close

के तपाईँलाई पनि आयो उम्मेदवारको रेकर्डेड फोन कल ?

टेकपाना टेकपाना

मंसिर १, २०७९ १८:५७

के तपाईँलाई पनि आयो उम्मेदवारको रेकर्डेड फोन कल ?

काठमाडौं । आउँदो ४ मंसिरमा सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कयौँ उम्मेदवारले मतदातालाई ‘रेकर्डेड कल’ गरेको पाइएको छ । सामान्य जस्तै गरी कल आए पछि मतदाताले उम्मेदवारको एकोहोरो आवाजमा मत मागेको सुन्नु पर्‍यो ।

तर धेरैजसो प्रयोगकर्ता यस किसिमको चुनावी प्रचारबाट अचम्मित भएका छन् । आफ्नो मोबाइल नम्बरमा चिन्दै नचिनेका उम्मेदवारले  समेत रेकर्डेड भ्वाइस कल गरेपछि प्रयोगकर्तालाई गोपनीयताको चिन्ता समेत थपिएको छ । 

वास्तवमा यस्तो कल कसरी आयो ? यस्तो सुविधा नेपालका सरकारी निकायको नियमनमा रहेरै उपलब्ध गराइएको हो ? के साँच्चिकै यसरी मतदातालाई भ्वाइस कल गरेर चुनावी प्रचार गर्न पाइन्छ ? यस्ता यावत प्रश्न तपाईँको मनमा समेत हुन सक्छन् । 

यति मात्र होइन, साधारण ग्रामीण क्षेत्रका मतदाताले आफूलाई उम्मेदवारले सोझै फोन कल गरेर भोट मागेको भ्रम समेत परेको हुन सक्छ । जसबाट उनीहरूको मत नै फरक पर्न सक्ने सम्भावना समेत उत्तिकै छ ।

कस्तो सेवा हो यो ?

रेकर्ड गरिएको ३० सेकेन्डको अडियोलाई वेब टुलमार्फत निश्चित सम्पर्क नम्बरमा पठाइन्छ । सामान्य कल आए जस्तै गरी जब प्रयोगकर्ताले फोन उठाउँछन्, उक्त रेकर्डेड अडियो बज्न थाल्छ । 

नेपालमा चुनावी प्रचार प्रसारका क्रममा यस्तो मेसेज पठाउने कार्यका लागि स्मार्ट टेलिकमका मोबाइल नम्बरहरू प्रयोग भएको पाइएको छ । कम्पनीले उपलब्ध गराउने सिप सेवा अन्तर्गत रहेर यस्तो रेकर्डेड अडियो कल पठाउने गरिएको हो ।

 विभिन्न प्रविधि कम्पनीहरूले यो सेवा उपलब्ध गराउने भए पनि कुन कुन नम्बरमा भ्वाइस मेसेज पठाउने भन्ने कुरा चाहिँ सम्बन्धित व्यक्ति तथा उम्मेदवारले नै तय गर्छन् । एसएमएस सेवा उपलब्ध गराउने एक नेपाली कम्पनीका सञ्चालकले आफूहरूसँग भ्वाइस तथा टेक्स्ट मेसेज पठाउने नम्बर नहुने बताए ।

“हामीलाई ग्राहकहरूले फलानो फलानो नम्बरमा यो भ्वाइस वा टेक्स्ट मेसेज पठाइदिनुहोस् भनेर आउनु हुन्छ,” उनी भन्छन्, “ती नम्बर कसका हुन् र कहाँबाट प्राप्त गरियो भन्ने कुराको जवाफदेहिता सम्बन्धित ग्राहक (त्यस्तो मेसेज पठाउन सेवा लिने व्यक्ति ) कै हुन्छ ।” 

यस्तोमा एसएमएस सेवाप्रदायक कम्पनीले प्रति एसएमएस तथा कलको आधारमा शुल्क निर्धारण गरेका हुन्छन् । नेपालमा रिङ्गेज, स्प्यारो एसएमएस, सफ्टकर्न टेक्नोलोजी, आकाश डिजिटल लगायतका कम्पनीहरूले यस्तो सेवा दिँदै आएका छन् । त्यसो त ट्विलियो जस्ता अन्तर्राष्ट्रिय माध्यम समेत यसमा प्रयोग हुन सक्छन् ।

प्रति अडियो मेसेजको शुल्क लम्बाई र मात्रा अनुसार दुई रुपैयाँदेखि सात रुपैयाँसम्म पर्ने गरेको बताइन्छ । यस्तो मेसेज १० सेकेन्डदेखि १ मिनेटसम्म लामो हुने गरेको छ । 

कल गरेर विज्ञापन वा प्रचार गर्न पाइन्छ ?

भ्वाइस कल गरेर विज्ञापन गर्ने शैली पछिल्लो समयमा मात्रै प्रचलनमा आएको भए पनि एसएमएसमार्फत यस्तो कार्य गर्ने प्रवृत्ति पुरानै हो । विज्ञापन ऐन अनुसार सम्बन्धित व्यक्तिको मन्जुरी विना कसैको ईमेल वा मोबाइलमा विज्ञापनमूलक सन्देश पठाउनु गैरकानूनी हो । 

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन विज्ञापन सम्बन्धी विषय विज्ञापन बोर्डमा अनुरोध गर्ने गरिएको बताए । “उम्मेदवारहरूले मतदातालाई भ्वाइस मेसेज पठाएको विषय हाम्रो नोटिसमा छैन,” उनले भने ।

त्यसो त दूरसञ्चार उपभोक्तालाई एसएमएस र भ्वाइस मेसेजमार्फत विज्ञापन पठाएर हैरानी दिइरहेको विषय नियामक नेपाल दूरसञ्चार प्राधिकरणको दायरमा समेत पर्ने गर्छ । प्राधिकरणका निमित्त प्रमुख अर्जुन घिमिरे दूरसञ्चार नेटवर्क प्रयोग गरेर ग्राहकसँग लिइने शुल्क र सेवा प्राधिकरणको नियमनमा पर्ने बताउँछन् । “नियमभन्दा बाहिर गएर कसैले गैरकानूनी रूपमा कार्य गरेको छ भने कानूनी दायरामा ल्याउँछौँ,” टेकपानासँगको कुराकानीमा उनले भने । 


 

पछिल्लो अध्यावधिक: मंसिर १, २०७९ १९:५