close

सिङ्गल चार्जमा ३०७ किमि गुड्ने विद्युतीय बाइक, लिमिटेड एडिसन दुई घण्टामै ‘सोल्ड आउट’

टेकपाना टेकपाना

मंसिर १३, २०७९ १४:७

सिङ्गल चार्जमा ३०७ किमि गुड्ने विद्युतीय बाइक, लिमिटेड एडिसन दुई घण्टामै ‘सोल्ड आउट’

काठमाडौं । भारतको स्टार्टअप कम्पनी अल्ट्रा भायलेट अटोमोटिभले एक पटकको चार्जमा ३०६ किमि गुड्ने विद्युतीय मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले लिमिटेड एडिसनको रूपमा एफ ७७ बाइक सार्वजनिक गरेको हो । 

कम्पनीले बाइकको मोडेल नम्बरको आधारमा सार्वजनिक गरेका ७७ ओटै बाइक दुई घण्टामै बिक्री भएको बताइएको छ । कम्पनीले यसका लागि अनलाइन बुकिङ खुला गरेको थियो । 

पहेलो रङ्गमा उपलब्ध भएको यो बाइक विशिष्ट तरिकाले निर्माण गरिएको छ । दुई भेरियन्टमा आएको एफ ७७ को अधिकतम गति १५२ किलाेमिटर प्रतिघण्टा रहेको छ । एफ ७७ बिजुली बाइक २.९ सेकेन्डमा शून्यदेखि ६० किमि तथा ७‍‌.८ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाकाे गति पकड्न सक्छ । 

यो बाइकले १०० एनएम पीक टर्क उत्पादन गर्ने कम्पनीको दाबी छ। अल्ट्राभायलेट एफ ७७ हाेचाे वा अग्लाे दुवै उचाइ भएका मानिसले चलाउन मिल्ने गरि निर्माण गरिएकाे छ । यो बाइकमा ग्लाइड, कम्ब्याट र ब्यालिस्टिक गरी तीनवटा मोडहरू छन् । बाइकमा ७.१ किलोवाट आवर र १०.३ किलोवाट आवर  दुई ब्याट्री विकल्पहरू पाउन सकिनेछ। 

भारतकाे बैङ्गलाेरमा रहेको यो ईभी स्टार्टअप कम्पनीले जनवरी २०२३ को सुरुदेखि सहरी क्षत्रमा बाइकहरू उपलब्ध गराउने बताएको छ । यो बाइकको टप भेरियन्टको मूल्य चार लाख ५५ हजार भारतीय रुपैयाँ (सात लाख २८ हजार रुपैयाँ) रहेको छ । त्यस्तै बेस भरियन्टको मूल्य तीन लाख ८० हजार रुपैयाँ (छ लाख ८० हजार रुपैयाँ) राखिएको छ ।

फाइटर जेटको डिजाइनमा निर्माण गरिएको एफ ७७ बाइकमा कम्पनीले ८ वर्षको वारेन्टी दिने बताएको छ । दुई बाइक मध्ये स्ट्यान्डर्ड एफ ७७ मा ७.१ किलोवाट आवर ब्याट्री सहित २७ किलोवाट पर्मानेन्ट म्यागनेट एसी मोटर राखिएको छ । कम्पनीका अनुसार ३.४ सेकेन्डमै यो बाइक शून्य किलोमिटर प्रति घण्टाबाट ६० किलोमिटर प्रति घण्टामा एक्सिलिरेट हुनसक्छ ।

यो बाइकको बेस भेरियन्टको रेञ्ज २०६ किलोमिटर र टप भेरियन्टको रेञ्ज ३०७ किमी रहेको छ । जुन १४० किलोमिटर प्रतिघण्टामा गुड्ने कम्पनीको दाबी छ । स्ट्यान्डर्ड चार्जरबाट चार्ज गर्दा यो बाइक एक घण्टामा ३५ किलोमिटर सम्म गुड्न सक्ने बताइएको छ भने फास्ट चार्जरबाट एक घण्टा चार्ज गर्दा ७५ किलोमिटर सम्म गुड्न सक्छ।   

पछिल्लो अध्यावधिक: मंसिर १३, २०७९ १४:४२