close

यी ७ कारणले च्याटजीपीटी भन्दा कोपाइलट चलाउनु राम्रो

टेकपाना टेकपाना

बैशाख १८, २०८१ १४:३९

यी ७ कारणले च्याटजीपीटी भन्दा कोपाइलट चलाउनु राम्रो

काठमाडौं । ओपनएआईले च्याटजीपीटी सार्वजनिक गरेर जेनेरेटिभ एआईमा तहल्का मात्र पिटेन, यो प्रख्यात एआई च्याटबटका रुपमा समेत स्थापित भयो । अहिले छोटो समयमै सयाैं एआई टुल आइसकेका छन् । 

तीमध्ये माइक्रोसफ्टको कोपाइलटले च्याटजीपीटीलाई टक्कर दिन खोजेको देखिन्छ । हुन त कोपाइलट ओपनएआईकै जीपीटी मोडेलबाट सञ्चालित छ । तर यो च्याटजीपीटीभन्दा भिन्न छ । यी दुवैका नि:शुल्क र सशुल्क भर्सन छन् । 

यस्तोमा कुन राम्रो छ भन्ने जिज्ञासा आउनु स्वाभाविक छ । आज हामी च्याटजीपीटीभन्दा कोपाइलट चलाउनुका ७ कारणबारे चर्चा गर्दै छौं: 

१. सूचना 

यी दुईको सबैभन्दा ठूलो भिन्नता सूचनामा छ । कोपालइटमा वर्तमान समयको पनि सूचना पाइन्छ । तर च्याटजीपीटीमा त्यो सुविधा छैन । २०२२ जनवरीसम्मका सूचनाहरूमा तालिम दिइएकाले च्याटजीपीटीको नि:शुल्क भर्सनले अहिलेका घटनाहरूबारे केही पनि बताउन सक्दैन । तर कोपाइलटलाई माइक्रोसफ्टको बिङ सर्च इन्जिनसँग पनि जोडिएको छ । 

यसरी बुझौं, कोपाइलटसँग इन्टरनेटको एक्सेस छ । जसले गर्दा अहिलेको घटनाबारे सोध्दा यस टुलले उत्तर दिन्छ । तर च्याटजीपीटीमा इन्टरनेटको पहुँच छैन । आफ्नो सीमित सूचनाका आधारमा मात्र यसले प्रतिक्रिया दिने गर्छ । 

जस्तै: हामीले हालै भएको उपनिर्वाचन - २०८१ बारे यी टुलमा प्रश्न गरेका थियौं । त्यसक्रममा कोपाइलटले सही उत्तर दिँदा च्याटजीपीटीले दिन सकेन ।

 

कोपाइलटले दिएको प्रतिक्रियाच्याटजीपीटीले दिएको प्रतिक्रिया

२. फुटनोट्स 

कुनै पनि शैक्षिक लेख सम्बन्धी काम गर्दा स्रोत खुलाउनु राम्रो मानिन्छ । अहिले त यी यस्ता एआई टुलले निकै सहयोग पनि गरिरहेका छन् । त्यस क्रममा कुनै पनि सूचनाको मूल स्रोत फेला पार्न सकिए थप अध्ययन गर्न निकै सहयोग पुग्छ । यो मानेमा कोपाइलट नै अगाडि रहेको छ । 

कोपाइलटले हरेकजसो प्रतिक्रियामा फुटनोट राख्ने गर्छ । त्यहाँ ती सूचना कहाँबाट ल्याइएको हो भनेर स्रोतहरू खुलाइएको हुन्छ । यसले गर्दा उक्त सूचना प्रमाणित गर्न, थप अध्ययन गर्न निकै सहयोगी हुन्छ । यता च्याटजीपीटीले भने प्रतिक्रिया मात्र दिन्छ । स्रोतका लागि अनुरोध गर्नुपर्ने हुन्छ । तर यस तरिकाले सधैं भने काम नगर्न सक्छ । 

 

फुटनोटमा कोपाइलटले उपलब्ध गराएको लिङ्कहरू

३. एड्भान्स्ड मोडेल 

च्याटजीपीटीको नि:शुल्क भर्सन जीपीटी ३.५ मोडेलबाट सञ्चालित छ । जुन अलि पुरानो मोडेल हो । यता नि:शुल्क नै चलाउन मिल्ने कोपाइलट भने जीपीटी ४ टर्बो मोडेलबाट सञ्चालित छ । जुन ओपनएआईको सबैभन्दा पछिल्लो मोडेल पनि हो । यसले गर्दा प्रतिक्रिया दिने सन्दर्भमा कोपालइट अघि आउँछ । यदि तपाईं पैसा तिरेर च्याटजीपीटी सब्सक्राइबर हुनुभयो मात्र जीपीटी ४ टर्बोमा पहुँच पाउन सक्नुहुन्छ ।

४. भोइस इन्पुट

अमेजन एलेक्सा, गुगल एसिस्टेन्ट जस्तै तपाईंले कोपाइलटसँग पनि आवाजका माध्यममार्फत कुराकानी गर्न सक्नुहुन्छ । त्यसपछि यस एआई टुलले पनि आवाजमा नै प्रतिक्रिया हुन्छ । जुन वेब र एप दुवैमा गर्न सकिन्छ । तर च्याटजीपीटीमा भने यो फिचर पूर्ण छैन । च्याटजीपीटीको मोबाइल एपमा भोइस इन्पुटको फिचर दिइएता पनि वेबमा त्यसको विकल्प छैन । च्याटजीपीटीमा यो फिचर प्रयोग गर्न पनि पैसा नै तिर्नुपर्ने हुन्छ । 

कोपाइलटमा आवाजका मध्यममार्फत कुराकानी गर्न माइकको चिन्हमा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि सहजै तपाईंले कुराकानी गर्न सक्नुहुन्छ ।

 

५. इमेज इन्पुट

आवाजमार्फत कुराकानी गर्न सकिने सुविधाजस्तै कोपाइलटमा भएको अर्को आकर्षक फिचर हो, इमेज इन्पुट । अर्थात् आफूले फोटो हालेर कुराकानी गर्न सक्नु । तपाईंले कुनै पनि फोटो दिएर सम्बन्धित प्रश्न सोध्न सक्नुहुन्छ । याे काम च्याटजीपीटीमा गर्न सकिँदैन । त्यहाँ यो काम गर्न पनि पैसा नै तिर्नुपर्ने हुन्छ ।

कोपाइलटमा कुनै पनि फाेटाे राखेर प्रश्न गर्दा तल फोटोको आइकनमा क्लिक गर्नुपर्ने हुन्छ । त्यहाँ तपाईंलाई डिभाइसबाट फोटो हाल्ने, फोटोको लिङ्क उपलब्ध गराउने अथवा फोटो खिच्ने भन्ने विकल्प आउँछ । तपाईंले तीमध्ये कुनै एक छान्न सक्नुहुन्छ ।

६. इमेज जेनेरेसन 

कुराकानीका सन्दर्भमा इमेज इन्पुट गर्ने मात्र नभइ कोपाइलटले फोटो समेत तयार पारिदिन्छ । यसका लागि पनि माइक्रोसफ्ट डिजाइनर प्रयोग भएको हुन्छ । जुन ओपनएआईको ड्याल-ई थ्री मोडेलबाट सञ्चालित छ । जुन ओपनएआईको पछिल्लो टेक्स्ट टू इमेज जेनेरेटर मोडेल हो ।

केही अगाडिसम्म प्रयोगकर्ताले ड्याल-ई टू मोडेलबाट नि:शुल्क इमेज जेनेरेट गर्न सक्थे । अहिले त त्यसमा नयाँ प्रयोगकर्ताले फोटो पनि तयार पार्न सक्दैनन् । यता च्याटजीपीटी प्लसबाहेक नि:शुल्क भर्सनमा यो काम गर्न सकिँदैन । 

७. शपिङ एसिस्टेन्ट

कोपाइलट इन्टरनेटमा जोडिएकाले यसले वेबमा भएका विभिन्न प्रोडक्टबारे जानकारी दिन सक्छ । त्यसो हुँदा तपाईंले टुललाई आफ्नो शपिङ एसिस्टेन्ट पनि बनाउन सक्नुहुन्छ । जस्तैं: यति बजेट छ, यो यो चाहिएको छ, कुन सामान किनौं भनेर तपाईं सोध्दा कोपाइलटले सम्भावित उत्तर दिन्छ । यसका साथै उत्पादनबारे थप जानकारी दिन त्यसमा लिङ्कहरू दिइएको हुन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख १८, २०८१ १५:२६