close

सरकारी गेटवेमार्फत पठाइयो साढे ४७ लाख एसएमएस

टेकपाना टेकपाना

कात्तिक २३, २०७९ १३:३५

सरकारी गेटवेमार्फत पठाइयो साढे ४७ लाख एसएमएस

काठमाडौं । गत वर्षको पुसदेखि सञ्चालमा आएको एकीकृत एसएमएस गेटवे सेवा प्रयोग गर्ने सरकारी कार्यालयको संख्या बढेको छ । मोबाइल सेवा प्रदायकहरू नेपाल टेलिकम, एनसेल र सरकारी निकायहरूसँगको सहकार्यमा सूचना प्रविधि विभागले सुरु गरेको यो सेवाबाट बुधबार अपरान्ह १२ बजेसम्म ४७ लाख ५६ हजार १२७ एसएमएस पठाइएको विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार हालसम्म ३० सरकारी निकायले यही गेटवेमार्फत सेवाग्राहीलाई एमएमएस पठाउने गरेका छन् । यसअन्तर्गत यातायात व्यवस्था विभाग, नागरिक लगानी कोष, लोकसेवा आयोग, भूमि व्यवस्था तथा अभिलेख विभाग, राष्ट्रिय किताबखाना (निजामतितर्फ), निर्वाचन आयोग, सामाजिक सुरक्षा कोष, काठमाडौं महानगरपालिका, वैदेशिक रोजगार विभाग लगायत धेरै सेवाग्राही भएका सरकारी निकाय यो गेटवेमा जोडिएको उनले जानकारी दिए ।

सेवा प्रवाहका क्रममा कुनै सूचना दिनका लागि एसएमएस प्रभावकारी रहेको उनकाे भनाइ छ । यो सेवामा जोडिने सरकारी निकायले जम्मा २० पैसा प्रति एसएमएस आफ्ना सेवाग्राहीलाई मेसेज पठाउनसक्ने उनले बताए ।

‘सबै सरकारी निकायलाई एसएमएसमा एकद्धार प्रणालीमा ल्याउने उद्देश्यका साथ एसएमएस गेटवे सञ्चालमा ल्याएका हाैं, उनले भने ‘अरु सरकारी कार्यालय पनि थपिने क्रममा छन् ।’

पहिले प्रति एसएमएसको एक रुपैयाँ ५० पैसासम्म पर्थ्यो भने एसएमएस गेटवे सेवा प्रयोग गर्दा सात गुणासम्म सस्तो पर्ने उनले बताए ।

यो सेवा लिन कुनै पनि सरकारी कार्यालयले सबैभन्दा पहिले सूचना विभागलाई पत्राचार गर्नुपर्ने व्यवस्था छ । यसपछि इच्छुक सरकारी कार्यालय, सूचना प्रविधि विभाग र मोबाइल सेवा प्रदायकसँग त्रिपक्षीय सम्झौता गरी एसएमएस गेटवेमार्फत मेसेज पठाउन सकिने जानकारी दिए ।

यो गेटवेका लागि अर्को मोबाइल सेवा प्रदायक स्मार्ट सेलसँग पनि सहकार्य गर्ने प्रयास भइरहेको उनले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: कात्तिक २३, २०७९ १३:३५