close

शेयर लगानीकर्तालाई सघाउने 'स्मार्ट कारोबार' एप, यस्ता छन् विशेषता

टेकपाना टेकपाना

पुस ४, २०७९ २१:१८

शेयर लगानीकर्तालाई सघाउने 'स्मार्ट कारोबार' एप, यस्ता छन् विशेषता

काठमाडौं । शेयर लगानीकतालाई सहजताका साथ प्राविधिक विश्लेषणको सुविधा प्रदान गर्ने उद्देश्यले 'स्मार्ट कारोबार' नामक मोबाइल एप सञ्चालनमा आएको छ । होम सर्भिस ट्रेड लिंक प्रालिले डेभलप विकास गरेको यो एप यसअघि अनौपचारिक रुपमा सञ्चालनमा आए पनि अहिले ‘फुल भर्सन’मा सार्वजनिक गरिएकाे हो ।

सबै प्राविधिक कमी कमजोरीलाई सुधार गरेपछि गुगल प्लेस्टोरमा एप उपलब्ध गराएको कम्पनीले जनाएको छ । एपमा प्राविधिक विश्लेषणका अतिरिक्त वाचलिस्ट, लाइभ डेटा, एभरेज प्राइस, कम्पनी स्टाटस, कोरिलेसन, अड लट, फिबोनाची, न्यारो रेन्ज जस्ता फिचर छन् ।

यो एपले शेयरसम्बन्धी अनुभव भएका व्यक्तिलाई मात्र नभई शेयर बजारको ज्ञान नभएका व्यक्तिलाई पनि ज्ञान हासिल गर्न सहयोग गर्ने कम्पनीका प्रबन्ध निर्देशक दामोदर श्रेष्ठले बताए ।

“म आफैं प्राविधिक विश्लेषण गर्छु । आफू पनि सक्रिय रुपमा शेयर कारोबार गरिरहेको बेला कम्पनी एनालाइसिस गर्न समय लाग्ने भएकाले लगानीकर्ताको समय बचत होस् भन्नका लागि सूचीकृत सबै कम्पनीको रियलटाइम एनालाइसिस एपमा उपलब्ध गराइएको हो,” श्रेष्ठले भने ।

उनका अनुसार अड लटको शेयर किनबेचका सम्बन्धमा जानकारी आदानप्रदान गर्न अडलट फोरम पनि एपमा उपलब्ध गराइएको छ । यसैगरी एपमा उपलब्ध गराइएका फिचरहरुलाई लिएर प्रयोगकर्तामा कुनै दुविधा भएमा उक्त दुविधाहरु हटाउनका लागि निःशुल्क तालिम प्रदान गरिने उनले जानकारी दिए ।

प्याकेजमा उपलब्ध गराइएका सेवा प्रयोग गर्न बेसिक प्याकेज तथा प्रिमियम प्याकेज खरिद गर्न सकिने छ । एप प्रयोगकर्ताले १५ दिनसम्म परीक्षणका लागि सबै फिचर निशुल्क प्रयोग गर्न पाउनेछन् भने त्यसपछिको बेसिक प्याकेज मासिक १९९ र प्रिमियम प्याकेज मासिक ३९९ रुपैयाँमा लिन सक्नेछन् ।

यस्ता प्याकेजको वार्षिक भुक्तानीमा ३५ प्रतिशत छुट उपलब्ध गराउने श्रेष्ठले जानकारी दिए । यी प्याकेजको रकम भुक्तानी ईसेवा वालेटबाट गर्न सकिनेछ । यसका साथै तीन जनालाई रिफरल पठाएर एक महिनाको प्रिमियम प्याकेज निःशुल्क प्रयोग गर्न सकिन्छ ।

''नेपाली शेयर बजारमा नयाँ लगानीकर्ता प्रवेश गर्दा बजारमा आकर्षण बढे पनि शेयर बजारसम्बन्धी ज्ञान नहुँदा धेरै मानिस नोक्सान व्यहोर्न बाध्य छन् । त्यस्ता लगानीकर्ताले यो एपबाट धेरै जानकारी तथा सूचनाहरु, तुलनात्मक अध्ययन लगायतको सदुपयोग गर्न सक्छन् । यस आधारमा लगानीकर्ताहरुलाई शेयर सम्बन्धी ज्ञान प्राप्त गर्न स्मार्ट कारोबार एप महत्वपूर्ण हुने विश्वास छ,'' उनले भने ।

पछिल्लो अध्यावधिक: पुस ४, २०७९ २१:२०