close

नेपालमा बसी अन्तर्राष्ट्रिय कल बाइपास गर्ने भारतीय नागरिक पक्राउ

टेकपाना टेकपाना

असार ८, २०७९ १३:१५

नेपालमा बसी अन्तर्राष्ट्रिय कल बाइपास गर्ने भारतीय नागरिक पक्राउ

काठमाडौं । अन्तर्राष्ट्रिय कल बाइपास गरी राजस्व चुहावट गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । भारतको उत्तर प्रदेशका ३८ वर्षीय इरफान सुफियान खानलाई जिल्ला प्रहरी कार्यालय पर्सा तथा साइबर ब्युरोको संयुक्त टोलीले मंगलबार पक्राउ गरेको हो ।

खानले वीरगञ्ज महानगरपालिका-२ स्थित कोठा भाडामा लिई विभिन्न विद्युतीय उपकरण जडान गरी गैरकानूनी ढंगबाट राजस्व चुहावट गर्दै कल बाइपास सेन्टर सञ्चालन गरेकाे प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ ।

यो विषयमा प्राप्त सूचनाका आधारमा खानलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।

खानको कोठामा खानतलासी गर्दा कल बाइपास गर्न प्रयोग हुने ३२ पोर्टको डिनस्टप कम्पनीको भीओआईईपी गेटवे, दुई थान इन्टरनेट राउटर, इन्भर्टर, नेपाल टेलिकमको ४० ओटा सिमकार्ड र एनसेलको ५८ ओटा सिमकार्ड फेला परेको जनाइएको छ । 

त्यसका आधारमा खानलाई नियन्त्रणमा लिई दूरसञ्चार ऐन २०५३ अन्तर्गत कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।   

के हो कल बाइपास ? 

सामान्यतया कल बाइपास भनेको सोझै आउनुपर्ने कललाई बीचमा छिरेर अर्कै बाटोमार्फत पठाउनु हो । सामान्यतया अन्तर्राष्ट्रिय कल नेपाल भित्रिनका लागि तीन पक्ष संलग्न हुने गर्छन् ।

एउटा कल पठाउने संस्था, दोस्रो त्यस्ता संस्थाले पठाएको कल बोकेर पठाउने क्यारियर र तेस्रो दूरसञ्चार सेवा प्रदायक (एनसेल, नेपाल टेलिकम जस्ता कम्पनी) । यो बीचमा गेटवेले एउटा नेटवर्कदेखि अर्को नेटवर्कलाई जोड्ने काम गर्दछ ।

एनसेल, टेलिकम, स्मार्ट लगायतले अन्तर्राष्ट्रिय कल तथा एसएमएस नेपाल भित्र्याउन नेपालमा दूरसञ्चार प्राधिकरणबाट लाइसेन्स पाएका छन् । पठाउने संस्थाबाट नेपालका दूरसञ्चार सेवा प्रदायकको सर्भरमा टर्मिनेट भएर कल तथा एसएमएस आउने प्रक्रियालाई वैधानिक मानिन्छ ।

तर, बीचमा अमुक समूहले नेपाल बाहिरबाट आएको कललाई आफ्नो रुटमा डाइभर्ट अर्थात बाइपास गरि अन्तर्राष्ट्रिय कललाई लोकल कलका रूपमा प्रयोगकर्ताको मोबाइल नम्बरमा पुर्‍याउने काम गरिरहेको छ ।

लोकल नम्बरबाट आएको कल सस्तो हुने भएकाले सेवा प्रदायकले पनि त्यसै अनुसारको शुल्क असुल्ने काम गर्छन् । जस्तै यदि अमेरिकाबाट सोझै एनसेलको सर्भर हुँदै एसएमएस आयो भने कम्पनीले प्रति एसएमएस ७ रुपैयाँ आम्दानी गर्छ ।

तर, बीचमा भीओआईपी (भोइस ओभर इन्टरनेट प्रोटोकल) वा जीओआईपी (जीएसएम ओभर इन्टरनेट प्रोटोकल) अथवा दूरसञ्चार प्रदायकका सीम कार्ड प्रयोग गरेर अवैध बाटोमार्फत बाइपास गरी लोकल नम्बरबाट कल पठाउँदा एक रुपैयाँ रुपैयाँमात्रै आम्दानी हुन्छ । यसरी बीचबाट बाइपास गर्ने व्यक्तिले प्रति कल छ रुपैयाँसम्म आम्दानी गर्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३