close

कैलाली टीकापुरका युवाले बनाए चल्ला कोरल्ने ‘पोथी मसिन’

टेकपाना टेकपाना

पुस ७, २०७७ १४:३९

कैलाली टीकापुरका युवाले बनाए चल्ला कोरल्ने ‘पोथी मसिन’

काठमाडौं । अब व्यवसायिक चल्ला उत्पादकहरुले नेपालमै बनेको इन्क्युबेटर (चल्ला कोरल्ने मसिन) प्रयोग गर्न पाउने भएका छन् । कैलाली टीकापुरका २६ वर्षीय इलेक्ट्रिकल इंजिनियर सुमन पौडेलको टिमले ‘पोथी मसिन’ बनाएको हो ।  

यससँगै भारत तथा अन्य तेस्रो मुलुकबाट आयातित मसिनका लागि चर्को शूल्क तिरेर चल्ला उत्पादन गर्दै आएका कृषकका लागि स्थानीय विकल्प तयार भएको छ । कृषकले अब नेपालमै बनेको स्मार्ट इन्क्युबेटर मसिन प्रयोग गर्न सक्ने छन् ।

हाल भारतबाट आउने इन्क्युबेटरमा वारेन्टी भए पनि सर्भिसिङका लागि उद्यमीहरुले दुःख पाउँदै आइरहेका थिए । सस्तो मूल्यका आयातित मसिन कमसल हुने तथा गुणस्तरीय सामग्रीका लागि चर्को लागत पर्ने गरेको छ ।

तर आफूहरुले तयार पारेको मसिनमा गुणस्तरीय हुनुका साथै मूल्य समेत सस्तो रहेको सुमनको भनाई छ । ‘हाम्रा कृषकले प्रयोग गर्ने आयातित इन्क्युबेटर स्मार्ट थिएन,’ उनले भने, ‘तर हामीले बनाएको मसिन स्मार्ट छ ।’

उनका अनुसार यो मसिन प्रयोग गर्न तथा निरीक्षण गर्न मोबाइलका लागि छुट्टै एप तयार पारिएको छ । जसले गर्दा अन्य मसिनमा जस्तो यसलाई मसिनसम्म‍ पुगेर चलाउनु पर्ने बाध्यता समेत हुँदैन ।

पोथी मसिनका लागि तयार पारिएको मोबाइल एप

साना जलविद्युत परियोजनामा निर्भर हिमाली तथा पहाडी क्षेत्रका कृषकहरुले आयातित मसिन प्रयोग गर्दा उच्च बिजुली खपत हुने समस्या छ । तर ‘पोथी’ले एकदमै कम बिजुली खपत गर्ने तथा सोलारबाट समेत चल्न सक्ने सुमनले बताए ।

‘पोथी ८० वाटको बिजुलीमा समेत चल्न सक्छ,’ उनले भने, ‘हलुका तौल भएको यो मसिन विभिन्न आकारमा तयार पारेका छौं ।’

हाल निर्माणकर्ता कम्पनी पाथीभरा सेन्सस सोलुसन प्रालिसँग ३२ हजार अण्डा कोरल्नसक्ने ५२ वटा इन्क्युबेटर मसिन तयार भएका छन् । यी मसिनहरुको मूल्य ६० हजार नेपाली रुपैयाँदेखि सुरु हुन्छ ।

व्यवसायिक रुपमै ‘पोथी’ उत्पादन गर्न थालेको कम्पनीले हालसम्म पोथीका २५ युनिट बिक्री गरिसकेको छ । सरकारले कृषिजन्य सामग्रीमा ८० प्रतिशत अनुदान दिइरहेको हुँदा मसिन बिक्री बढ्ने क्रममा रहेको सुमनले जानकारी दिए ।

यद्यपी नेपालमै बनेको सामग्री भएकोले मानिसहरुमा विश्वासको कमी रहने गरेको सुमनको गुनासो छ । पोथी मसिनबाट कुखुरा, बताई, हाँस, लौकट, कालिज, अष्ट्रिच, तित्रा, टर्की जस्ता पन्छीहरुको अण्डा कोरल्न सकिन्छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०