close

एआईमार्फत प्रहरीको फोटो-भिडिओ बनाई दुष्प्रचार गरेको आरोपमा २१ वर्षीय युवक पक्राउ

टेकपाना टेकपाना

जेठ २२, २०८३ १४:०

सांकेतिक तस्बिर सांकेतिक तस्बिर

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुल मार्फत ड्युटीमा खटिएका प्रहरीको फोटो तथा भिडिओ परिमार्जन गरी सामाजिक सञ्जालमा दुष्प्रचार गरेको आरोपमा सिन्धुलीमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका-१ बस्ने २१ वर्षीय हर्कबहादुर स्याङ्तान रहेका छन् ।

उनलाई ‘अभद्र व्यवहार गर्न नहुने’ कसुर अन्तर्गत अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट सात दिनको म्याद लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

कार्यालयका अनुसार, गत १९ जेठमा कमलामाई नगरपालिका-७ स्थित बीपी राजमार्गको गड्यौली पुलनजिक सडक खण्डमा ट्राफिक प्रहरीहरू चेकजाँचमा खटिएका थिए । सोही क्रममा स्याङ्तानले प्रहरीको फोटो तथा भिडिओ खिचेर च्याटजीपीटी टुल प्रयोग गरी सामग्री परिमार्जन गरेका थिए । परिमार्जित सामग्री फेसबुकमा पोस्ट गरी प्रहरीको छवि बिगार्ने र दुष्प्रचार गर्ने कार्यमा संलग्न रहेको प्रहरीको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले आरोपी स्याङ्तानलाई बिहीबार नियन्त्रणमा लिई कानुनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

प्रहरीले सामाजिक सञ्जालमा देखिने सामग्रीहरूको वास्तविकता नबुझी कमेन्ट, सेयर नगर्न र समाचार सम्प्रेषण गर्नुअघि यथार्थ बुझ्न सर्वसाधारण तथा सञ्चारमाध्यमलाई आग्रह समेत गरेको छ ।

 

पछिल्लो अध्यावधिक: जेठ २२, २०८३ १४:०