close

‘रेट्रोफिटिङ’ प्रणालीबाट पेट्रोलियम गाडीलाई यसरी बनाइन्छ इलेक्ट्रिक

टेकपाना टेकपाना

असार १७, २०७९ १२:२१

‘रेट्रोफिटिङ’ प्रणालीबाट पेट्रोलियम गाडीलाई यसरी बनाइन्छ इलेक्ट्रिक

काठमाडौं । जारी रुस-युक्रेनबीचको युद्धका कारण विश्वव्यापी रुपमा नै पेट्रालियम पदार्थको मूल्य वृद्धि भइरहेकाे छ । पटकपटक हुने मूल्य वृद्धिका कारण पछिल्लो समय धेरैले इन्धनयुक्त सवारीको विकल्पमा विद्युतीय सवारी रोज्न थालेका छन् ।

विद्युतीय सवारीले कुनै किसिमको प्रदूषण सिर्जना नगर्ने, एकपटक लगानी गरेपछि पटकपटक खर्च गर्नु नपर्ने, सर्भिसिङ तथा मर्मतको झन्झट नहुनेजस्ता विविध कारणले गर्दा पनि यस किसिमका सवारीको माग बढ्दो छ ।

यसप्रति बढ्दो आकर्षण र मागका कारण नेपाल आयात हुने विद्युतीय सवारीको संख्या पनि बढ्दाे छ । नेपालमा विद्युतीय सवारीको सङ्ख्या वृद्धि हुनु आफैँमा सकारात्मक पक्ष हो ।

तर यस किसिमका सवारी आयात गर्दा बाहिर जाने देशको रकम भने महँगो हुने गरेको छ । यसैमा नेपालमा भएका पुराना र प्रयोगकर्ताले चलाउँदै आएका इन्धनयुक्त सवारीलाई पूर्णरुपमा विद्युतीय सवारीमा रूपान्तरण गर्न ‘रेट्रोफिटिङ’ प्रविधि उपयुक्त विकल्प बन्नसक्छ ।

रेट्रोफिटिङ के हो ? कसरी गरिन्छ ? 

पेट्रोल वा डिजेलबाट चल्दै आएको सवारीलाई पूर्णरुपमा विद्युतीय सवारीमा रूपान्तरण गर्ने प्रक्रियालाई रेट्रोफिटिङ भनिन्छ । यो प्रणालीमा इन्धनयुक्त सवारीमा रहेका विभिन्न कम्पोनेन्ट निकाली विद्युतीय सवारीलाई आवश्यक पार्टपुर्जाको जडान गरिन्छ ।

यो प्रणालीअन्तर्गत पहिलो चरणमा इन्धनयुक्त सवारीको ‘ट्रान्समिसन शाफ्ट’ जस्ता तत्त्वहरू भाँचिएको वा क्र्याक भए/नभएको जाँच गरिन्छ । यसमा कार वा अन्य इन्धनयुक्त सवारीको बाहिरी संरचना राम्रो अवस्थामा भएको सुनिश्चित गरिन्छ ।

दोस्रो चरणमा विद्यमान गाडीलाई विद्युतीयमा रूपान्तरण गर्नका लागि सबै आईसीई इन्जिन सम्बन्धित हार्डवेयर हटाइन्छ ।

इन्धनयुक्त गाडीमा रहने पुरानो इन्जिन, इन्धन ट्याङ्की, रेडिएटर, क्लच लगायतका भागलाई पूर्ण रूपमा निकालिन्छ ।

त्यसपछि, विद्युतीय सवारीको ड्राइभट्रेनलाई चाहिने विद्युतीय उपकरण जस्तै; मोटर, ब्याट्री र कन्ट्रोलरले प्रतिस्थापन गरिन्छ ।

यसमा सवारी प्रयोगकर्ताले आफ्नो आवश्यकताअनुसार विभिन्न क्षमताको ब्याट्री जडान गर्न पनि सक्छन् ।

यो प्रक्रियामा इन्धनयुक्त गाडीमा रहेका सस्पेन्सन, ब्रेक, हेडलाइट आदि जस्ता भागहरू यथावत हुन्छन् भने चार्जर, एसी/डिसी कन्भर्टर, कन्ट्रोलर माउन्ट, ट्रान्समिसन एडप्टर किट लगायतका कम्पोनेन्टहरू राखिएका हुन्छन् ।

प्रयोगकर्ताले यसमा लिड एसिड ब्याट्री, लिथियम आयन ब्याट्री लगायत आवश्यकता र आफ्नो बजेट अनुसार राख्न सक्नेछन् ।

लिड एसिड ब्याट्री लिथियम ब्याट्रीको तुलनामा कम मूल्यमा खरिद गर्न सकिन्छ भने लिथियम ब्याट्रीको आयु लामो हुने गर्दछ । सवारी रूपान्तरण गर्दा प्रयोगकर्ताले आफ्नो गाडी र गाडीको क्षमता अनुसार गर्न सक्नेछन् ।

रेट्रोफिटिङ गर्न लाग्ने लागत र फाइदा 

इन्धनयुक्त सवारीलाई रेट्रोफिटिङ गर्नका लागि त्यति सस्तो भने छैन । तर नयाँ विद्युतीय सवारी खरिद गर्ने खर्चको केही रकम खर्च गरि रेट्रोफिटिङ गर्न भने सकिन्छ ।

सवारी रूपान्तरण गर्दा प्रयोगकर्ताले परिमार्जन गर्ने गाडी, त्यसमा जडान गरिने ब्याट्रीको प्रकार र रेन्जमा खर्च कति लाग्ने भन्ने कुरा निर्भर हुने गर्दछ ।

रेट्रोफिटिङ गरेका सवारीको फाइदाका पक्ष धेरै छन् । यसले वातावरणमा कुनै प्रदूषण नगरी इन्धनमा निर्भर नहुन सहयोग गर्छ । इन्धन खपत घटाएर देशको अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्छ ।

इन्धनयुक्त सवारीलाई पटक-पटक मर्मत तथा सर्भिसिङ गर्न नपर्ने भएकाले खर्च न्यूनीकरण हुन्छ । रेट्रोफिटिङ गर्न सुरुवाती मूल्य महँगो पर्ने भएपनि सवारी नयाँ विद्युतीय सवारी साधन जत्तिकै किफायती र आकर्षक हुने गर्दछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३