close

९ केजीसम्म तौल बोक्ने एलन मस्कको मानवरुपी रोबोट सार्वजनिक

टेकपाना टेकपाना

असोज १६, २०७९ १०:३०

९ केजीसम्म तौल बोक्ने एलन मस्कको मानवरुपी रोबोट सार्वजनिक

काठमाडौं । टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले आफ्ना मानवरुपी रोबोट (ह्युमनोइड रोबोट) 'अप्टिमस' सार्वजनिक गरेका छन् । टेस्लाको २०२२ एआई डे प्रस्तुतिको क्रममा मस्कले ह्युमनोइड "अप्टिमस" रोबोटको प्रोटोटाइप सार्वजनिक गरेका हुन् ।

मस्कका अनुसार, यो प्रोटोटाइपले प्रत्यक्ष देखाइएको भन्दा बढी काम गर्न सक्छ । गत वर्षको कार्यक्रममा कम्पनीले रोबोटको कपडा लगाएको मानिसलाई प्रदर्शन गरेको थियो । सोही प्रदर्शनको वास्तविक रोबोट यो वर्ष सार्वजनिक भएको हो ।

त्यस्तै यसको मूल्य २०,००० डलर भन्दा कम हुने मस्कले बताए । साथै उनले टेस्लाले विद्युतीय कारहरूको अपरेशनलाई सहज बनाउनको लागि आवश्यक एआई र रोबोटिक्सको लागी राम्रो काम गरिरहेको दाबी गरे ।

उनले अन्य प्रभावशाली मानवीय रोबोट प्रदर्शनहरू र टेस्लाको रोबोटबीच धेरै भिन्नता भएको र टेस्लाको अप्टिमस लाखौंको संख्यामा ठूलो उत्पादनको लागि बनाइएको छ दाबी गरे ।

यो रोबोट मानिसजस्तै कुनै सपोर्टबिना कुशलतापूर्वक हिँड्न र सन्तुलित रहन सक्छ । साथै यसले ९ किलोग्रामसम्मको तौल पनि बोक्न सक्छ । यसले अन्य डिजिटल उपकरणहरू प्रयोग गर्न र साना रोबोटहरूको लागि अभिभावकको काम पनि गर्न सक्छ ।

टेस्ला गाडीमा प्रयोग हुने सुपरकम्प्युटर पनि टेस्ला बोटमा छ । यसमा वायरलेस कनेक्टिभिटीका साथै अडियो सपाेर्ट र हार्डवेयर सुरक्षा सुविधा पनि छ, जुन कम्पनीले रोबोट र रोबोट वरपरका मानिसहरूलाई जोगाउन महत्त्वपूर्ण हुने कम्पनीकाे भनाइ छ ।

पछिल्लो अध्यावधिक: असोज १६, २०७९ १०:३०