close

आईफोनमा किन हट्यो सिमकार्ड स्लट ?

टेकपाना टेकपाना

असोज ३१, २०७९ १६:५३

आईफोनमा किन हट्यो सिमकार्ड स्लट ?

काठमाडौं । आईफोन १४ सिरिजका स्मार्टफोनसँगै एप्पलले सिमकार्ड स्लट हटाउन सुरु गरेको छ । सुरुवाती चरणमा कम्पनीले अमेरिकी बजारका लागि बिना सिमकार्ड स्लटको आईफोन सार्वजनिक गरेको छ । यी फोनमा ई-सिम प्रयोग गर्न सकिन्छ ।

ई-सिम मोबाइलमा इम्बेड गरिएको सिम हो, जसलाई भर्चुअल सिमकार्ड पनि भन्न सकिन्छ । यो ई-सिमका आफ्नै केही विशेषता छन् । साथै केही बेफाइदा पनि छन् । यात्रामा हिँडिरहने प्रयोगकर्ताका लागि यो फोन उपयुक्त नहुन पनि सक्छ ।

अमेरिकी बजारका लागि मात्र यो फोन उपलब्ध गराइए पनि विभिन्न देशमा यात्रा गर्दा सो प्रयोगकर्तालाई यो फिचरले समस्या पार्नसक्छ । अहिले पनि धेरै देशमा ई-सिम उपलब्ध भइसकेको छैन ।

यस्तोमा आईफोन १४ प्रयोग गरिरहेका अमेरिकी प्रयोगकर्ता अन्य देशको यात्रामा जाँदा सिमको समस्या हुनसक्छ । केही अन्तर्राष्ट्रिय कम्पनीहरू जस्तै 'एरोलो' ले कुनै स्थानीय नेटवर्कको सपोर्टबिना पनि ई-सिम प्रयोग गर्न सकिने सेवा उपलब्ध गराइरहेको छ ।

यद्यपि यो निकै नै महँगो हुने र यसले डेटा सेवामात्र उपलब्ध गराउने हुँदा यो प्रयोगकर्तामैत्री नहुन पनि सक्छ । अन्य देशमा गएर सोही देशको नम्बर लिनुपर्ने खण्डमा भने यो सेवा उपयोगी हुँदैन ।

कुनै नयाँ देशमा जाँदा सिमकार्ड स्लट नै प्रयोग गर्ने प्रयोगकर्ताको लागि धेरै उपयोगी हुनसक्छ । यस्ता समस्या विद्यमान नै रहँदा एप्पलले आफ्नो फोनबाट किन हटायो त सिमकार्ड स्लट ? 

सामान्य रुपमा बुझ्नुपर्दा चिपमा आधारित सिमकार्डको तुलनामा ई-सिम प्रयोगको लागि धेरै सहज छ । यसमा प्रयोगकर्ताले दुई ओटा अथवा सोभन्दा बढी नेटवर्कको नम्बर प्रयोग गर्न सकिन्छ ।

आईफोन १४ को हकमा भने यसमा प्रयोगकर्ताले दुईओटा फोन नम्बर र ८ ओटा फरक डेटा प्लान प्रयोग गर्न सक्नेछन् । यसका लागि भौतिक रुपमा कुनै नेटवर्क कम्पनी अथवा स्टोरमा गइरहनु जरुरी छैन ।

सुरक्षाको हिसाबले हेर्ने हो भने पनि ई-सिम बढी सुरक्षित देखिन्छ । यदि केही गरी फोन हराएमा भेटाएको व्यक्तिले सिम निकालेर फोन र मेसेज रोक्न सक्दैनन् । यसले प्रयोगकर्तालाई मात्र होइन, कम्पनीलाई पनि फाइदा पुर्‍याएको छ ।

सिमकार्ड स्लट हटाउँदा आईफोनमा अन्य प्रविधि अथवा फिचरका लागि केही स्थान खाली हुन्छ । अर्कोतिर भने आईफोनबाट एन्ड्रोइडमा स्विच हुन प्रयोगकर्तालाई पनि गाह्रो पर्छ ।

किनभने फोन स्विच गर्नको लागि प्रयोगकर्ताले सिमकार्ड झिकेर अर्को फोनमा राखेको जस्तो सजिलो भने पक्कै हुनेछैन । यो झन्झटले गर्दा आईफोन प्रयोगकर्तालाई एन्ड्रोइडमा स्विच हुन केही हदसम्म निरुत्साहित गर्दछ ।

ई-सिम प्रयोगको केही समस्याहरू हाललाई देखिए पनि आउने दिनहरूमा अन्य देश अथवा कम्पनीहरूले पनि ई-सिम प्रविधि अँगाल्दैनन् भन्न सकिन्न । ढिलोचाँडो ई-सिम सहज प्रचलनमा आउने नै छ । आईफोनले भने यसको सुरुवात गरेको छ । भोलिको दिनमा यसको प्रचलन थप बढेर जाने अनुमान लगाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज ३१, २०७९ १७:५