close

आईटी कम्पनी चोरी हाम्रो बजारमा बेच्ने लिभिङ टुगेदरमा बस्ने जोडी पक्राउ

टेकपाना टेकपाना

असार १०, २०८० २०:३८

आईटी कम्पनी चोरी हाम्रो बजारमा बेच्ने लिभिङ टुगेदरमा बस्ने जोडी पक्राउ

काठमाडौं । बि.स २०६१ सालमा काठमाडौं घर भएका सुवोध श्रेष्ठ चोरीको आरोपमा पक्राउ परेका थिए । पक्राउ परेका उनीमाथि मुद्दा चल्यो र उनी नौ महिना कारावास बस्नुपर्‍यो । 

कारावासबाट छुटेपछि उनले कम्प्युटर मर्मत पसलमा काम गर्न सुरु गरेका थिए । १० वर्षसम्म कम्प्युटर तथा मोबाइल मर्मतको काम सिकेका श्रेष्ठले २०७२ मा आफ्नै कम्प्युटर तथा मोबाइल मर्मत पसल सञ्चालनमा ल्याए । 

औपचारिक रूपमा कक्षा १२ सम्मको पढाई पुरा गरेका श्रेष्ठ आफ्नै तरिकाले काम गरिरहेका थिए । ‍त्यसपछि उनलाई अस्ट्रेलिया जाने मोह भयो । अस्ट्रेलिया जान मोटो रकम चाहिने भएपछि उनी २०७८ पछि पुन: चोरीमा होमिए । 

२०७८ जेठ २९ गते राति नौ बजेदेखि ११ बजेको बीचमा ललितपुरको मानभवनमा ओम प्रकाश प्रधानले सञ्चालन गरेको ग्लोबल लिङ्क टेक्नोलोजी प्रालिको झ्यालको ग्रील तोडफोड गरिएको अवस्थामा भेटियो। ‍

तोडफोड भएको उक्त कार्यालयबाट नगद काउण्टरको सेफभित्र रहेको विभिन्न दरका नेपाली एक लाख रुपैयाँ बढी र सोही कम्पनीका सीईओको कोठाबाट ३७ हजार रुपैयाँ चोरी भएको थियो । नगदसँगै ल्यापटप समेत उनको कार्यालयबाट गायब भयो । 

त्यसबाहेक पनि विभिन्न सात ओटा आईटी कम्पनीबाट उस्तै प्रकृतिका चोरी भएका घटना जिल्ला प्रहरी परीसर ललितपुरमा दर्ता भएको परिसरका प्रमुख एवम् वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शिद्धीबिक्रम शाहले बताए । 

त्यसपछि प्रहरी सक्रिय भएर सुक्ष्म रूपमा अनुसन्धानमा सक्रिय भयो । अनुसन्धान गर्दै जाँदा जिप्रका ललितपुरबाट खटिएको प्रहरीको विशेष टोलीले काठमाडौं रविभवनमा रहेको सोल्टी सिटी अपार्टमेन्टको आठौं तलामा रहेको TC1/803 नम्बरको कोठामा बस्ने ३९ वर्षीय सुवोध श्रेष्ठ र लैनचौर स्थायी घर भइ श्रेष्ठसँगै बस्ने उनकी प्रेमिका १९ वर्षीया रोशनी महर्जनलाई शुक्रबार पक्राउ गरेको छ । 

उनीहरूको अपार्टमेन्टमा भएका सबै सामाग्री जफत गरिएको शाहले बताए । उनका अनुसार नौ ओटा विभिन्न ब्रान्डका ल्यापटप, फोन र अन्य सामग्री बरामद भएका छन् । 

प्रारम्भिक अनुसन्धानका क्रममा श्रेष्ठ दिनभर आईटी पसलको रेकी गर्ने काम गर्थे भने रातमा चोरी गर्न निस्किने गरेको देखिएको छ । 

प्रहरीलाई झुक्काउनका लागि पठाओ र फोन फेर्ने श्रेष्ठ

प्रहरीका अनुसार श्रेष्ठ कहिल्यै पनि एउटै सिम र फोन दुई पटक प्रयोग गर्दैनथे । सीसीटीभी क्यामेरा र प्रहरीलाई छल्नका लागि उनी आफ्नो हुलियासँगै सिम र फोन पनि बदलिरहन्थे । यसरी चनाखो भएर चोरी गर्दा आफूलाई प्रहरीले नभेट्नेमा श्रेष्ठ विश्वस्त थिए ।

“ऊ प्रहरीले पक्राउ गर्दैन भन्ने कुरामा धेरै विश्वस्त थियो,” शाहले भने, “हामीले उसलाई अपार्टमेन्टमा फेला पार्दा पनि कसरी फेला पार्नु भयो भनेर सोधेको थियो ।” 

आइटीमा पोख्त श्रेष्ठ भरसक आफ्ना प्रमाणहरू लुकाउने प्रयत्न गर्थे । तर, प्रहरीको अनुसन्धानका अघि उनको केही पनि चलेन ।

चोरीमा प्रेमिकाको साथ

१२ कक्षाको पढाई सकेकी रोशनी महर्जन अस्ट्रेलिया जाने प्रलोभनमा श्रेष्ठकी प्रेमिका बनेकी थिइन । प्रायः समय आएल्सको (ILETS) तयारीमा व्यस्त हुने उनी चोरीमा बेलाबखतमा सघाउन पुग्थिन् । 

प्रहरीले पक्राउ गरिसकेपछि बयान लिने क्रममा उनीहरूले अस्ट्रेलिया जानकै लागि चोरीमा संलग्न रहेको कुरा स्वीकार गरेको शाहले बताए ।

उनीहरू विगत छ महिनादेखि ‘लिभिङ’ टुगेदरमा बस्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । पासपोर्ट र अन्य कागजात बरामद भएपछि उनीहरू अस्ट्रेलिया जाने अन्तिम तयारीमा रहेको प्रहरीको निष्कर्ष छ । 

चोरीका सामग्री बिक्री गर्ने थलो 'हाम्रो बजार डटकम'

एसएसपी शाहका अनुसार श्रेष्ठ आफूले चोरी गरेका सामग्री अपार्टमेन्टमा लग्दैनथे । बरु त्यसलाई सस्तो मूल्यमा हाम्रो बजारमा राखेर बिक्री गर्थे । 

यसरी श्रेष्ठले बिक्री गरेका सामग्री पत्ता लागेको अवस्थामा खरिद गर्ने व्यक्ति पनि प्रहरी कार्यालय पुग्नुपर्ने हुन्छ भने उनीहरूले खरिद गरेको डिभाइस जफत हुन्छ ।

 “श्रेष्ठले चोरी गरेका फोन तथा ल्यापटप खरिद गर्ने सबैको सामग्री जफत हुन्छ,” शाह भन्छन्, “कसैले सस्तो दियो भन्दैमा अनलाइनबाट केही नहेरी खरिद गर्नु हुँदैन । खरिद गर्नुअघि आधिकारिक कागजपत्र छ वा छैन जाँच गरेर मात्र खरिद गर्नुपर्छ ।” 

पक्राउ परेका श्रेष्ठ र महर्जनमाथि चोरीको कसुरका साथै अन्य कसुर आकर्षित हुने प्रहरीको भनाइ छ । यी दुईमाथि थप अनुसन्धान गर्न ललितपुर जिल्लाका अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । 

पछिल्लो अध्यावधिक: असार १०, २०८० २०:३८