close

छुट्टी मनाउन नेपाल आएका क्यानेडेली नागरिकले जन्माएको ‘क्लाउड फ्याक्ट्री’

अर्पना आले मगर अर्पना आले मगर

असोज २, २०७९

छुट्टी मनाउन नेपाल आएका क्यानेडेली नागरिकले जन्माएको ‘क्लाउड फ्याक्ट्री’

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्सको दुनियाँमा क्लाउड फ्याक्ट्री चर्चित नाम हो । नेपालबाट सुरु भएको यो कम्पनीले अहिले विश्वबजारमै चर्चा कमाएको छ । स्प्राउट टेक्नोलोजी सर्भिस लिमिटेडको नाममा दर्ता भएको कम्पनीले सफ्टवेयर डेभलपमेन्टको कामबाट व्यवसाय सुरु गरेकाे थियाे । हाल वेब एप्स, मोबाइल एप्स, बिग डेटा, मसिन लर्निङ, आर्टिफिसियल इन्टेलिजेन्स, गेमिफिकेशन, डेटा इन्ट्री र प्रोसेसिङ, ट्रान्सक्रिप्सन, आउटसोर्सिङ, क्राउडसोर्सिङ लगायतका क्षेत्रहरुमा काम गरिरहेको छ ।

 

क्लाउड फ्याक्ट्रीको सुरुवात
सन् २००८ मा क्यानडाका नागरिक मार्क सेयर्स दुई हप्ताका लागि आफ्नी श्रीमतीसँग नेपाल घुम्न आएका थिए । छुट्टी मनाउन आएका मार्कलाई नेपालको सौन्दर्यताले मात्र तानेन, यहाँ भएका जनशक्तिले पनि आकर्षित गर्‍यो ।

उनले नेपालमा भएका धेरै प्रतिभालाई पनि देखे । नेपालमा रहँदाको समयमा उनले भेटेका स्थानीय र उनीहरूसँग भएको कुराकानीले उनले नेपालमा एउटा सम्भावना देखे ।

आफैं पनि एक कम्प्युटर इन्जिनियर भएको नाताले आफ्नो रुचि अनुसारको मानिसहरू भेट हुनु स्वाभाविक नै थियो । नेपालको बसाइँमा पनि उनले केही नेपाली डेभलपरहरूसँग भेट गरे, जसले उनलाई थप प्रेरित गर्‍यो ।

संसारमा सीप बराबर वितरण भएपनि अवसरमा भने खाडल भएकाे मार्कले महसुस गरे । यो कुरा मनन गरेपश्चात उनले विकासोन्मुख देशका मानिसलाई रोजगारीको अवसर दिलाउने लक्ष्य राखे । यसपछि भने प्रतिभा भएर पनि रोजगारीको खोजीमा रहेका युवालाई रोजगारीसँग जोड्ने उद्देश्य र योजनाका साथ उनी सन् २०१० मा नेपाल फर्किए । यसरी नेपालबाट सुरु भयो क्लाउड फ्याक्ट्रीको यात्रा ।

सुरुवाती दिनहरुमा कम्पनीले एप तथा सफ्टवेयर डेभलपमेन्टबाट मात्र काम गरेको थियो । केहि समयसम्म यसरी नै काम चलिरह्यो । उनले पनि बजारको आवश्यकता र मागको अध्ययन गरिरहेका थिए । बजारमा प्रविधिसँग सम्बन्धित सीप धेरै रहेकोले उनीहरूलाई अर्थतन्त्रसँग जोड्नु आवश्यक रहेको उनको अध्ययनको निचोड थियो ।

यही निचोडसहित सफ्टवेयर इन्जिनियरहरू मात्र नभई अन्य सीप भएका युवालाई पनि रोजगारीको अवसर दिनुपर्छ भन्ने सोचेर कम्पनीले आफ्नो कामको दायरा पनि बढाउँदै लग्यो । हाल कम्पनीले विशेष गरी आर्टिफिसियल इन्टलिजेन्सलाई केन्द्रमा राखेर काम गरिरहेको छ ।

आर्टिफिसियल इन्टेलिजेन्स वा मसिन लर्निङ प्रयोग गर्ने कम्पनीहरूको लागि फरक किसिमको डेटा सेट चाहिन्छ । एआईमा आधारित कम्पनीमा चाहिने कामको लागि मसिनलाई पढाउनुपर्ने हुन्छ । सामान्य भाषामा बुझ्दा मसिनलाई पढाउने काम नै क्लाउड फ्याक्ट्रीको हो । विभिन्न कम्पनीलाई आफ्नो एआई अथवा मसिन लर्निङ (एमएल)का लागि आवश्यक डेटाको व्यवस्थापन गर्ने काम क्लाउड फ्याक्ट्रीले गर्दै आएको छ ।

मुख्य काम
क्लाउड फ्याक्ट्रीको मुख्य काम डिजिटल संसारको वर्कफोर्स अथवा जनशक्ति व्यवस्थापन गर्ने हो । अझ विशष्टिकृत रुपमा भन्नुपर्दा क्लाउड फ्याक्ट्रीले एआईसँग सम्बन्धित कामको लागि ह्युमन–इन–लुप वर्कफोर्स तयार पार्ने गर्छ ।

यही ह्युमन इन लुप अर्थात् सहज भाषामा बुझ्दा एआई सम्बन्धित कम्पनीका मसिनहरूलाई पढाउने काम क्लाउड फ्याक्ट्रीले गर्दै आएको छ । सुरुवाती समयमा इन्जिनियरिङमा मात्र केन्द्रित भएको कम्पनीले अहिले भने कुनै पनि प्रकारको डिजिटल सीप भएको मानिसहरुको लागि रोजगारी कसरी सिर्जना गर्ने भन्ने कुरामा विशेष केन्द्रित भएर काम गरिरहेको छ ।

“कम्पनी सुरु गर्नुको मूल उद्देश्य नै रोजगारी सिर्जना गर्नु हो । प्रतिभालाई बजारको मागसँग जोडाउनु नै कम्पनीको उद्देश्य हो । यसै अनुरुप हामीले काम गर्दै आएका छौं,” कम्पनीका एक्टिङ कन्ट्रि म्यानेजर आयुर श्रेष्ठले बताए ।विभिन्न सीप भएका व्यक्तिलाई जोड्ने क्रममा कम्पनीले आफ्नो सेवाको दायरा पनि बढाउँदै लग्यो । ह्युमन–इन–लुपकै रुपमा कम्पनीले काम गरेपनि यसका क्षेत्र भने फरक–फरक छन् ।

डेटा एनोटेशन सलुसन
सामान्य भाषामा उपलब्ध डेटालाई कम्प्युटरले बुझ्ने भाषामा रुपान्तरण गर्ने कामलाई डेटा एनोटेशन भनिन्छ । यस्तो डेटा, कुनै पनि अक्षरहरू, भिडिओ अथवा अडियो हुन सक्छ । क्लाउड फ्याक्ट्रीले एआई प्रविधि प्रयोग गर्ने कम्पनीलाई आवश्यक डेटालाई उनीहरूको मसिनले बुझ्ने भाषामा लेबलिङ गर्ने काम गर्छ ।

कम्पनीले कुनै पनि कम्प्युटर भिजनको लागि डेटाहरू वर्गीकरण गर्ने, डिटेक्ट गर्ने, सेग्मेनटेसन गर्ने लगायतका सेवा उपलब्ध गराउछ । डेटा व्यवस्थापनसँगै कम्पनीले एआईमा आधारित लेबलिङ पनि गर्दछ ।

कम्प्युटर भिजन सेवा
कम्प्युटरलाई आवश्यक भिजन अर्थात् कम्प्युटरलाई डेटा बुझ्ने बनाउने काम क्लाउड फ्याक्ट्रीको हो । यस अन्तर्गत बाउन्डिङ बक्स, ल्यान्डमार्किङ, वायरफ्रेम, मास्किङ, थ्रीडी क्युबोइड, पोलिगन, पोललीलाइन, अब्जेक्ट ट्रयाकिङ तथा ट्रान्सक्रिप्सन लगायत विभिन्न तरिकाले डेटा लेबलिङ गर्ने काम गर्दछ ।

न्याचुरल ल्याङ्गवेज प्रोसेस
मसिन लर्निङ मोडेलहरू अक्षर र अडियो पढ्न र बुझ्ने क्षमतामा अगाडि बढिरहेका छन् । तर भाषाको जटिलता बुझ्न अझै संघर्ष भने जारी छ । कम्पनीका डेटा विश्लेषक टोलीले व्यवसायको सूक्ष्मता र कम्पनीको नेचुरल ल्याङ्गवेज प्रोसेसका एप्लिकेसनहरूलाई बुझेर मसिनलाई तालिम दिने गर्दछन् ।

कम्पनीले च्याटबटलाई तालिम दिन, कानूनी सम्झौताको समीक्षा वा वित्तीय विश्लेषणका लागि आवश्यक एल्गोरिदमलाई तालिम दिन आवश्यक डेटा प्रयोग तथा प्रशोधन गर्ने काम गर्दछ । यसका लागि कम्पनीले आवश्यक कन्टेन्ट इनरिचमेन्ट, डेटा क्लिन्जिङ, वर्गीकरण, विषय विश्लेष्ण लगायतका काम गर्दछ ।

डेटा प्रोसेसिङ
कम्पनीको अर्को काम भनेको डेटा प्रोसेसिङ हो । कम्पनीले ठूलो परिणामका डेटालाई सहजै छोटो समयमा नै कुशलतापूर्वक प्रशोधन गर्न सक्छ । एउटै कामलाई जतिपटक दोहोर्‍याए पनि कामलाई उत्कृष्ट बनाउनको लागि डेटा एनालिस्टहरूले काम गर्ने कम्पनीले जनाएको छ ।

आजको प्रतिस्पर्धी समयमा बजारमा अपडेटेड रहनु र डेटामा काम गर्नु कुनै पनि कम्पनीको लागि निकै नै महत्त्वपूर्ण छ । यसको लागि कम्पनीले काम गर्ने गरेको छ । यसअन्तर्गत कम्पनीले डेटा इन्ट्री गर्ने, इन्रिचमेन्ट गर्ने लगायत मोडरेसन र ट्रान्सक्रिप्सनको पनि काम गर्दछ ।

रोजगारी र कम्पनीको नेपाली टिम
कम्पनीको मुख्य कार्यालय हाल बेलायतमा छ । यो बाहेक कार्यालय नै स्थापना गरेर कम्पनीले नेपाल, अमेरिका र केन्याबाट पनि काम गरिरहेको छ । कम्पनीले विभिन्न टिम बनाएर काम गरिरहेको छ । नेपालको सन्दर्भमा भने एक्सक्वाड नेपाली टिम रहेको छ । नेपालको लिडिङ टिम, जसले अहिले नेपालदेखि हुने कामहरूलाई व्यवस्थापन गरिरहेको छ ।

नेपाली टिममा एक्टिङ कन्ट्री म्यानेजर आयुश श्रेष्ठ, हेड अफ फाइनान्स प्रशान्त पोख्रेल, वर्कफोर्स सक्सेस डिरेक्टर अस्मिता धिताल, ग्लोबल सेक्युरिटी एन्ड कम्प्लायन्स अफिसर सफल जोशी, सिनियर इन्जिनियरिङ म्यानेजर बालकृष्ण पौडेल र डेलिभरी म्यानेजरको रुपमा आयुस सिद्धी रहेका छन् ।

हाल कम्पनीमा नेपालबाट मात्रै चार हजार जनाले रोजगारी पाएका छन् । कम्पनीमा कार्यालयमा नै गएर काम गर्नुपर्ने बाध्यता नभएको कारण आबद्ध कर्मचारीहरू पार्ट टाइम र फुल टाइममा काम गर्छन् । यसअन्तर्गत नेपालबाट मात्रै ६० जना इन्जिनियरहरू काम पाइरहेका छन् भने २८० जना कोर टिममा नै रहेर काम गरिरहेका छन् ।

त्यस्तै करिब तीन हजार जना केन्याको अफिसमा काम गरिरहेका छन् । नेपाललाई प्राथमिकतामा राख्दै भविष्यमा भने कम्पनीले १० लाख युवालाई रोजगारी दिने लक्ष्य राखेको छ ।

डेटा सुरक्षाको प्रयास
डेटा सुरक्षाको कुरा निकै नै महत्त्वपूर्ण कुरा हो । अन्तर्राष्ट्रिय स्तरमा काम गरिरहेको भएर पनि कम्पनी सुरक्षामा थप बढी संवेदनशिल भएको एक्टिङ कन्ट्री म्यानेजर आयुश श्रेष्ठ बताउछन् । कम्पनीको आफ्नो छुट्टै आईटी टिम छ जसले कम्पनीको सम्पूर्ण प्राविधिक व्यवस्थापन तथा सुरक्षाको काम गरिरहेको छ । यसका साथै कम्पनीमा आफ्नै आन्तरिक आईटी अडिटिङ टिम पनि छ ।

यसबाहेक डेटा सुरक्षालाई लिएर कम्पनीले कर्मचारीलाई समय–समयमा विभिन्न तालिम दिने लगायतका काम पनि गरिरहेको छ । “यो महत्त्वपूर्ण छ र यो गर्नैपर्छ । हामीले ग्राहकलाई पनि डेटा सुरक्षाको प्रत्याभूत गराउनुपर्ने हुँदा हामीले यसमा काम गर्नैपर्छ । विभिन्न सुरक्षा सम्बन्धी काममा क्षमता अभिवृद्धिका काम गरिरहेका हुन्छौं,” श्रेष्ठले भने ।

योसँगै कम्पनी आईएसओ प्रमाणित कम्पनी हो । कम्पनीले गुणस्तर व्यवस्थापन तथा सूचना सुरक्षातर्फ आईएसओ मान्यता प्राप्त गरेको छ । कम्पनीले डेटा सुरक्षातर्फ सर्भिस अर्गनाइजेसनल कन्ट्रोल (एसओसी) टु, हेल्थ इन्सुरेन्स पोर्टेबिलिटी एन्ड अकाउन्टबिलिटी एक्ट (हिपा), व्यक्तिगत डेटा सुरक्षातर्फ जेनरल डेटा प्रोटेक्सन रेगुलेसन (जीडीपीआर) लगायत विश्वसनीयताको लागि वन ट्रस्टबाट मान्यता प्राप्त गरेको छ ।

मूल उद्देश्य
कम्पनीको मुख्य उद्देश्य भनेको १० लाख मानिसहरूसँग जोडिने हो । नेपालजस्तो विकासोन्मुख देशमा १० लाख मानिसहरूलाई रोजगारी दिने नै कम्पनीको मिसन रहेको श्रेष्ठ बताउछन् । यसमा रोजगारी मात्र नभएर तालिम, लर्न, अर्न र सर्भ गराउने लक्ष्य पनि कम्पनीले राखेको छ ।

प्रोग्रामिङ ल्याङ्गवेजदेखि लिएर तालिम दिने र आम्दानीपछि समाजलाई कसरी योगदान गर्न सकिन्छ समाज सेवाका काम पनि संलग्न गराउनु नै कम्पनीको भिजन रहेको उनको भनाइ छ । “आफूले कमाएपछि समाजलाई पनि दिनुपर्छ भन्ने कम्पनीको प्रमुख मान्यता हो । यसले क्लाउड फ्याक्ट्रीबाट कसैले जागिर छोडेपछि पनि भोलिको दिनमा एउटा लिडर बन्न सकोस् भन्ने लक्ष्य राखेको छ,” श्रेष्ठ बताउँछन् ।