close

फुटबल विश्वकपको उद्घाटन सुरु हुनै लाग्दा भायानेटको आईपीटिभी डाउन

टेकपाना टेकपाना

मंसिर ४, २०७९ १९:३१

फुटबल विश्वकपको उद्घाटन सुरु हुनै लाग्दा भायानेटको आईपीटिभी  डाउन

काठमाडौं । इन्टरनेट तथा टिभी सेवा प्रदायक भायानेट कम्युनिकेसनको आईपीटिभी डाउन भएको छ । फिफा विश्वकप फुटबलकाे उद्घाटन सुरू हुनै लाग्दा कम्पनीकाे भायाटिभी सेवामा समस्या आएकाे हाे । विश्वकप फुटबल प्रसारणको लाइभको प्याकेज खरिद गर्ने प्रयाेगकर्ताकाे संख्या ह्वात्तै बढ्दा आईपीटिभी डाउन भएको कम्पनीले जनाएको छ ।

कम्पनीले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै लेखेको छ, " आदरणीय ग्राहक महानुभावहरू, उच्च ट्राफिकको कारणले, तपाईंले टिभीसेवा र वर्ल्डकप कुपन खरिदमा समस्या सामना गरिरहनुभएको हुनसक्छ । हामी चाँडोभन्दा चाँडो समस्या समाधान गर्न काम गरिरहेका छौं ।"

फिफा विश्वकप २०२२ आजदेखि सुरुवात हुँदैछ । नेपालमा विश्वकप फुटबलको लाइभ सशुल्क रूपमा 'हिमालय प्रिमियम'बाट मात्र हेर्न सकिन्छ । उक्त च्यानल खरिदका लागि उपभोक्ताले करसहित पाँच सय ६५ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

सोही प्याकेज खरिद गर्ने क्रममा ट्राफिक बढी हुँदा आइपीटिभी सेवा प्रभावित भएको हुनसक्ने कम्पनीको भनाइ छ । यसका साथै ईसेवा, खल्ती लगायतका वालेटले पनि राम्ररी काम नगरेको प्रयोगकर्ताले गुनासो गरेका छन् ।​ 

पछिल्लो अध्यावधिक: मंसिर ४, २०७९ १९:३२