close

आईफोन १४ मा आएको ‘डाइनामिक आइसल्यान्ड’ फिचर के हो ?

टेकपाना टेकपाना

भदौ २९, २०७९ १०:१७

आईफोन १४ मा आएको ‘डाइनामिक आइसल्यान्ड’ फिचर के हो ?

काठमाडौं । एप्पलले आईफोन १४ का प्रो मोडेलहरूमा ‘डाइनामिक आइसल्यान्ड’ फिचर समावेश गरेको छ । कम्पनीले सार्वजनिक गरेका आकर्षक फिचरमध्ये याे पनि एक हो ।

एप्पलले आईफोन एक्सपछि आफ्नो फोनमा नच समावेश गर्न सुरु गरेको थियो । नच भन्नाले डिस्प्लेमा क्यामेरा, स्पिकर, प्रोक्सिमिटी सेन्सर समावेश हुने भाग हो ।

त्यहाँ समावेश भएको ‘नच’ले डिस्प्लेको भाग ओगटेको हुन्छ, जसमा स्क्रिनमा देखिने कुनै पनि कुरा हुँदैनन् ।

एप्पलले आईफोन १४ को प्रो मोडेलमा ‘नच’लाई विस्थापित गरेर त्यसको ठाउँमा ‘डाइनामिक आइसल्यान्ड’ नाम दिएको छ ।

एन्ड्रोइड फोनमा जसरी सेल्फी क्यामेराको भागबाहेक अन्य भागमा स्क्रिनको सामग्री देखिन्छ, आईफोन १४ को प्रो मोडेलमा पनि त्यस्तै भाग समावेश गरिएको छ ।

तर, उक्त भाग पिल (औषधिको क्याप्सुल) आकारको रहेको छ ।

यदि फोनमा कुनै नोटिफिकेसन आएको खण्डमा उक्त नच बढेर ठूलो हुन्छ । भन्नुको अर्थ बढेको ‘नच’को आकारमा नोटिफिकेसन देखिन्छ ।

यस डाइनामिक आइसल्यान्डलाई विभिन्न प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ ।

एप्पलले गत सेप्टेमबर ७ मा आयोजना गरेको ‘फार आउट’ कार्यक्रममा डाइनामिक आइसल्यान्डले कसरी काम गर्छ भन्ने कुरा देखाएको थियो ।

एक हिसाबले यसलाई मल्टी-टास्किङ शर्टकटका रूपमा पनि परिभाषित गरिएको छ । म्युजिक बजेको, म्यापको दिशा देखिएको, अडियो रेकर्ड हुन लागेको, कल आए/गएको, लगायत अन्य थुप्रै कामका लागि याे फिचर प्रयोग गर्न सकिन्छ ।

के पहिलेको नचभन्दा डाइनामिक आइसल्यान्ड उपयुक्त छ ?

यसो त डाइनामिक आइसल्यान्ड उपयुक्त वा नच उपयुक्त भन्ने कुरा यकिन गर्ने नसकिने विषय हो । किनभने कसलाई कुन पक्ष चित्त बुझ्छ भन्ने मान्छेपिच्छे फरक हुन्छ ।

तर, केही फिचरहरू र त्यसले पार्ने प्रभावलाई लिएर कुन उपयुक्त हुन्छ भन्ने कुरा मूल्याङ्कन गर्न भने सकिन्छ ।

जसरी ‘नच’ले स्क्रिनको ठूलो भाग ओगटेको हुन्छ, डाइनामिक आइसल्यान्डले कम भाग ओगटेको हुन्छ ।

जसले गर्दा गेम खेल्ने, फिल्म हेर्ने वा केही कुरा जुम गरेर हेर्ने प्रयोगकर्तालाई केही हदसम्म नच भएको मोडेलले डिस्टर्ब गरेको हुन्छ ।

डाइनामिक आइसल्यान्डले भने थोरै भाग ओगट्ने भएकाले यी कामका लागि त्यति डिस्टर्ब गर्दैन ।

नयाँ फिचर अवश्य पनि सबैलाई आकर्षक नै लाग्ने गर्छ । त्यसमा पनि एप्पलले ल्याएको फिचरमा धेरैकाे नजर परेकाे हुन्छ ।

‘डाइनामिक आइसल्यान्ड’ कत्तिको भरपर्दो छ भन्ने कुरा फोनको रिभ्यु आएपछि थाहा हाेला ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४