापक दीपक थापा भन्छन्, ‘हामीलाई प्रविधि कत्तिको आवश्यक छ भन्ने कुरा कोभिड महामारीले बुझाइदियो । अब प्रविधिकै प्रयोग गरी एउटा शिक्षकले कसरी आम्दानी गर्न सक्छ भन्ने कुरा प्रस्ट पार्न हामीले ‘भुरिलोको’ योजना बनायौं ।’

भुरिलो शब्द कसैका लागि नयाँ हुन सक्छ । ‘भुरिलोको खास अर्थ केही छैन । ‘भुरिलो’ भुराभुरी (बच्चाबच्ची) र रमाइलो, दुईवटा शब्दलाई समायोजन गरी बनाइएको हो । अहिलेका हरेक पुस्तालाई प्रविधि प्रयोग गर्दा रमाइलो नै लाग्छ । त्यस्तै प्रविधि प्रयोग गरी पढ्दा रमाइलो वा रोचक हुने भएकाले नामको परिकल्पना त्यसरी गरिएको हो,’ कम्पनीका अर्का संस्थापक विजय धिमालले सुनाए ।

भुरिलो विशेषगरी पठन पाठनका लागि निर्माण गरिएको भए पनि सबै क्षेत्रमा उत्तिकै उपयोगी हुने उनीहरू बताउँछन् । यो एक ई-लर्निङ एप हो, जसले विभिन्न क्षेत्रका शिक्षक र विद्यार्थीका बीचमा एक डिजिटल कक्षाकोठाको काम गर्छ ।

कसरी दिइरहेको छ सेवा?

भुरिलो विशेषगरी पठनपाठनका लागि निर्माण गरिएको भएपनि सबैजसो प्रयोगकर्ताका लागि उत्तिकै आवश्यक हुने देखिन्छ । अनलाइनबाट सम्मेलनका लागि उपयुक्त मानिने जुम, गुगल मिटको विकल्प नेपाली उत्पादन भुरिलो हो ।

यसकाे माध्यमबाट दुई सय जना मानिसहरूलाई भिडिओ कन्फ्रेन्समा राखी ९० मिनेटसम्म निःशुल्क कार्यक्रम सञ्चालन गर्न सकिन्छ ।

कम्पनीले तोकेको शुल्क बुझाएको खण्डमा भने पाँच सय जनासम्म प्रयोगकर्ता असीमित समयसम्म कार्यक्रम सञ्चालन गर्न सकिने धिमाल बताउँछन् ।

‘कुनै पनि संस्था, जसले विभिन्न तयारी कक्षाहरू (विभिन्न विषयमा ब्रिज कोर्स, लोकसेवा तयारी, आयल्ट्स, पीटीई आदि ) सञ्चालन गरिरहेका छन्, उनीहरूले भुरिलोका माध्यमबाट विद्यार्थीलाई पढाउन सक्छन्, उनले भने, ‘त्यसमा विद्यार्थी र शिक्षकहरू इन्टिच्युटहरूले नै खोजेका हुन्छन् । उनीहरूका लागि भुरिलोले जुम अथवा गुगल मिटको काम गर्ने गर्छ ।’

त्यस बापत कम्पनीले त्यस्ता शैक्षिक संस्थाहरूबाट उनीहरूले प्रयोग गर्ने फिचरलाई आधार बनाई शुल्क लिने गर्छ । यसो गर्दा विभिन्न विषयको तयारी गरिरहेका विद्यार्थीको समय बचत हुन्छ ।

भौतिक रूपमा कक्षामा उपस्थित हुने समयमा उनीहरू थप समय पढाइका लागि दिनसक्ने अर्का संस्थापक सदस्य दिलिप बताउँछन् ।

‘विभिन्न कक्षा सञ्चालन गरिरहेका शैक्षिक संस्थाले विशेषगरी त्यो ठाउँमा लाग्ने भाडाको शुल्क बचाउन सक्छन् । त्यस्तै विभिन्न शैक्षिक संस्थामा आबद्ध भएर पढाउने शिक्षकहरूले आफूले पढाएका क्लास रेकर्ड गर्न सक्छन् । जसले गर्दा एकपटक पढाएको कुराले दिगो रूपमा उनीहरूलाई रोयल्टी उपलब्ध गराइरहन्छ, उनले भने ।

केही निश्चित वर्गका विद्यार्थीलाई ट्युसन पढाउने शिक्षकहरूका लागि पनि यो प्लेटफर्म उपयोगी हुने कम्पनीकाे भनाइ छ ।

‘यदि कुनै शिक्षकले सीमित विद्यार्थीहरूलाई ट्युसन पढाउने गरेका छन् भने भुरिलो उनीहरूका लागि उपयोगी हुनसक्छ,’ संस्थापक सदस्य दीपक भन्छन्, ‘त्यसो गर्दा कुनै कोठा भाडामा लिएर पढाउनुपर्ने अवस्था हुँदैन । एक हिसाबले भन्नुपर्दा शिक्षकले आफ्नै फोनलाई ‘डिजिटल कक्षा’ बनाउन सक्छन् । यदि शिक्षकले विद्यार्थीहरूलाई निःशुल्क पढाइरहेका छन् भने ‘भुरिलो’बाट उपलब्ध हुने सेवा पनि निःशुल्क नै हुनेछ ।’

उनले थपे, ‘कुनै पनि बैंक वा त्यस्ता ठूला संस्था जहाँ, सयौँ जनालाई एकपटकमा सम्मेलनमा जोड्नुपर्ने हुन्छ उनीहरूका लागि पनि भुरिलो उपयोगी हुन्छ । यदि कुनै सम्मेलन महत्त्वपूर्ण छ । तर, त्यसमा कोही उपस्थित भएन भने उसले रेकर्ड भएको सम्मेलन हेरेर त्यहाँ भएका छलफलबारे बुझ्न सक्छ ।’

आम्दानीको आधार

दुई महिना अघिबाट बेटा भर्जनमा उपलब्ध भएको ‘भुरिलो’ केही दिनमा सम्पूर्ण रूपमा पूरा भएर सार्वजनिक हुने तरखरमा छ । विभिन्न इन्स्टिच्युटहरूको आफूले आवश्यक पर्ने प्रयोगकर्ताको सङ्ख्या हेरी वार्षिक सब्सक्रिप्सन शुल्क तिरेर लाइसेन्स लिन सक्छन् ।

उनीहरूले सीमित प्रयोगकर्ताका लागि अर्डर गरेको सेवा प्रयोग गरिसकेपछि, कम्पनीले अन्य सेवाका लागि एक वर्षसम्म वा जति समयका लागि खरिद गरिएको छ, सो समयसम्म कुनै किसिमको शुल्क नलिने याेजना अघि सारेकाे छ ।

त्यस्तै कुनै पनि शिक्षकले (ट्युसन पढाउन) प्लेटफर्म प्रयोग गरेबापत कम्पनीले प्रति प्रयोगकर्ता (विद्यार्थी) ३० प्रतिशत लिने गरेको छ ।

‘यसका लागि शिक्षकले आफ्नो ग्रुप बनाउनुपर्ने हुन्छ । यदि कुनै शिक्षकले सो प्लेटफर्ममा आफूले सिकाउने कुरा राखेका छन् भने जति विद्यार्थीले उनको कोर्ष खरिद गरेका छन्, त्यसमा ३० प्रतिशत कटाएर बाँकी शिक्षकलाई उपलब्ध गराइने छ,’ धिमालले भने ।

किन भुरिलो नै ?

अहिले हरेक कुराको उत्तिकै महत्त्व छ । जति हामी प्रविधिसँग नजिक हुँदै छौँ हामीलाई समयको उत्तिकै महत्त्व भएको आभास हुन्छ । भुरिलो हरेक क्षेत्रका मानिसका लागि निकै उपयोगी हुने दीपक बताउँछन् ।

‘हामीसँग अन्य प्लेटफर्मभन्दा अद्वितीय फिचरहरू छन् जसले हरेक प्रयोगकर्तालाई सहज बनाउने छन्,’ उनले भने, ‘एउटा कुनै शिक्षकले कुनै संस्थामा आबद्ध नभई पढाउन चाहन्छ भने उसले भुरिलोका माध्यमबाट पढाउन सक्छन् ।’

त्यसमा लाइभस्ट्रिम फिचर भएकाले विद्यार्थी र शिक्षकबीच दोहोरो कुराकानी हुन्छ । त्यस्तै त्यसमा उपलब्ध हुने रेकर्ड गरिएको भिडिओका माध्यमबाट शिक्षकले एकपटक पढाएको कुरा धेरै समयसम्म प्रयोगमा आइरहन्छ । त्यसो गर्दा शिक्षकले सो भिडिओको रोयल्टी पाउँछन् ।

त्यस्तै उनीहरूले रेकर्ड गरेका भिडिओको सम्पूर्ण स्वामित्व शिक्षकको हुने भएकाले उनीहरूले आफूलाई सहज हुने तरिकाले जुनसुकै माध्यममा अपलोड गर्नसक्छन् ।

विद्यार्थीहरूले आफूलाई आवश्यक पर्ने कुनै पनि विषय (भाषा, लोकसेवा तयारी, अन्य कुनै क्षेत्रको तयारी) भौतिक रूपमा उपस्थित नभई आफू जहाँ छ त्यहीबाट अनलाइन मार्फत पढ्नसक्छन् ।

त्यसले गर्दा उनीहरूलाई आवश्यक पर्ने विषयको तयारी कक्षा खोज्ने समय बचत हुने, सो ठाउँमा जान लाग्ने समय बचत हुने दिलिपको भनाइ छ । त्यही समयमा उनीहरूले अन्य थप तयारी गर्न सक्छन् ।

जनशक्तिलाई प्रविधिसँग जोड्दै

मोबाइल, कम्प्युटर र इन्टरनेटलाई सदुपयोग गर्न नजान्दा मानिसहरूले हाम्रोजस्तो अविकसित देशमा समयको बर्बाद गर्ने माध्यम हो भन्ने बुझेका थिए । हुन पनि प्रायः मानिसहरूले यी माध्यमलाई समय बिताउने थलो बनाएका थिए ।

प्रविधिका ठूला-ठूला क्षेत्र बाहेक धेरै ठाउँमा सामान्य कामका लागि इन्टरनेट, मोबाइल र कम्युटर प्रयोग गरिन्थ्यो । विगत केही वर्षदेखि मानिसहरूले प्रविधिको महत्त्व बुझेका छन् । कोभिड महामारीले त झन् उपयोग गर्न जाने यस्ता माध्यम हरेक क्षेत्रमा उत्तिकै आवश्यक छन् भन्ने प्रस्ट पारिदियो ।

नेपालको सन्दर्भमा धेरै ठाउँमा पढाइको आवश्यकता मोबाइल, इन्टरनेट र कम्प्युटरले पूरा गर्न सक्दैन भन्ने मनस्थिति थियो ।

कोभिड महामारीका बेला हरेक क्षेत्रका हरेक विषयमा कम्प्युटर र इन्टरनेट आवश्यक हुने कुरा सबैले जानकारी पाए । त्यसका विकल्पमा अन्तर्राष्ट्रिय माध्यम जस्तै जुम वा गुगल मीट प्रयोग गर्दा समयको सीमितता हुन थाल्यो ।

यदि त्यसमा शुल्क तिरेर त्यहाँ उपलब्ध फिचर प्रयोग गर्नुपर्‍यो भने नेपाली प्रयोगकर्तालाई भुक्तानीका सन्दर्भमा सकस पर्न थाल्यो । यी सबै आवश्यकतालाई नेपाली उत्पादन ‘भुरिलो’ले पूरा गर्ने विजयले बताए ।

यसलाई प्रयोग गर्नुपूर्व त्यसबारे शिक्षकहरूलाई आधारभूत ज्ञान दिने गरेको उनको भनाइ छ ।

यदि कुनै शिक्षकलाई भिडिओ क्लास रेकर्ड गर्नुपर्‍यो भने उनीहरूले ‘भुरिलो’को कार्यलयमा रहेको स्टुडिओमा गई रेकर्ड गर्न सक्छन् ।

उनीहरूको सहजताका लागि कम्पनीले मोबाइल स्ट्याण्ड उपलब्ध गराउने गरेको उनी बताउँछन् । यसरी आधारभूत ज्ञान र सीप उपलब्ध गराएको खण्डमा प्रविधिमा शैक्षिक क्षेत्रका जनशक्तिको आकर्षण धेरै हुने उनीहरूको विश्वास छ ।

भावी योजना

हरेक स्टार्अपका आफ्नो क्षेत्रमा विविध चुनौती हुन्छन् । यो विशेषगरी शिक्षक तथा शैक्षिक संस्थाहरू सम्बन्धित हुने भएकाले त्यस क्षेत्रका व्यक्तिहरूको सहयोग आवश्यक रहेको उनीहरूको भनाइ छ ।

अबको केही दिनमा विद्यार्थीका लागि मल्टिपल च्वाइस कोइसन (एमसीक्यू) को विशेषता ल्याउने धिमाल बताउँछन् ।

‘यसमा एमसीक्यू फिचर निकै नै आवश्यक हुने भएकाले हामी चाँडै त्यो फिचर पनि सार्वजनिक गर्दैछौं । यसले विद्यार्थीहरूले पढेका कुरालाई पढाइमा झन् सहज बनाउनेछ । त्यसमा अर्को फिचर भनेको असाइनमेन्टको रहेको छ । जसले गर्दा विद्यार्थीले होमवर्क बुझाउन सक्ने र शिक्षकले जाँचेर मार्क्स दिन सक्नेछन्,’ उनले भने ।

त्यस्तै कम्पनीले पछिका दिनमा ‘भुरिलो स्टेसनरी स्टोर’ खोल्ने योजना भएको दीलिप सुनाउँछन् । उनका अनुसार विद्यार्थीलाई आवश्यक जति पनि शैक्षिक सामग्री छन् । त्यो सबै अनलाइनबाट अर्डर गर्न मिल्ने फिचर ल्याउन लागिएको छ ।

त्यस्तै देशबाट पलायन भएर गएका जनशक्तिका लागि पछि उनीहरू फर्केर आउँदा काम लाग्ने सीपहरू सोही एपमार्फत सिकाउने गरी उनीहरूका लागि छुट्टै कोर्ष विकास गरेर त्यही अनुसारको सीप दिने उनीहरूको योजना छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२