close

स्थिर समय सुरु, सामाजिक सञ्जालमा आएका चुनावी पोस्ट लाइक/शेयर नगर्नु: आयोग

टेकपाना टेकपाना

मंसिर २, २०७९ ९:६

स्थिर समय सुरु, सामाजिक सञ्जालमा आएका चुनावी पोस्ट लाइक/शेयर नगर्नु: आयोग

काठमाडौं । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगले शुक्रबार रातिबाट स्थिर समय अवधि सुरु गरेको छ । निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्मको अवधिमा दल तथा उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था गरेको छ । मौन अवधिमा भौतिक वा भर्चुअल कुनै पनि रूपमा निर्वाचन प्रचार प्रसार नगर्न आयोगले सूचना जारी गरेको हो ।

आयोगले बिहीबार राति १२ बजेपछि निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि सामग्री फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जालमा नराख्न निर्देशन दिएको छ । त्यति मात्र होइन, सामाजिक सञ्जालका कुनै पनि प्लेटफर्ममा आएका विभिन्न पोस्टमा लाइक, शेयर, ट्याग, कमेन्ट वा प्रतिकमेन्ट नगर्न वा नगराउन सर्वसाधारणलाई समेत आयोगले आह्वान गरेको छ ।

यसैगरी बिहीबार राति १२ बजेपछि सामाजिक सञ्जाल तथा अनलाइन सञ्चार माध्यमबाट कुनै राजनीतिक विज्ञापन नगर्ने नगराउने, यस अघि गरिएका यस्ता विज्ञापन हटाउन सम्बन्धित सञ्चार माध्यमलाई अनुरोध गरेको छ । सामाजिक सञ्जाल तथा अनलाइन माध्यममा भएका विज्ञापन सामग्री अनुगमनका लागि आयोगले विज्ञापन बोर्डलाई निर्देशन दिएको छ ।

यो अवधिको उल्लङ्घन गरे २५ हजार रूपैयाँसम्म जरिवाना हुने आयोगले जनाएको छ ।

 

 

पछिल्लो अध्यावधिक: मंसिर २, २०७९ १०:६