close

मोबाइल सेवाप्रदायकको बिलमा प्रश्न उठ्न थालेपछि मनिटरिङ सिस्टम राख्ने योजना

टेकपाना टेकपाना

असार ३, २०७७ १८:२३

मोबाइल सेवाप्रदायकको बिलमा प्रश्न उठ्न थालेपछि मनिटरिङ सिस्टम राख्ने योजना

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले बिलिङ मनिटरिङ सिस्टम खरिद गर्ने तयारी थालेको छ । मोबाइल सेवाप्रदायकको बिलमा प्रश्न उठ्न थालेपछि नियामकले बिलिङ अडिट गर्न यस्तो सिस्टम राख्ने योजना बनाउन थालेको हो ।

सेवाप्रदायको बिलिङ सिस्टममा थोरै मात्र तलमाथि हुँदा उपभोक्तालाई ठूलो मर्का पर्न सक्ने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल बताउँछन् । ‘त्यसैले नै यो परियोजना अगाडि बढाउने तयारी स्वरुप बजेट छुट्याइएको हो,’ उनले भने । पछिल्लो समय उपभोक्ताले सेवाप्रदायक माथि अनावश्यक रुपमा ब्यालेन्स काटेको गुनासो गर्दै आएका छन् ।

भर्खरै प्राधिकरण बोर्डले पारित गरेको आगामी आर्थिक वर्षको वार्षिक कार्यक्रममा बिलिङ मनिटरिङ सिस्टम खरिद गर्ने विषयमा आवश्यकताको विश्लेषण गर्ने उल्लेख छ । योजना अनुसार आगामी कात्तिकसम्ममा शर्तको आधार तयार गरी फागुनभित्र परामर्शदाता नियुक्त गरिनेछ ।

परामर्शदाताले मोबाइल सेवाप्रदायक कम्पनीको बिलिङ अडिट गर्न सिस्टम खरीदको विषयमा आवश्यकताको विश्लेषण गर्नेछ । यो परियोजनाका लागि २० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

साथै दूरसञ्चार सेवाअन्तर्गत भ्वाइस, मोबाइल, डेटा तथा इन्टरनेट सेवाको बिलिङ स्वीकृत महशुल दर अनुरुप भए नभएको विषयमा नियामकले नमूना परीक्षण समेत गरिने जनाएको छ । जसमा तीन वटा भ्वाइस सेवाप्रदायक र दुई वटा प्रमुख इन्टरनेट सेवाप्रदायकको नमूना परीक्षण गरिनेछ ।

यसका लागि समेत २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । त्यसैगरी आगामी आर्थिक वर्षको कार्यक्रममा नियामकले सेवाप्रदायकको बिलिङ सिस्टमको इन्टिग्रिटी जाँच गर्ने योजना समेत समावेश गरेको छ । जसबाट सेवाप्रदायकको आम्दानी निर्क्यौल गरिने बताइएको छ । यो योजनामा भने दुई करोड रुपैयाँ बजेट छुट्याइएको छ ।

यद्यपी तालुकदार निकायको रुपमा रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवश्यक परिमार्जन सहित स्वीकृत गरेको खण्डमा मात्रै कार्यक्रम कार्यान्वयमा आउनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१