काठमाडौं । नेपाल चिनाउने कला, तस्बिर, गीत–सङ्गीत, इतिहास लगायतका श्रव्यदृश्य सामग्री अब अन्तरिक्षमा पुग्ने भएका छन् । मुनाल भू–उपग्रहमा नेपाल चिनाउने श्रव्यदृश्य सामग्री अडियो फरम्याट (ध्वनि) माध्यममा मेमोरिचिपमा राखेर अन्तरिक्षमा पुर्याइने छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र अन्तरिक्ष प्रतिष्ठान नेपालको सहकार्यमा भू–उपग्रहको दोस्रो संस्करणका रूपमा डाँफे र मुनाल नामका थप दुई भू–उपग्रह पठाउने तयारी भइरहेको गोरखापत्रमा प्रकाशित लेखमा उल्लेख गरिएको छ ।
स्ट्रिट आर्टिस्ट किरण महर्जनले मुनाल भू–उपग्रहको अभियानमा आफ्नो समूहले नेपाल चिनाउने थाङ्का, पौवा र आधुनिक चित्रकलालाई समावेश गरेको जानकारी दिए । महर्जनले यसरी अहिलेसम्म नेपाली श्रव्यदृश्य अन्तरिक्षमा गएको यो पहिलो पटक हुने दाबी गरेका छन् ।
अन्तरिक्ष प्रतिष्ठानका संस्थापक नेपाली वैज्ञानिक डा. आभाष मास्केले अन्तरिक्षमा नेपाल चिनाउने श्रव्यदृश्य सामग्री पठाउने कुरा आफैँमा नौलो विषय भएको बताउँदै भने, “हामीले यसो गर्नुका पछाडि कलाकारिताका क्षेत्रमा भएका व्यक्तिलाई भू–उपग्रहको निर्माणमा जोड्नु हो । यसरी श्रव्यदृश्यलाई अन्तरिक्षमा पठाउनु भनेको नेपालका कला, संस्कृति र इतिहासलाई साङ्केतिक रूपमा सम्मान पनि हो ।”
उनले मुनाल भू–उपग्रहमा श्रव्यदृश्य दुवै सामग्री अडियो (ध्वनि) माध्यममा पठाइने जानकारी दिए । उनले यसरी पठाइएको ध्वनि सामग्रीलाई कसरी डिकोडिङ (पहिलाको स्वरूपमा फिर्ता ल्याउने) गर्ने भन्ने कुराको जानकारी स्याटेलाइटको बोर्डमा उल्लेख गरिने बताएका छन् ।
शुक्रबार नास्टमा आयोजित डाँफे र मुनाल भू–उपग्रहको डिजाइन पुनर्समीक्षा तथा पत्रकार सम्मेलनमा दुई भू–उपग्रहको निर्माण र सञ्चालन विधिका बारेमा जानकारी दिइयो । नास्टका प्रविधि सङ्काय प्रमुख डा. रवीन्द्रप्रसाद ढकालले नेपाल मेघा स्याटेलाइटको तयारीमा रहेकाले नेपालको आफ्नै अन्तरिक्ष अनुसन्धान केन्द्रको आवश्यक रहेको बताए ।
उनले अन्तरिक्ष अनुसन्धान केन्द्रका लागि नास्ट प्रारम्भिक तयारीमा जुटेको जानकारी दिइ । यी दुई स्याटेलाइट निर्माण तथा उडानको नेतृत्व नास्टका डा. ढकाल र अन्तरिक्ष प्रतिष्ठानबाट मास्केले गरिरहेका छन् ।
डाँफे मिसन थाइल्यान्डको इन्टरनेसनल इन्स्टिच्युट अफ स्पेस टेक्नोलोजी फर इकोनोमिक डेभलपमेन्ट (इन्स्टेड) सँगको सहकार्यमा तयार भइरहेको छ । डाँफे र मुनाल अभियानका लागि नास्टले एक करोड रुपैयाँ विनियोजन गरेको छ ।
डा. ढकालले डाँफे नास्टका तर्फबाट नेतृत्व गर्ने अभियान र मुनाल काठमाडौँ हाइस्कुलका विद्यार्थीले बनाएको अभियान भएको बताए । यीमध्ये सबैभन्दा पहिला डाँफे उड्ने बताइएको छ । यी दुई स्याटेलाइट अभियानको मुख्य उद्देश्य योग्य जनशक्ति निर्माण गर्नु, अन्तरिक्ष अभियान र परियोजनासँग सम्बन्धित संरचनाको विकास र अन्तर्राष्ट्रिय संस्थाबीच साझेदारी गर्नु रहेको डा. मास्केले जानकारी दिए ।
स्याटलाइट अभियानका समूह अनुसार सन् २०२२ भित्रै उडाउने योजना भए पनि प्राविधिक सहकार्य गर्दै गरेको निकायले मिति सारेकाले आगामी २०२३ को अप्रिलसम्ममा भू–उपग्रह प्रक्षेपण गर्ने तयारी छ ।