तपाईँ हामीले पछिल्ला दिनहरूमा फाइभजी नेटवर्कको बारेमा अनेक कुराहरू सुनिरहेका हुन्छौँ । कतिपय देशमा व्यवसायिक रूपमा नै सञ्चालनमा आइसकेको यो प्रविधिको बारेमा हामी पनि केही हदसम्म जानकार भइसकेका छौँ ।
तर सन् २०३० तिरबाट आउने सिक्सजी नेटवर्क कस्तो हुन्छ होला ? फाइभजीमा अपुग भएका कुनकुन प्राविधिक क्षमता सिक्सजीसँगै आउलान् त ? यस्तै विषयमा यहाँ चर्चा गरिने छ ।
सिक्सजी नेटवर्कको क्षमता
फाइभजीका उपभोक्ताले एक सय मेगाबिट प्रति सेकेन्ड (एमबीपीएस) देखि एक गिगाबिट प्रति सेकेन्ड (एक जीबीपीएस) सम्मको डेटा स्पिड अनुभव गर्न सक्छन् । सिक्सजीमा भने फाइभजीभन्दा दश गुणा बढी अर्थात् १० जीबीपीएससम्मको डेटा स्पिड अनुभव गर्न पाइने छ ।
त्यस्तै फाइभजी लिङ्कमा रहेको १० मिलिसेकेन्डको लेटेन्सी घटेर सिक्सजीमा एक मिलिसेकेन्डमा सीमित हुने छ । यसरी उच्च गति र न्यून लेटेन्सी भएको नेटवर्कबाट धेरै ठूलो परिमाणका डेटा (जस्तै स्वचालित कारका सेन्सरले उत्पादन गर्ने सबै डेटा) लाई नेटवर्कमा रहेका सर्भरमा रियल टाइममा पठाउन सकिन्छ र सो डेटालाई प्रशोधन गरी नेटवर्कको सहयोगमा कारलाई मानव चालक विना नै सुरक्षित तरिकाले चलाउन सकिने छ ।
सिक्सजीमा फाइभजीको तुलानामा डिभाइस डेन्सिटी पनि १० गुणा बढी हुने छ, अर्थात् फाइभजीले एक वर्ग किलोमिटरको क्षेत्रफलमा १० लाख ओटा डिभाइसलाई नेटकर्कमा जोड्न सक्छ भने सिक्सजीमा एक करोड ओटा डिभाइसलाई नेटवर्कमा जोड्न सकिन्छ ।
फाइभजीभन्दा सिक्सजीमा लोकलाइजेसन अर्थात् नेटवर्कमा जोडिएका डिभाइस कुन स्थानमा अवस्थित छन् भनी यकिन गर्ने क्षमता पनि फाइभजीको भन्दा सिक्सजीमा ३० गुणा बढी हुनेछ । एक सेन्टिमिटर प्लस माइनसको ग्रानुलारिटीमा डिभाइसको अवस्थिति यकिन गर्न सकिने छ ।
अर्को सुधारको विषय भनेको इनर्जी इफिसेन्सी हो । हाल सूचना तथा सञ्चारसम्बन्धी उपकरणले संसारको ५ देखि १० प्रतिशतसम्म विद्युत खपत गर्ने गरेको तथ्याङ्क छ । डेटा स्पिड बढ्दै जाँदा र अन्य धेरै प्रकारका उपकरणहरू नेटवर्कमा जोडिँदै जाँदा सन् २०३० सम्ममा विद्युत खपतको मात्रा दुई गुणा बढ्ने प्रक्षेपण गरिएको छ ।
यसको अर्थ कूल ऊर्जा खपतमध्ये १० देखि २० प्रतिशत ऊर्जा सूचना तथा सञ्चारको क्षेत्रमा खपत हुने अनुमान छ । त्यसैले सूचना तथा सञ्चार प्रविधिलाई सुधार गरेर फाइभजीबाट सिक्सजीमा जाँदा इनर्जी इफिसेन्सी तीन सय गुणासम्म बढाइने छ ।
सिक्सजी नेटवर्कमा निम्न अनुसारका कार्यात्मक क्षमता (अर्थात् फङ्सनल क्यापेबिलिटिज) रहने लक्ष्य राखिएको छ।
कनेक्टिङ इन्टेलिजेन्स
सिक्सजी नेटवर्कले स्मार्ट फोन, ट्याब्लेट वा कम्प्युटरलाई मात्र जोड्ने होइन कि आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको व्यापक प्रयोगद्वारा इन्टेलिजेन्ट व्यवहार प्रदर्शन गरी मानव जस्तै इन्टेलिजेन्ट कार्य गर्न सक्ने उपकरणहरू (जस्तै रोबोट) र सफ्टवेयर प्रोग्रामहरूलाई पनि जोड्ने छ ।
यो कनेक्टिङ इन्टेलिजेन्समार्फत भौतिक संसार (अर्थात् फिजिकल वर्ल्ड) मा रहेका हामी मानिस, उपकरण आदिलाई साइबर विश्वमा राखिएका विभिन्न खालका इन्टेलिजेन्ट सफ्टवेयर टूलसँग जोडिने छ । मानिस, मसिन जस्ता भौतिक वस्तुसम्बन्धी विभिन्न खालका डेटा फिजिकल वर्ल्डबाट नेटवर्कका माध्यमबाट साइबर विश्वमा भण्डारण गरी ती भौतिक वस्तु तथा तिनका क्रियाकलापलाई साइबर वर्ल्डमा विस्तृत रूपमा प्रतिनिधित्व गर्नसक्ने डिजिटल ट्वीन सिस्टम निर्माण गर्न सकिने छ ।
डिजिटल ट्वीन सिस्टमको प्रयोगबाट हामी मानिस र हाम्रा वरपर रहेका वस्तुका हेरक आनीबानी, गतिविधिका बारेमा विस्तारमा बुझ्नका साथै भविष्यको व्यवहारका बारेमा पनि पूर्वानुमान लगाउन सकिने छ ।
प्रोग्रामेबल नेटवर्क
सिक्सजी नेटवर्क एक ठाउँको सर्भरबाट अर्को ठाउँको क्लाइन्टसम्म डेटा आदान प्रदान गर्ने डम्मी पाइपका रूपमा मात्र काम गर्ने नेटवर्क नभएर नेटवर्कका हरेक फङ्सनलाई सफ्टवेयर प्रोग्राममार्फत अप्टिमाइज गर्न सकिने प्रोग्रामेबल इन्टेलिजेन्ट नेटवर्क हुनेछ ।
नेटवर्क सेवा प्रोभिजनिङ, सञ्चालन तथा व्यवस्थापन कार्यलाई सरल एवं स्वचालित बनाउन आर्टिफिसियल इन्टेलिजेन्स तथा मसिन लर्निङ प्रोग्रामको व्यापक प्रयोग गरिने छ । त्यसका लागि नेटवर्क फङ्सन भर्चुअलाइजेसन (NFV) तथा सफ्टवेयर-डिफाइन्ड नेटवर्किङ (SDN) प्रविधिमाथि इन्टेलिजेन्ट नेटवर्क कन्ट्रोल प्रणालीको प्रयोग व्यापक गरिने छ ।
नेटवर्क ‘प्रोग्रामेबल’ (कम्प्युटर प्रोग्रामको रूपमा) भइसकेपछि त्यसको एउटा फाइदा भनेको नेटवर्कलाई स्वचालित तरिकाले नियन्त्रण र व्यवस्थापन गर्न सकिन्छ । कम्प्युटरमा जस्तै नेटवर्क सेवा प्रदान गर्नका लागि जडित उपकरणमा सो नेटवर्क व्यवस्थापकले आवश्यक परेको बेला सबै प्रकारका सफ्टवेयर इन्स्टल गरी प्रोग्रामबाट कन्ट्रोल गर्न सकिने प्रावधान भइसकेपछि नेटवर्कलाई टाढाबाट समेत अनुगमन, नियन्त्रण तथा रिकन्फिग्रेसन गर्न सकिन्छ ।
उदाहरणका लागि अहिले ‘नेटवर्क फङ्सन भर्चुअलाइजेसन’-एनएफभी (NFV) अवधारणामा धेरैजसो नेटवर्क सिस्टम विकास भइरहेका छन् । एनएफभी भनेको हामीले कम्प्युटरमा भर्चुअल मसिन बनाएजस्तै नेटवर्कका उपकरणमा समेत त्यस्तै अनेकौँ भर्चुअल मसिन अथवा कन्टेनर बनाएर त्यसमा नेटवर्कका फङ्सन (जस्तै राउटिङ, सेक्युरिटी, क्याशिङ, ट्रान्सकोडिङ, अथेन्टिकेसन आदि) इन्स्टल तथा डिप्लोय गर्न सकिन्छ ।
ती सफ्टवेयर फङ्सनलाई टाढाबाट प्रोग्रामको माध्यमबाट अनुगमन र नियन्त्रण गर्न सकिन्छ । ती फङ्सनले हामीले सोचेअनुरूप काम गरिरहेका छन् कि छैनन्, कति समय लगाएर काम गरिरहेका छन्, तिनका लागि छुट्याइएको भर्चुअल रिसोर्स (जस्तै सीपीयू, मेमोरी, स्टोरेज तथा ब्याण्डविड्थ) पर्याप्त छ कि छैन भनी सजिलै मनिटर गर्न सक्छौँ ।
यदि अपुग छ भने प्रोग्रामकै माध्यमबाट आवश्यक रिसोर्स स्वचालित तरिकाले थप गर्न सकिन्छ । कतिपयले त यसलाई ‘जेरो टच कन्फिग्रेसन’ समेत भन्ने गरेका छन् । सबै कुराको मनिटर कम्प्युटर प्रोग्रामले नै गरेर रिसोर्स उपयोगका बारेमा विस्तारमा विश्लेषण गरी, रिसोर्स अपुग भएमा थप गर्ने र अनावश्यक रूपमा धेरै भए त्यसलाई झिकेर स्ट्यान्डबाई मोडमा राखी ऊर्जा खपत कम गर्न सकिन्छ ।
विश्वासिलो र गुणस्तरीय सेवा अर्थात् डिटर्मिनिस्टिक सेवा
अहिलेको इन्टरनेट सेवा ‘बेस्ट-एफोर्ट’ सेवा हो । अर्थात् ग्यारेन्टेड क्वालिटीको सेवा होइन। ‘बेस्ट-एफोर्ट’ सेवा मात्र प्रदान गर्नसक्ने नेटवर्कबाट मिसन क्रिटिकल एप्लिकेसनहरू (जस्तै स्वचालित कार, कलकारखानामा रहेका मसिनको अटोमेटिक कन्ट्रोल) चलाउन सकिँदैन ।
सिक्सजी नेटवर्कमा डिटर्मिनिस्टिक गुणस्तरको सूचना सञ्चार सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ । प्रोग्रामेबल नेटवर्कका बोटलनेक पोइन्टहरूलाई समयमै पहिचान गरी सफ्टवेयरमार्फत त्यहाँ आवश्यक पर्ने कम्प्युटिङ तथा नेटवर्क रिसोर्स (जस्तै CPU, memory, storage, bandwidth) पर्याप्त मात्रमा प्रोभिजनिङ गर्न सकिन्छ ।
प्रोग्रामेबल नेटवर्कलाई डाइनामिक कन्ट्रोल गर्ने यो क्षमताको विकास भएपछि सेवाको गुणस्तर भरपर्दो र विश्वासिलो हुने छ । जसले गर्दा अधिकतम डेटा स्पिड तथा न्यूनतम लेटेन्सीको ग्यारेन्टी गर्न सकिने छ ।
इन्टिग्रेटेड सेन्सिङ
सिक्सजी नेटवर्कले ‘कम्युनिकेसन’ (सञ्चार) सेवा प्रदान गर्नुका साथै सूक्ष्म तरिकाले वातावरण सेन्सिङ गर्नसक्ने लक्ष्य राखिएको छ । सिक्सजीमा प्रयोग गरिने रेडियो तरङ्गले सञ्चारको मात्र काम नगरेर हरेक वस्तुलाई ‘एक्युरेट लोकेट’ (स्थान यकिन गर्ने काम) गरी तिनको वरपरको वातावरणलाई हाई रेजोलुसनमा सेन्स गरेर उपयोगी सूचना संकलन गर्ने छ ।
उदाहरणका लागि ठूला सहरका कुन ठाउँमा दैनिक कति मानिस कहाँ कहाँबाट आउँछन्, ती मानिसको आवतजावतको गति तथा दिशा कस्तो हुन्छ, कति समय कहाँ गुजार्दा रहेछन् भन्ने जानकारी सामान्यतः अहिलेका सञ्चार नेटवर्कबाटै प्राप्त गर्न सकिन्छ।
सिक्सजीमा प्रयोग हुने रेडियो तरङ्गका माध्यमबाट वा अन्य उपायबाट वातावरणका बारेमा अझै बढी जानकारी संकलन गर्न सकिने छ । हरियालीको मात्रामा हुने परिवर्तन, वायुको तापक्रम र प्रदूषणको मात्रालाई नियमित मापन गर्न सकिने छ ।
उदाहरणका लागि कुनै बिल्डिङको ‘एयर कन्डिसन’ प्रणालीबाट बाहिर फालिएको तातो हावाले त्यस वरपरको तापक्रममा समयानुसार पारेको असरका बारेमा विस्तारमा विश्लेषण गर्ने काममा यो सहयोगी हुनेछ।
विश्वसनीय सेवा
सिक्सजीमा सेवाको विश्वसनीयता पनि अत्यन्त राम्रो हुने लक्ष्य राखिएको छ । सिक्सजी नेटवर्कमा हाम्रा दैनिक जीवनका हरेक क्रियाकलाप तथा हामीले प्रयोग गर्ने अधिकांश उपकरण तथा मसिनहरू जोडिने भएकाले यसको सेवा अत्यन्त विश्वासिलो हुनुपर्छ ।
हाम्रो घरमा दैनिक प्रयोग गरिने विद्युतीय उपकरणहरू जस्तै फ्रिज, एयर कन्डिसन, विजुली बत्ती तथा घरको ताला खोल्ने, बन्द गर्ने जस्ता व्यक्तिगत सुरक्षाका कामहरू पनि नेटवर्कमा जोडिने छन् । हाम्रा घरभित्रका सामग्रीहरूलाई हामी नेटवर्कमार्फत बाहिरैबाट नियन्त्रण गर्न सक्ने छौं ।
यसका लागि नेटवर्क कनेक्टिभिटी र नेटवर्क सर्भिसको विश्वसनीयता अति नै उच्च हुनुपर्छ । हाम्रो व्यक्तिगत विवरण तथा हाम्रा गतिविधि बारेका डेटालाई विश्वासिलो तरिकाले भण्डारण तथा अनधिकृत व्यक्तिको पहुँचमा पुग्न नदिने खालको भरपर्दो सेक्युरिटी प्रणाली सिक्सजी नेटवर्कको डिजाइनबाट नै छुटाइने छैन ।
सर्वसुलभ मूल्य
यसो हेर्दा सिक्सजी नेटवर्क सेवा हाईफाई जस्तो लाग्न सक्छ । यो हाईफाई वा विलासिताको महँगो सेवा होला भन्ने लाग्नु स्वभाविक पनि हो । तर सिक्सजी नेटवर्क सेवा सर्वसुलभ मूल्यमा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
सर्वसुलभ मूल्यमा गाउँ, सहर, पहाड, तराई, मरुभूमि, समुन्द्र, विकसित, अविकसित सबै क्षेत्रका सबै समुदायले उपयोग गर्न सक्ने किसिमको हुनुपर्छ भन्ने मान्यता यसमा रहेको छ ।
डिजिटल डिभाइड कम गर्ने
पाइभजी प्रविधिसम्मका नेटवर्कहरू विशेषतः सहरकेन्द्रित नेटवर्क हुन् । सहरमा हाई स्पिड डेटा सेवा प्रदान गर्न सकिए पनि ग्रामीण क्षेत्रमा भने अहिलेका सेलुलर नेटवर्कका सेवाप्रदायकहरू जान चाहँदैनन् । किन भने त्यहाँ प्रति प्रयोगकर्ताबाट हुने आम्दानी थोरै हुन्छ । दुर्गम तथा विकट ठाउँहरूमा सञ्चारका उपकरण जस्तै बेस स्टेसन र डेटा सर्भरहरू राख्दा खर्च पनि बढी हुन्छ ।
सिक्सजीमा स्याटलाइट प्रविधिलाई मोबाइल सेलुलर नेटवर्कमा जोडेर ग्रामीण, विकट क्षेत्रमा पनि उच्च गुणस्तरीय सञ्चार सुविधा पुर्याउने लक्ष्य राखिएको छ । त्यसका लागि भू-सतही नेटवर्क (Terrestrial networks) पूर्वाधारमा आकाशमा राखिएका स्याटलाइट नेटवर्क (Non-terrestrial network) पूर्वाधार जोडिने छन् । यसो गरिएमा गाउँ-सहर, सुगम-दुर्गम सबै तिर उस्तै उच्च गुणस्तरको सूचना सञ्चार सेवा पुर्याएर डिजिटल डिभाइडलाई घटाउन सकिने छ ।
सिक्सजी नेटवर्कमा व्यापक प्रयोग गरिने तीन प्रविधिका बारेमा तल चर्चा गरिन्छ।
स्याटलाइट नेटवर्क
स्याटलाइट नेटवर्कलाई मोबाइल नेटवर्कसँग कसरी जोड्ने भन्ने कुरा अहिले मूल चर्चाको विषय भएको छ । हाल स्याटलाइटको छुट्टै नेटवर्क छ । तर आगामी दिनमा यसलाई सेलुलर नेटवर्कमा जोडेर सेलुलर नेटवर्कका बेस स्टेसन नभएका ग्रामीण, विकट ठाउँहरूमा रहेका साधारण मोबाइल फोन उपभोक्ताहरूले पनि सिधै स्याटलाइट नेटवर्कमा जोडिएर गुणस्तरीय सञ्चार सुविधा उपयोग गर्न पाउने छन् ।
त्यसका लागि बजारमा आउने सामान्य स्मार्टफोनहरू पनि स्याटलाइट नेटवर्कमा जोडिन सक्ने क्षमताका हुने छन् । यस्ता मोबाइल सेट बोकेका उपभोक्ता काठमाडौंमा रहँदा सेलुलर नेटवर्कमा जोडिने छन् भने सेलुलर नेटवर्कको कभरेज नभएका वा सेलुलर सिग्नल कमजोर भएका पहाडी भूभागमा जाँदा स्याटलाइटको सिग्नल समात्ने छन् र निरन्तर सञ्चार सम्पर्कमा रहने छन् ।
अब स्याटलाइट प्रणालीको पृष्ठभूमिका बारेमा केही चर्चा गरौं ।
अहिलेको मोबाइल नेटवर्क पृथ्वीको सतहमा भएको हुनाले यसलाई टेरेस्टोरियल नेटवर्क भन्ने गरिन्छ । माथि स्पेस अर्थात आकाश (अन्तरिक्ष) मा हुने स्याटलाइटको नेटवर्कलाई नन्-टेरेस्टोरियल नेटवर्क (NTN) भनिन्छ । स्याटलाइट पनि तीन तहमा राखिएका हुन्छन् ।
सबैभन्दा माथिल्लो तह ३६ हजार किलोमिटर जतिको उचाइमा रहेका ‘जिओ स्टेसनरी अर्थ अर्बिट’मा पृथ्वीलाई परिक्रमा गर्ने जिओ (GEO) स्याटलाइट हुन्छन् । यी स्याटलाइटको एउटा गुण भनेको पृथ्वीबाट हेर्दा यिनीहरू सधैँ एउटै ठाउँमा रहेको जस्तो देखिन्छन् । दूरसञ्चार तथा टेलिभिजन प्रसारणका लागि जिओ स्याटलाइटको प्रयोग गरिँदै आइएको छ । जिओ स्याटलाइटहरूले पृथ्वीको सतहबाट गएको सिग्नल (ठूला एन्टेनाबाट जाने सिग्नल) लाई प्राप्त गरेर अर्कोतिर ‘रिले’ (छोड्ने वा प्रसारण) गर्ने काम गर्दछन् ।
त्यसभन्दा मुनी दुई हजार किलोमिटरको उचाइमा रहने स्याटलाइटलाई मिडल अर्थ अर्बिट स्याटलाइट अर्थात् मिओ (MEO) स्याटलाइट भनिन्छ । जीपीएस सेवा यिनै मिओ स्याटलाइटले प्रदान गर्दै आएका छन् । सबैभन्दा तल अर्थात् पृथ्वीबाट १६० किलोमिटरदेखि २००० किलोमिटरसम्मको उचाइमा रहेका स्याटलाइटलाई ‘लो अर्थ अर्बिट स्याटलाइट’ अर्थात् लिओ (LEO) स्याटलाइट भनिन्छ ।
लिओ स्याटलाइटले पृथ्वीलाई परिक्रमा गर्ने गति पृथ्वीको घुम्ने गतिभन्दा कयौँ गुणा बढी हुने भएकाले यी स्याटलाइटहरू पृथ्वीबाट सधैँ एकै ठाउँमा देखिदैनन्। त्यसैले पृथ्वीमा निरन्तर सञ्चार सेवा प्रदान गर्नका लागि अनेकौँ लिओ स्याटलाइटलाई समूहगत (स्याटलाइट कन्स्टेलेसन) रूपमा राख्न आवश्यक पर्छ । कुनै एउटा स्याटलाइट हामी माथिको स्थानबाट बाहिरिने बित्तिकै त्यो ठाउँमा अर्को स्याटलाइट आइपुग्छ ।
वनवेब, स्पेसएक्स स्टारलिङ्क, अमेजन कुपर, टेलिस्याट जस्ता कम्पनीहरूले अहिले लिओ स्याटलाइटहरू सयौँ, हजारौं सङ्ख्यामा प्रक्षेपण गरिरहेका छन् । लिओ स्याटलाइट कन्स्टेलेसन पृथ्वीबाट नजिकै हुने भएकाले धेरै शक्तिशाली सिग्नल पठाउनु नपर्ने भएको हुनाले हाम्रो साधारण स्मार्टफोनहरू पनि त्यस्ता स्याटलाइटसँग सजिलै जोडिन सक्ने छन् ।
लेओ स्याटलाइट कन्स्टेलेसनलाई टेरेस्ट्रोरियल नेटवर्क अर्थात सेलुलर नेटवर्कमा जोडेर दुर्गम क्षेत्रमा पनि गुणस्तरीय सञ्चार सेवाको कभरेज पुर्याउने परिकल्पना गरिएको छ । स्याटलाइटलाई पनि सेलुलर नेटवर्क कन्ट्रोल प्रणालीमा जोड्ने प्रविधिको विकास सिक्सजीमा अनिवार्य गरिने भएको छ ।
स्याटलाइटलाई सेलुलर प्रणालीमा जोडेर बेस स्टेसनको सिग्नल कमजोर हुने बित्तिकै स्याटलाइट सिग्नलमा ह्यान्डओभर हुनसक्ने प्रविधिको विकास गरिँदा विपद् (जस्तै भूकम्प, बाढी, पहिरो) ले भू-सतही संरचनामा क्षति पुर्याएको बेलामा पनि स्याटलाइटका माध्यमबाट दूरसञ्चार सेवा कायम राख्न सकिन्छ । विपद् जोखिम न्यूनीकरण तथा उद्धार कार्यलाई प्रभावकारी तरिकाले सञ्चालन गर्न सकिन्छ ।
स्याटलाइटका अतिरिक्त ‘हाई अल्टिच्युड प्लेटफर्म स्टेसन’-ह्याप्स (HAPS) नामक अर्को प्रणालीको पनि विकास गरिँदै छ । ह्याप्स भनेको बेलुन जस्ता आकाशमा अडिन सक्ने सञ्चार सुविधा जोडिएका कम्प्युटर प्रणाली हुन् । भर्खरै नेपालमा पनि ह्याप्स परीक्षण गर्न थालेको समाचार आइरहेका छन् ।
लिओ स्याटलाइट जस्तै ह्याप्सहरूलाई पनि सेलुलर बेसस्टेसनका रूपमा प्रयोग गर्ने प्रविधिको विकास भइरहेको छ । जापान लगायत संसारका धेरै देशका टेलिकम सेवाप्रदायक कम्पनीले ह्याप्स प्रणालीमा निकै लगानी गरिरहेका छन् । यसरी स्याटलाइट र ह्याप्स निकट भविष्यमै दूरसञ्चारको मूल धारमा जोडिने अपेक्षा राखिएको छ । त्यसलाई सिक्सजीले सम्भव तुल्याउने छ ।
इन्फरमेसन सेन्ट्रिक नेटवर्क (ICN)
अहिलेको नेटवर्कमा डेटा आदानप्रदान गर्ने पद्धति ‘सर्भर-क्लाइन्ट मोडेल’मा आधारित छ । यसमा क्लाइन्ट भनेका हामी उपभोक्ता हौँ , जोसँग कम्प्युटर तथा स्मार्ट मोबाइल डिभाइसहरू हुन्छन् र सर्भर चाहिँ निकै टाढा (स्वदेश तथा विदेशमा) रहेका हुन्छन् ।
क्लाइन्ट डिभाइसलाई सर्भरसँग कनेक्ट गरेर हामीले डेटा डाउनलोड गरिरहेका हुन्छौँ । हामीलाई चाहिने मुख्य वस्तु भनेको डेटा, इन्फरमेसन वा कन्टेन्ट हो । जुन जहाँबाट उपलब्ध भए पनि हुन्छ तर सर्भर-क्लाइन्ट तथा होस्ट-सेन्ट्रिक अहिलेको इन्टरनेट प्रणालीमा डेटा डाउनलोड गर्न तोकिएको सर्भरसँग कनेक्ट हुनै पर्छ ।
अहिलेका धेरै जसो एप्लिकेसनमा कन्टेन्ट उपभोक्ताले नै सिर्जना गरेका हुन्छन् (जस्तै फेसबुक तथा इन्स्टाग्राम पोस्ट, टिकटक तथा युट्युब भिडिओ) र ती कन्टेन्टको खपत पनि स्थानीय स्तरमै हुन्छ। उदाहरणका लागि टिकटक भिडिओलाई लिएर हेरौँ । टिकटक भिडिओ स्थानीय स्तरमै तपाईँ हाम्रा फ्रेन्ड लिस्टमा भएका वा फलो गरेका साथीहरूले तयार पारिरहेका हुन्छन् ।
तर त्यो कन्टेन्टलाई टाढाको टिकटकको सर्भरमा लगेर राखिएको हुन्छ । यही अभ्यास फेसबुक, युट्युब जस्ता अन्य एप्लिकेसनमा समेत गरिएको छ । यस्तोमा तपाईँसँग एकै गाउँ, एकै सहर वा एकै देशमा बस्ने तपाईँका साथीहरूले तपाईँको भिडिओ हेर्नु पर्यो भने टाढाको सर्भरसम्म गएर कन्टेन्ट डाउनलोड गर्नुपर्ने हुन्छ ।
यसको अर्थ टाढा भएको सर्भरमा भिडिओ अपलोड र डाउनलोड गर्दा समय पनि धेरै लाग्छ र नेटवर्कको ब्यान्डविथ पनि धेरै नै खपत हुन्छ । यसरी अनावश्यक रूपमा समय र पैसाको खर्च भइरहेको हुन्छ । साथै ब्याण्डविड्थको कमी भएको बेला वा नेटवर्क व्यस्त भएको बेलामा सेवाको गुणस्तर न्यून हुन जान्छ ।
यो समस्याबाट मुक्ति पाउन अहिले कन्टेन्ट ‘डिस्ट्रिब्युसन नेटवर्क-सीडीएन’ (CDN) सर्भर स्थानीय स्तरमा राख्ने चलन आइसकेको छ । नेपाल तथा छिमेकी भारतमा टिकटक, युट्युब आदिका कन्टेन्ट क्याश सर्भरहरू तिनै एप्लिकेसन प्रदायक कम्पनीहरूले राखिदिएका पनि हुन सक्छन् ।
तर स्थानीय स्तरमा खपत हुने कन्टेन्ट उपभोक्ता नजिकको नेटवर्कमा आफै क्याश भएर रहन सक्ने प्रविधिको विकास भने अझै भइसकेको छैन। अर्थात् उपभोक्ताले धेरै प्रयोग गर्ने कन्टेन्ट अटोमेटिकली आफ्नो नेटवर्कमा क्याश भएर रहने प्रविधिको प्रयोग नेटवर्क सेवाप्रदायक कम्पनीले गर्न सकेका छैनन् ।
यो समस्या समाधान गर्न ‘इन्फरमेसन-सेन्ट्रिक नेटवर्किङ-आईसीएन’ (ICN) नामक नयाँ नेटवर्क आर्किटेक्चर विकास हुँदैछ । यो अवधारणमा उपभोक्ताले आफूलाई चाहिने कन्टेन्टको नाम लेखेर नेटवर्कमा रिक्वेस्ट पठाउँदा नेटवर्कले त्यो कन्टेन्ट सकेसम्म नजिकबाट खोजेर उपभोक्ता समक्ष पठाउँछ ।
यसरी पठाउने क्रममा कन्टेन्टलाई नेटवर्कमा यत्रतत्र क्षणिक रूपमा भण्डारण अर्थात् क्याश गरेर राखिएको हुन्छ । सर्भरबाट कसैले डाउनलोड गरिरहेको कन्टेन्ट यदि त्यसको लोकप्रियता धेरै नै उच्च छ भने त्यो स्थानीय नेटवर्क (राउटर, एक्सेस प्वाइन्ट वा नेटवर्कमा जोडिएको सर्भर आदि) मा स्वतः क्याश भएर बस्ने गर्दछ ।
यस्तो कन्टेन्टका लागि त्यही नेटवर्कमा भएका अन्य उपभोक्ताहरूले रिक्वेस्ट पठाउँदा कन्टेन्ट डाउनलोड गर्न मुख्य सर्भरसम्म पुगिरहनु पर्दैन । स्थानीय स्तरमा उपलब्ध क्याश कपी उपभोक्तालाई तुरुन्त पठाउन सकिन्छ । यसर्थ नेपालभित्र नै धेरै खपत हुने नेपालभित्रै सिर्जना भएको कन्टेन्टलाई नेपालभित्रैका नेटवर्कमा क्याश गरेर राख्न सकिन्छ ।
यसो गर्दा इन्टरनेटको अपस्ट्रिम ब्यान्डविथ (अन्तर्राष्ट्रिय ब्यान्डविथ) खपत कम हुन्छ र इन्टरनेट ब्याकबोन सेवा प्रदायकलाई तिर्नुपर्ने विदेशी मुद्रा बचत हुन जान्छ । साथै हामीलाई चाहिएको कन्टेन्ट तथा डेटा समेत एकदमै चाँडो उपलब्ध हुने भएकाले उच्च गुणस्तरको सेवा अनुभव गर्न सकिन्छ ।
इन्फरमेसन-सेन्ट्रिक नेटवर्किङका फाइदाका बारेमा बुझ्न टिकटकको उदाहरण सान्दर्भिक हुनसक्छ। टिकटक सुरुमा नेपाल आउँदा स्थानीयस्तरमा कन्टेन्ट सर्भर नभएकोले गर्दा समस्या भएको थियो । हाम्रा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको अपस्ट्रिम ब्यान्डविथको खपत ह्वात्तै बढेर समस्यामा परेपछि ती कम्पनीहरूले सार्वजनिक रूपमै गुनासो गरेका थिए ।
धेरै प्रयोगकर्ताले टिकटक प्रयोग गर्दा सबै जनाले विदेशमा रहेको टिकटक सर्भरमा एकै पटक जोडिनु पर्ने भएपछि ब्यान्डविथ नपुग भएर सेवाको गुणस्तर पनि सन्तोषजनक नभएको गुनासो थियो । यस किसिमको समस्या ‘इन्फरमेसन सेन्ट्रिक नेटवर्क’ मा हुँदैन । यो प्रविधि सिक्सजीमा सर्वसुलभ तरिकाले उपलब्ध हुने अपेक्षा गरिएको छ ।
—————————————-
लेखक डा. काफ्ले हाल जापानको टोकियो स्थित नेसनल इन्स्टिच्युट अफ इन्फरमेसन एण्ड कम्युनिकेसन्स टेक्नोलोजी (NICT) मा रिसर्च म्यानेजर तथा युनिभर्सिटी अफ इलेक्ट्रो कम्युनिकेसन्स (UEC) मा अतिथि प्राध्यापक पदमा कार्यरत छन् । नेपालमा सूचना सञ्चार प्रविधि विकासका बारेमा विशेष अभिरुचि राख्ने उनी सोसम्बन्धी नेपाल-जापान सहकार्य परियोजनाहरूमा पनि संलग्न छन् ।