close

‘टिकटक आतङ्क’ बढेपछि नेपालका यी धार्मिक स्थलमा भिडिओ खिच्न प्रतिबन्ध

टेकपाना टेकपाना

भदौ १, २०७९ ९:२१

‘टिकटक आतङ्क’ बढेपछि नेपालका यी धार्मिक स्थलमा भिडिओ खिच्न प्रतिबन्ध

काठमाडौं । पछिल्लो समय विश्वभर इन्टरनेट सेवा विस्तार भइरहेकाे छ । इन्टरनेटकाे पहुँच बढ्दा विशेषगरी सामाजिक सञ्जाल प्रयोगकर्ताकाे संख्या तीव्र रूपमा बढिरहेकाे छ ।

एक रिपाेर्टअनुसार नेपालमा पनि कोभिड महामारीपछि टिकटक लगायत अन्य विभिन्न सामाजिक सञ्जाल प्रयोग गर्ने प्रयोगकर्ता बढेका छन् । सामाजिक सञ्जालका तमाम सकारात्मक तथा नकारात्मक पक्ष रहेका छन् ।

यसरी सामाजिक सञ्जालका प्रयोगकर्ताको सङ्ख्या बढेसँगै त्यसले विकराल रूप लिन थालेपछि नेपालका प्रमुख धार्मिक स्थलहरूमा टिकटक भिडिओ बनाउन तथा फोटो खिच्न प्रतिबन्ध नै लगाइएको छ ।

पछिल्लो समय प्रायः धार्मिक स्थानहरूमा ‘नो टिकटक’ वा ‘टिकटक प्रतिबन्ध’ लेखेको साइनबोर्ड देख्न सकिन्छ । कतिपय ठाउँमा ‘छोटो-भिडिओ’ बनाउने टिकटकरलाई टाढा राख्नका लागि सुरक्षा तैनाथ गरिएकाे छ ।

त्यस्तै केही ठाउँमा सीसी क्यामेरा जडान गरिएका छन् भने केही ठाउँमा डोरीले घेरेर टिकटक भिडिओ बनाउन प्रतिबन्ध लगाइएकाे छ ।

केही समयअघि ‘टिकटक आतङ्क’ किसानको बारीमा समेत फैलिएको थियो । कोभिड महामारी सुरु हुँदै गर्दा राजधानीको विभिन्न बाटोमा लगाइएका छाता जसलाई ‘स्ट्रिट अम्रेला’ भनिएको थियो, त्यसमा बनाइएका भिडिओ पनि टिकटकमा भाइरल भए ।

त्यस्ता ठाउँमा टिकटक बनाउन मानिसहरूको भीड बढ्न थालेपछि बन्द गर्नुपर्ने अवस्था आएको थियो ।

कुनै राम्रो ठाउँ टिकटकमा भाइरल भयो भने अरू मानिसहरू गएर त्यो ठाउँमा टिकटक बनाएर ‘आतङ्क’ मच्चाउने प्रवृत्ति माैलाएकाे छ ।

टिकटक, युट्युबजस्ता माध्यमबाट विभिन्न ठाउँको प्रवर्द्धन भएका पनि तमाम उदाहरण छन् । देशको विकट भूगोलमा भएका सुन्दर ठाउँबारे मानिसहरूले जान्ने मौका मिलेका छन् । त्यसका सकारात्मक पक्ष हुँदाहुँदै पनि मानिसहरूले गलत तरिकाले प्रयोग गरिरहेका छन् ।

टेकपानासँग कुरा गर्दै लुम्बिनी विकास कोषका सूचना अधिकृत हरिध्वज राईले भने, “लुम्बिनी एउटा विश्वभरका धर्मावलम्बी दर्शन गर्न आउने ठाउँ हो । टिकटकका माध्यमबाट मानिसहरूले अश्लीलता प्रदर्शन गर्न थाले, पर्यटकलाई डिस्टर्ब गर्न, उनीहरूलाई असहज मसहुस गराउन थालेपछि समितिले टिकटक बनाउन प्रतिबन्ध लगाउने निर्णय लिइएको हो ।”

लुम्बिनीलाई शान्तिको प्रतीक मानिन्छ । त्यहाँ पुगेपछि विभिन्न देशबाट भ्रमणमा आएका पर्यटक एक अर्कासँग बोल्न पनि हिचकिचाउँछन् । कतिपय दर्शनार्थी ध्यान गरिरहेका हुन्छन् ।

टिकटक बनाउनेहरूले ठूलो आवाजमा सङ्गीत बजाएर टिकटक बनाउँदा ध्यान गर्नेहरूको ध्यान भङ्ग हुने गरेको उनले बताए । त्यस्तो ठाउँमा टिकटकरले अश्लीलता फैलाउन थालेपछि टिकटक प्रतिबन्ध लगाउनु परेको राईको भनाइ छ ।

टिकटक बनाउनेले ठूलो आवाजमा सङ्गीत बजाएर नृत्य गर्दा त्यसले बगैँचाको सौन्दर्यता बिगारेको, आगन्तुकलाई असहज महसुस गराएको, त्यस ठाउँप्रतिको महत्त्व घटाएको उनी बताउँछन् ।

यसरी सम्पूर्ण रूपमा नकारात्मक असर परेपछि लुम्बिनी क्षेत्र आसपासमा टिकटक भिडिओ बनाउन प्रतिबन्ध लगाइएको छ ।

लुम्बिनी बाहेक नेपालका प्रमुख धार्मिक स्थलहरू जस्तै काठमाडाैंकाे पशुपतिनाथ मन्दिर, बौद्धनाथ स्तुपा, जनकपुरकाे जानकी मन्दिर, बाराकाे गढिमाई मन्दिर लगायत विभिन्न धार्मिक स्थलमा टिकटक भिडिओ बनाउन राेक लगाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३