close

अबदेखि ट्वीट गर्दा प्रयोग गरिएको डिभाइसको नाम नदेखिने

टेकपाना टेकपाना

पुस ५, २०७९ १२:२९

अबदेखि ट्वीट गर्दा प्रयोग गरिएको डिभाइसको नाम नदेखिने

काठमाडौं । अब ट्वीटरमा अन्य प्रयोगकर्ताले कुन डिभाइसबाट ट्वीट गरेको हो भनेर थाहा नपाउने भएका छन् । यसअघि कुनै पनि प्रयोगकर्ताले आईफोन वा अन्य एन्ड्रोइड डिभाइस वा वेबबाट ट्वीट गरेको भन्ने विषयमा जानकारी आउँथ्यो ।

जस्तो कि कोही प्रयोगकर्ताले आईफोनबाट ट्वीट गरेको छ भने उक्त पोस्टको छेउमा ‘ट्वीट फ्रम आईफोन’ भन्ने सन्देश आउँथ्यो । अथवा एन्ड्रोइड डिभाइसबाट गरेको हो भने ‘ट्वीट फ्रम एन्ड्रोइड’ भनेर आउँथ्यो । तर अब भने यस्तो प्रकारको सन्देश नदेखिने भएको छ । 

कम्पनीका मालिक एलन मस्कले यो फिचर हटेको विषयमा जानकारी दिएका छन् । कम्पनीले केही दिनदेखि यो फिचर हटाउन लागि परीक्षण गरिरहेको थियो । एलन मस्कले पनि एक महिनाअघि एक ट्वीट गर्दै यो फिचर हटाउने बारेमा कम्पनीले सल्लाह गरिरहेको बताएको थियो । सोही अनुरूप आइतबारदेखि कम्पनीले यो फिचर हटाएको छ ।  

तर, हालसम्म नेपालको लोकेसनमा भने वेबबाट मात्र उक्त फिचर हटाइएको देख्न सकिन्छ । अर्थात् नेपालको लोकेसनमा ब्राउजरबाट ट्वीट हेर्दा कुन डिभाइसबाट ट्वीट गरिएको हो भन्ने कुरा देख्न सकिँदैन । तर एन्ड्रोइड तथा आईओएस डिभाइसमा भने अहिलेसम्म पनि कुन डिभाइसबाट ट्वीट गरिएको हो भन्ने हेर्न सकिन्छ ।

कतिपय देशका प्रयोगकर्ताले यो फिचर एन्ड्रोइड वा आईओएसबाट पनि हटेको उल्लेख गरेका छन् । नेपालबाट भने हालसम्म पनि ट्वीट कुन डिभाइसबाट गरिएको छ भन्ने कुरा हेर्न सकिन्छ ।

 

यसअघि मस्कले यो फिचर हटाउने विषयमा जानकारी दिँदै ट्वीट गरेका थिए, "अन्ततः अब हामी कुन डिभाइसबाट ट्वीट लेखिएको हो भन्ने कुरा देखाउन बन्द गर्दैछौँ ।"

यो फिचरले स्क्रिनको स्पेस र कम्प्युटिङको समयको बर्बादी मात्र गरेको भन्दै कम्पनीले यो फिचर किन सुरु गरिएको भन्ने विषयमा कुनै जानकारी नभएको पनि उनले ट्वीटमा उल्लेख गरेका थिए । 

ह्यासट्यागका आविष्कारक क्रिस मेसिनाले उनको उक्त ट्वीटको जवाफ दिँदै भनेका छन्, "कुन डिभाइसबाट ट्वीट गरिएको हो भन्ने जानकारी देखाउने विषय ट्वीटी र ट्वीटडेक जस्ता थर्डपार्टी ट्वीटर क्लाइन्टको भिजिबिलिटी उपलब्ध गराउने राम्रो उपाय थियो र 'स्टाटस इन्डिकेटर'ले एउटा ट्वीट मोबाइल वा डेस्कटप कुनबाट गरिएको हो भन्ने कुरा समेत बताउँछ ।" 

ट्वीटरका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा सहसंस्थापक ज्याक डोर्सीले एक प्रयाेगकर्ताको ट्वीटमा सामान्य तवरले रिप्लाई दिँदै 'करेक्ट' (ठीक हो) भनेका थिए ।

पछिल्लो अध्यावधिक: पुस ५, २०७९ १२:४८