close

ल्यापटप वा मोबाइल किन्दा पैसा बचाउने तरिका

टेकपाना टेकपाना

असार ७, २०७९ १७:४९

ल्यापटप वा मोबाइल किन्दा पैसा बचाउने तरिका

काठमाडौं । अहिले विद्युतीय सामग्री र त्यससँग सम्बन्धित अन्य कामका लागि मानिसहरूकाे खर्च बढी हुने गरेकाे छ । केही कुरामा सूक्ष्म ध्यान दिनसके यस्ता सामग्री खरिदमा लाग्ने शुल्क केही मात्रामा घटाउन सकिन्छ ।

आज हामी ल्यापटप वा स्मार्टफोन खरिद गर्दा ध्यान दिनुपर्ने कुराबारे जानकारी दिँदैछौं ।

पसलेले दिने छुटमा नझुक्किनुहोस्

विभिन्न कम्पनीले उपभोक्तालाई आफ्नो उत्पादनतर्फ आकर्षित पार्न विभिन्न योजना बनाएका हुन्छन् । जसमध्ये डिस्काउन्ट पनि एक हो । कम्पनीले दिने डिस्काउन्टमा खासै शङ्का हुँदैन । किनभने आधिकारिक कम्पनीहरूले विभिन्न कानूनी प्रक्रिया अपनाएर कुन सामग्रीमा कति प्रतिशत छुट दिने भन्ने कुरा छुट्ट्याएका हुन्छन् ।

कम्प्युटर वा फोन सधैँ आधिकारिक डिलरबाट किनिन्छ भन्ने हुँदैन । कतिपय अवस्थामा सामान्य पसलबाट किन्नुपर्ने हुनसक्छ । त्यस्ता पसलहरूमा कम्प्युटर वा फोनको मूल्य पहिले आफैंलाई पर्ने मूल्यभन्दा धेरै तोकेर पछि बढी छुट दिएको जस्तो देखाउन सक्छन् ।

त्यसका लागि सबैभन्दा पहिले आफूले खरिद गर्न लागेको डिभाइसका बारेमा रिसर्च गर्नुहोस् । सो डिभाइसलाई आधिकारिक डिलरले कति पर्छ र अन्य पसलेले कतिमा बिक्री गर्छन् भन्ने कुरा पत्ता लगाउनुहोस् ।

त्यसपछि फोन वा कम्प्युटरको मूल्य सान्दर्भिक लागेको खण्डमा खरिद गर्नुहोस् ।

सेकेन्ड ह्यान्ड डिभाइस खरिद गर्नुहोस्

कतिपय अवस्थामा नयाँ डिभाइसभन्दा मर्मत गरिएका वा सेकेन्ड ह्यान्ड डिभाइस बढी उपयुक्त हुन सक्छन् । मानिसहरूले वारेन्टी अवधि नसकिँदै विशेष कारण डिभाइस बेच्न लागेका हुनसक्छन् । जो भन्नलाई सेकेन्डह्यान्ड भनिए तापनि अन्य विशेषताको सन्दर्भमा भने नयाँ नै हुन सक्छन् ।

त्यसैले कुनै पनि उपकरण खरिद गर्दा नआत्तिएर सेकेन्ड ह्यान्ड पाइन्छ वा पाइँदैन भन्ने कुरा ख्याल गर्नुहोस् । यसरी सेकेन्ड ह्यान्ड सामान खरिद गर्दा तपाईंले पैसा त बचाउनुहुन्छ नै, साथै राम्रो डिभाइस पनि पाउन सक्नुहुन्छ ।

तर, सेकेन्ड ह्यान्ड डिभाइस खरिदमा जोखिम हुनसक्छ । भरपर्दो बिक्रेता/व्यक्तिबाट खरिद गर्नुहोस् र त्यसमा भएका समस्याबारे पहिले नै जानकारी लिनुहोस् ।

यदि तपाईंलाई सो डिभाइस उपयुक्त लाग्यो भने खरिद गर्न सक्नुहुन्छ । त्यस्तै कतिपय ठाउँमा आफ्नो डिभाइससँग अर्को डिभाइस एक्सचेन्ज पनि गर्न सकिन्छ ।

यदि तपाईंलाई आफ्नो डिभाइस बिक्री गरेर नयाँ खरिद गर्नु छ भने तपाईंले बजारमा चलिरहेका एक्सचेन्ज अफरबारे जानकारी लिएर त्यहीँ एक्सचेन्ज गर्न सक्नुहुन्छ । त्यसले गर्दा तपाईंले आफ्नो डिभाइस आकर्षक मूल्यमा बिक्री गर्न सक्नुहुन्छ । साथै खरिद गर्न लागेको डिभाइस पनि आकर्षक मूल्यमा पाउन सक्नुहुन्छ ।

अनलाइनमार्फत खरिद गर्दा यी कुरामा ध्यान दिनुहोस्

हामी प्रविधिको व्यापक प्रयोग सँगसँगै अनलाइन शपिङ गर्न रुचाउने भएका छौं । अनलाइनमार्फत सामग्री खरिद गर्दा केही साना कुरामा ध्यान दिनुभयो भने पैसा त बचाउन सक्नुहुन्छ नै, ओरिजिनल सामग्री पनि पाउन सकिन्छ ।

अनलाइनमार्फत सामान खरिद गर्दा सबैभन्दा पहिले तपाईं कुन साइटबाट सामान खरिद गर्दै हुनुहुन्छ भन्ने कुरा ख्याल गर्नुहोस् । तपाईंले सामग्री खरिद गर्न लागेको साइट कत्तिको भरपर्दो छ भन्ने कुरा जाँच गर्नुहोस् ।

त्यसका लागि उक्त वेबसाइट र एपमा गएर रिभ्यु पढ्न सक्नुहुन्छ । त्यसपछि उनीहरूले के कस्ता डिस्काउन्ट अफर ल्याएका छन् भन्ने कुराको जानकारी लिनुहोस् ।

सामान खरिदमा अनलाइन शपिङ साइटहरूले प्रोमो कोडको व्यवस्था गरेका हुन सक्छन्, जसकाे माध्यमबाट हामी पहिलेको भन्दा बढी छुट वा क्याशब्याक पाउन सक्छौँ ।

नयाँ डिभाइस खरिद गर्दा हतार नगर्नुहोस्

हामीमध्ये धेरैको बानी कुनै पनि डिभाइस वा उपकरण नयाँ सार्वजनिक हुनासाथै किन्न रुचाउने किसिमको हुन्छ । नाम चलेका ब्राण्डका डिभाइस सार्वजनिक हुनेबित्तिकै किन्न चाहने प्रयाेगकर्ता धेरै हुन्छन् ।

यदि भर्खरै सार्वजनिक भएको कुनै डिभाइस खरिद गर्ने योजना बनाउँदै हुनुहुन्छ भने केही समय पर्खनुहोस् । तत्काल खरिद गर्दा त्यसको मूल्य जति धेरै पर्छ, केही समयपछि घट्दै जान्छ । अर्कोतर्फ ती डिभाइसमा कुनै कमजोरी पनि भेटिनसक्छन् ।

खरिद गर्नुअघि रिभ्यु जाँच गर्नुहोस्

मानिसहरूले आफूले पहिले खरिद गरेका सामग्रीको रिभ्यु लेख्ने गर्छन् । आफूले खरिद गरेका डिभाइस वा उपकरणमा भएका राम्रा/नराम्रा कुराबारे रिभ्यु लेखेका हुन्छन्, त्यसबारे भिडिओ बनाएका हुन्छन् ।

त्यसैले कुनै डिभाइस वा उपकरण खरिद गर्नुअघि त्यसबारे भएका रिभ्यु पढ्ने बानी बसाल्नुहाेस् । त्यसले गर्दा विभिन्न डिभाइसमा हुने चर्को मूल्यबाट बच्न सकिन्छ ।

कस्ताे फिचर भएको डिभाइस खरिद गर्न लाग्नुभएको हाे, ख्याल गर्नुहोस्

ल्यापटप वा कुनै फोन खरिद गर्दा मात्र होइन, जुनसुकै डिभाइस खरिद गर्दा आफूलाई आवश्यक पर्ने फिचरबारे जानकार हुनुहोस् ।

तपाईंले आफ्नो आवश्यकता अनुसार ८ जीबी र्‍याम भएका ल्यापटप र ४ देखि आवश्यकता अनुसार बढी र्‍याम भएका स्मार्टफाेन खरिद गर्न सक्नुहुन्छ ।

सबैभन्दा महत्त्वपूर्ण कुरा क्यामेराको मेगापिक्सेल, फोनको स्टोरेज अनुसार फोनको मूल्य फरक भए तापनि  फिचरहरू उही नहुन सक्छन् । त्यसैले सबै कुरा मूल्याङ्कन गरेर उपकरण खरिद गर्दा उपयुक्त हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३