close

अब गुगल सर्च बारमै गुगल लेन्स प्रयोग गर्न सकिने

टेकपाना टेकपाना

कात्तिक १८, २०७९ ११:४१

अब गुगल सर्च बारमै गुगल लेन्स प्रयोग गर्न सकिने

काठमाडौं । गुगलको वेब भर्सनका लागि सर्वाधिक माग भइरहेको गुगल लेन्स सर्च बारको होमपेजमा समावेश भएको छ । अब भने एन्ड्रोइड डिभाइसमा जस्तै गुगल लेन्सलाई वेब भर्सनमा प्रयोग गर्न सकिनेछ ।

गुगलले पछिल्लो समय सार्वजनिक गरेको अपडेट मार्फत यो फिचर उपलब्ध गराएको हो । अब भने ब्राउजरमा गएर गुगल डटकम सर्च गरिसकेपछि त्यही लेन्सको आइकन देखिन्छ । जहाँ फोटो प्रयोग गरेर इमेज सर्ट, भाषा अनुवाद, टेक्स्ट कपी गर्न सकिन्छ ।

यो भिजुअल सर्च असिस्टेन्ट एन्ड्रोइड एपमा सार्वजनिक गर्नुअघि गुगलले सन् २०१७ मा आफ्नो पिक्सेल फोनमा उपलब्ध गराएको थियो । त्यसपछि सन् २०१८ पछि एन्ड्रोइड तथा आईओएसमा यो फिचर उपलब्ध भएको थियो । त्यसको करिब ४ वर्षपछि गुगलले यो फिचर वेब भर्सनमा पनि उपलब्ध गराएको छ ।

गुगलको होमपेजबाट यसरी प्रयोग गर्नुहोस् गुगल लेन्स:

नाम नभएका वस्तुलाई फोटोकै माध्यमबाट सर्च गर्न सकिने फिचर लामो समयसम्म फोनमा मात्र सीमित थियो । जसले गर्दा कम्प्युटरमा काम गरिरहेको बेला पनि कतिपय अवस्थामा फोनबाट फोटो प्रयोग गरि सर्च गर्नुपर्ने बाध्यता थियो ।

डेक्सटप वा अन्य कुनै पनि इन्टरनेट ब्राउजरबाट गुगलको भिजुअल सर्च फिचर प्रयोग गर्न तलको प्रक्रिया अपनाउनुहोस् ।

- सबैभन्दा पहिले ब्राउजरमा गएर गुगल डटकम सर्च गर्नुहोस् ।

- त्यसपछि त्यहाँ सर्च बारको दायाँपट्टि रहेको क्यामेरा लेन्सको आइकनमा क्लिक गर्नुहोस् ।

- त्यसपछि फोटो ड्रयाग गरेर, अपलोड गरेर वा लिङ्क पेस्ट गरेर सर्च गर्ने विकल्प देखाएको हुन्छ । 

- त्यहाँबाट आफूलाई उपयुक्त हुने विकल्प छान्नुहोस् । 

- तस्बिर छानिसकेपछि फोटो सर्च गर्न, टेक्स्ट कपी गर्न वा ट्रान्सलेट (अनुवाद गर्न) सकिन्छ ।

वेब भर्सनमा अन्य विकल्प जस्तै होमवर्क, शपिङ, प्लेस, डाइनिङ जस्ता विकल्प समावेश गरेको छैन । यी फिचरहरू छिट्टै उपलब्ध हुने अपेक्षा गरिएको छ ।

 

पछिल्लो अध्यावधिक: कात्तिक १८, २०७९ ११:४७