close

जो भाग्य फेरिएर बने अब्बल ग्राफिक्स डिजाइनर

सञ्जीवन राई सञ्जीवन राई

असोज ३, २०७९ १८:३९

जो भाग्य फेरिएर बने अब्बल ग्राफिक्स डिजाइनर

काठमाडौं । एउटा कुनै सुन्दर वेबसाइट बनाउनुपर्‍यो अथवा सामाजिक सञ्जालमा केही आकर्षक पोस्टहरु गर्नुपर्दा हामीलाई राम्रो ग्राफिक्सको आवश्यकता पर्छ ।

धेरै शब्दभन्दा पनि मनमोहक ग्राफिक्सले त्यसै पनि धेरैको ध्यान आकर्षित गरेकै हुन्छ । उसै त चर्चित भनाइ छ, हजार शब्दभन्दा एक चित्रले धेरै कुरा बोल्छ ।

विश्वमा उदाउँदो र बढी माग भएको क्षेत्र हो, ग्राफिक्स डिजाइन । जति डिजिटलाइज हुँदै जान्छ, यसको माग र आवश्यकता त्यत्तिकै बढ्दै जान्छ । कतिपय युट्युबका भिडिओमा थम्बनेल लोभलाग्दो भएकै कारण हामी उक्त भिडिओमा क्लिक गरिरहेका हुन्छौं ।

कुनै किताबको गाता राम्रो लागेकै कारण खरिद गर्ने निर्णय गर्छौं । आज संसारमा ग्राफिक्स डिजाइन उद्योगको बजार ५५ खर्ब रुपैयाँभन्दा बढी छ । नेपालमा पनि ग्राफिक्स डिजाइनले एउटा छुट्टै पेशाको मान्यता बनाइरहेको छ । यो कला र प्रविधिको मिश्रण हो भन्ने धारणा विस्तारै आम मानिसहरुले बुझ्दै गइरहेका छन् ।

ग्राफिक्स डिजाइनले खोलेको सम्भावनालाई आफ्नो पेशामा परिणत गरेर अब्बल साबित भएको नाम हो, सचिन यगोल श्रेष्ठ । किताबप्रेमीबीच उनी बुक कभर डिजाइनरका रुपमा परिचित छन् ।

१२ दर्जन बढी किताबहरुका कभर (गाता) डिजाइन गरिसकेका उनले पुस्तकको गाता डिजाइनबाहेक नेपालका चर्चित ब्रान्डहरुसँग आबद्ध भएर काम गरिरहेका छन् । 

काभ्रे जिल्लाको धुलिखेलमा जन्मिएका श्रेष्ठ काठमाडौंमा हुर्के । उनको कला–यात्रा विद्यालय तहबाट नै सुरु भएको थियो । त्यतिबेला उनी चित्रकला बनाउँथे । त्यसो त उनको परिवार नै कला प्रेमी थियो ।

उनका बुवा राजपरिवार सदस्यका फोटा कोलाज बनाउने गर्थे । त्यसैले पनि होला उनलाई पढाइभन्दा पनि बुवाको चित्रकलामा बढी ध्यान थियो । बुवाले पनि छोराको यही रुचिलाई बुझेर विशेष खालका कागज र रंगहरु उपहार ल्याइदिने गर्थे ।

विद्यालयबाट घरमा गएपछि गृहकार्यभन्दा पनि चित्र बनाउन उनका बुबाले हौसाउँथे । त्यसबेला उनले चित्रकलाका विभिन्न प्रतियोगितामा भाग लिन्थे । त्यसबाट पाएको रकमबाट विद्यालय शुल्कसमेत तिर्न पुग्थ्यो । यसकारण उनलाई लागिसकेको थियो, कला क्षेत्रबाट नै ‘म नाम/दाम कमाउन सक्छु ।’

एसएलसीपछि हेटौंडामा वनविज्ञान अध्ययनका लागि गएपनि प्रवेश परीक्षामा नाम ननिस्केपछि उनले काठमाडौं फर्केर विज्ञापन एजेन्सीमा ग्राफिक्स डिजाइनरका रुपमा काम गर्न थाले । त्यसैले पनि उनले आफ्नो पेशालाई भाग्यले साथ नदिँदा जुरेको संयोगका रुपमा बुझ्छन् ।

अहिलेजस्तो त्यतिबेला ग्राफिक्स डिजाइन सिक्न कम्प्युटर र इन्टरनेट सहज थिएन । श्रेष्ठले भने आफूभन्दा अघिल्लाहरुको काम हेर्दै एक्लै नै सिक्दै गए । विज्ञापन एजेन्सीमा काम गर्दै जाँदा उनको सीप झन् निखारिन थाल्यो ।

त्यति नै बेला ‘फत्तेमान साँझ’को एल्बमको डिजाइन गर्ने जिम्मा उनले कतैबाट पाए ।

त्यही समय नेपालमा स्डान्डर्ड चार्टड बैंकको कर्पाेरेट ब्रान्ड आइडेन्टिटी परिवर्तन हुने भयो । त्यो काम पनि उनैले पाए ।

त्यसअघि उनले ब्रान्ड डकेट पढ्नुपर्ने भयो । त्यो सानो पुस्तिकको अध्ययनपश्चात उनमा ग्राफिक्स डिजाइनको अवधारणा परिवर्तन भयो । त्यसपश्चात नै उनलाई औपचारिक पढाइको आवश्यकता महसुस भयो ।

उनले बेलायतको विगन एन्ड लेह कलेजको भारतीय शाखामा पढ्ने योजना बनाए । पछि सो कलेजको शाखा नेपालमै खुलेपछि उनी पहिलो ब्याचको विद्यार्थीको रूपमा भर्ना भए । साे कलेजमा भर्ना हुनुअगाडि नै उनले काठमाडौं विश्वविद्यायमा ग्राफिक्स डिजाइन विषय पढाएका थिए ।

“एकेडेमिक ज्ञान नभए पछि काम गर्दा हामी हच्किने रहेछौँ,” उनको अनुभव छ ।

श्रेष्ठले अहिलेसम्म स्ट्यान्डर्ड चार्टर्ड, फेडएक्स, युपिएस टुबोर्ग, कार्ल्सबर्ग, हिमालय बैंक, नेपथ्य, नेपालय, एनसेल, नेपाल टेलिकम, एसी इन्स्टिच्युट, एनटीबी, गोरखा, हिमाल रेमिट, टू पिएम, यामाहा, खजुरिको, बीपीएस, सिटी स्क्वायरजस्ता राष्ट्रिय र अन्तराष्ट्रिय चर्चित कम्पनीको ग्राफिक्स डिजाइन गरेका छन् ।

यतिबेला भने उनी ८८४८ र पुरानो दरबार ब्राण्डका लागि यति डिस्ट्रिलरीमा कार्यरत छन् ।

किताब डिजाइनमा झन् अब्बल

यस वर्षको मदन पुरस्कार पाउने सूचीमा उनले कभर बनाएका चार ओटा किताब परेका थिए । कभरकै कारण ती पुस्तक सूचीमा नपरेको भएपनि एक डिजाइनरका लागि त्यो निकै ठूलो उपलब्धि हो ।

बुक कभर डिजाइनरको रुपमा उनको यात्रा भने सन् २०१६ बाट सुरु भएको हो । त्यसबेला उनले आफूले काम गरिरहेको विज्ञापन एजेन्सीको काम छाडेर फ्रिलान्सिङ गरिरहेका थिए ।

त्यति नै बेला फाइनफ्रिन्ट प्रकाशन गृहले प्रकाशन गरेको ‘भूकम्पमा मलमपट्टि’ किताबको कभर डिजाइन गरेर उनले नयाँ यात्रा सुरुवात गरे । 

बुकको कभर डिजाइन गर्दा उनका आफ्नै नियम छन् । किताबको कभर डिजाइन गर्दा समयसीमामा बाँधिएर काम गर्न उनी रुचाउँदैनन् ।

“मैले कभर डिजाइन गर्न अगाडि त लाखौँले गरिसकेका छन् ” उनी भन्छन् “मेरो डिजाइन अरुसँग मिल्न भएन । तत्कालीन समाज झल्कने हुनुपर्छ । यी डिजाइनहरु अबको २/३ सय वर्ष पछाडि इतिहास बन्छन् । ​त्यसबेलाकाे पुस्ताले वर्तमान समाज बुझोस् भन्ने कुरामा सतर्क छु ।”

डिजाइनले समाज बोल्ने भएकाले उनी सतर्क छन् । कभरको डिजाइनले किताबको न्याय र सुन्दरता थप्ने उनको विश्वास छ । महाभारा, कल्पग्रन्थ, हंस, हिती प्रणाली, विमान विद्रोह, याम्बुनेर, माधवी (नयाँ संस्करण), पागलबस्ती (नयाँ संस्करण) उनले डिजाइन गरेका किताबका केही उदाहरण हुन् । 

नयाँ डिजाइनरलाई टिप्स 
डिजाइनको क्षेत्रमा सीमा छैन । यसमा असीमित सम्भावना देख्छन् उनी । तर त्यस्ता डिजाइन समयसापेक्ष हुनुपर्ने कुरामा उनको जोड हुन्छ ।

सफल डिजाइनर बन्न प्राविधिक सीपबाहेक आफ्नो समाजको अध्ययन निकै महत्त्वपूर्ण ठान्छन् उनी ।

समाज नजोडेको डिजाइन 'मृत' जस्तै देख्ने उनी डिजाइनरहरुमा थोरै भए पनि दर्शनको ज्ञान हुन आवश्यक रहेको बताउँछन् ।

“यस क्षेत्रका नयाँले प्राविधिकबाहेक धेरै कुरा सिक्न आवश्यक हुन्छ । सफ्टवेयरदेखि समाज, परिवेश हरेक कुराहरुमा अद्यावधिक हुन पर्दछ ।”

अहिले डिजाइनका लागि धेरै स्रोत सजिलै उपलब्ध भएकोले त्यसको प्रयोग गरेर पनि नवप्रवेशीले काम गर्न सक्ने उनको सुझाव छ ।

“तर त्यसमा आफ्नोपन थप्नु पर्छ । तब मात्र त्यो आफ्नो हुन्छ,” उनी भन्छन् ।

प्रत्येक विद्यार्थीहरुले सामान्य भए पनि ग्राफिक्स डिजाइन अनिवार्य रुपमा सिक्नुपर्ने उनको भनाइ छ ।

ग्राफिक्स डिजाइनिङलाई मान्छेले काम मान्ने तर करियर नमान्ने अवस्था रहेको उनी बताउँछन् । सरकारसँग भने उनको ग्राफिक्स डिजाइनबारे निकै दुःखेसो छ ।

यसबारेमा सरकारको कुनै नीति नै नभएकोमा उनको चित्त दुःखाई छ ।

“सरकारी कार्यालयमा हुने विभिन्न कामहरुमा ग्राफिक्स डिजाइनको आवश्यकता परिरहेको हुन्छ । तर यहाँ त ती कामहरु बागबजार अथवा रत्नपार्कमा हुने भन्ने मानसिकता छ,” उनी चित्त दुखाउँछन् ।

पछिल्लो अध्यावधिक: असोज ४, २०७९ १३:४४