close

विश्वकपको फुटबल भित्रै राखिएको छ 'मोसन सेन्सर', केके गर्छ काम ?

टेकपाना टेकपाना

मंसिर ७, २०७९ १९:३

विश्वकपको फुटबल भित्रै राखिएको छ 'मोसन सेन्सर', केके गर्छ काम ?

काठमाडौं । तपाईँ हामीले खेल्ने सामान्य फुटबल के के मिलेर बनेको हुन्छ ? साधारण फुटबलमा भित्र रबरको ब्लाडर प्रयोग गरिन्छ, जसले हावा थेग्छ । त्यसभन्दा बाहिरको भागमा लेदर, प्लास्टिक, पीभीसी प्यानल वा पोलियुरेथिन जस्ता सामाग्री प्रयोग गरिएको हुन्छ ।

त्यसबाहेक अरू के प्रयोग गरिन्छ भनेर कसैले सोध्दा हामी सोच्न बाध्य हुन्छौँ । फिफा विश्वकप २०२२ मा प्रयोग हुने 'एएल रिह्ला' (Al Rihla) त्यस्तो फुटबल हो, जसमा अहिलेसम्मकै उन्नत सेन्सर पनि समावेश गरिएको छ ।

फिफा विश्वकप २०२२ मा प्रयोग भइरहेको फुटबल एडिडासले तयार पारेको हो । यो हेर्दा सामान्य लागे पनि अहिलेसम्मको उन्नत फुटबल भएको एडिडासले जनाएको छ । भीएआर प्रणालीलाई बढवा दिन र सटिक डेटा उपलब्ध गराउन प्रयोग भएको नयाँ प्रविधिले फुटबललाई विशेष र उन्नत बनाएको हो ।

गत मार्च महिनामा एडिडासले फिफा विश्वकप २०२२ मा प्रयोग हुने एएल रिह्ला फुटबल सार्वजनिक गरेको थियो । एल रिह्ला विश्वकप २०२२ मा प्रयोग हुने पहिले आधिकारिक बल हो । जसले भिडिओ असिस्टेन्ट रेफ्री (भीएआर) लाई वास्तविक समयमा सटिक बल डेटा उपलब्ध गराउँछ । यस बलमा भएको सेन्सरले आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरी खेलाडीको स्थानको डेटा ट्रयाक गर्छ ।

यस बलमा प्रयोग भएको मोसन सेन्सरले खेलमा बललाई खेलाडीले छुँदा प्रति सेकेन्ड ५०० डेटा उपलब्ध गराउँछ । जसले सेमी-अटोमेटेड अफसाइड प्रविधिमा सहयोग पुर्‍याउने फिफाले बताएको छ । एडिडासको सस्पेन्सन प्रणालीले बलभित्र बीच भागमा समावेश गरेको उक्त मोसन सेन्सरको क्षमता ५०० हर्ज रहेको छ ।

यसले बलको प्रत्येक चालको डेटा उपलब्ध गराउँछ । बलभित्र सेन्सर समावेश गर्दा त्यसले खेलाडीलाई पर्फमेन्सलाई असर गर्छ कि भन्ने धेरैको जिज्ञासा हुन सक्छ । यस बलमा सेन्सर समावेश गरिएको कुरा खेलाडीलाई महसुस नहुने फिफाले बताएको छ । बलमा प्रयोग भएको सेन्सर रिचार्जएबल ब्याट्रीद्वारा सञ्चालित छ । जो उक्त बलमा भएको चालले स्वतः चार्ज हुन्छ ।

यो मोसन सेन्सरले अफसाइट अवस्थालाई धेरै सघाउने परीक्षणबाट पुस्टि भएको थियो । मंगलबार दिउँसो अर्जेन्टिना र साउदी अरेबियाबीचको खेलमा अफसाइड हुँदा उक्त बलको सेन्सरले त्यसको जानकारी दिएको थियो । बललाई कुन खेलाडीले कुन समयमा छोएको छ भन्ने डेटा सो सेन्सरले वास्तविक समयमा भीएआर टिमलाई पठाउँछ । जसले गर्दा भीआर टिमलाई अफसाइड अवस्थाको निर्णय प्रक्रियाको गुणस्तर र गति सुधार गर्छ ।

पछिल्लो अध्यावधिक: मंसिर ७, २०७९ १९:३