close

साओमीको प्रिमियम स्मार्टफोन मि इलाभेन विश्वबजारमा, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

माघ २६, २०७७

साओमीको प्रिमियम स्मार्टफोन मि इलाभेन विश्वबजारमा, यस्तो छ मूल्य र फिचर

काठमाडौं । स्मार्टफोन निर्माता कम्पनी साओमीले आफ्ना मि सिरिजको स्मार्टफोन सोमबार विश्वबजारमा सार्वजनिक गरेको छ । कम्पनीले स्नापड्रागन ८८८ चिपसेट भएको विश्वकै पहिलो स्मार्टफोनको रुपमा आफ्नो फ्ल्यागशिप सिरिज मि इलाभेन बजारमा ल्याएको हो ।

मि सिरिजको यो स्मार्टफोन साओमी मियूआई १२.५ ओएसमा चल्नेछ । साओमीका यो पहिलो यस्तो स्मार्टफोन हो, जसको साथमा चार्जर दिइएको छैन ।

मूल्य र उपलब्धता

साओमी मि इलाभेनको ८ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य ७४९ यूरो (करिब एक लाख ५ हजार रुपैयाँ) राखिएको छ । त्यस्तै ८ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मि इलाभेनको मूल्य ७९९ यूरो (करिब एक लाख १२ हजार रुपैयाँ) छ ।

यस बाहेक फोनमा दुई वर्षको वारेन्टी तथा एक वर्षको वान टाइम स्क्रिन रिप्लेसमेन्टको सुविधा समेत उपलब्ध हुनेछ । कम्पनीका यी स्मार्टफोन स्ट्याण्डर्ड ह्वाइट, ब्लू र ब्ल्याक कलर भेरियन्टमा बजारमा उपलब्ध हुनेछ ।

फोनमा माइक्रो एसडीका लागि कुनै स्लट अनबोर्ड गरिएको छैन । यसको मतलव खरिद गरिसकेपछि यसमा थप स्टोरेजका लागि कुनै विकल्प हुने छैन ।

यस अलावा पछाडि भागमा लेदर फिनिससँगै स्मोक पर्पल तथा मट्याइलो खैरो कलर भेरियन्टमा समेत यी स्मार्टफोन खरिद गर्न सकिनेछ ।

यस्तो छ स्पेसिफिकेसन

साओमी मि इलाभेनमा ६.८१ इन्च टुके डब्लूक्यूएचडी प्लस १४४० बाई ३२०० रेजोलुसन भएको डिस्प्ले राखिएको छ । जसको रिफ्रेश रेट १२० हर्ज तथा टच स्याम्पलिङ रेट ४८० हर्ज रहेको छ ।

फोनमा पिक ब्राइटनेस १५०० निट्स तथा पोटेक्सनका लागि कर्निङ गोरिल्ला ग्लास भिक्टसको प्रयोग गरिएको छ । मि सिरिजमा फाइभजी सपोर्ट गर्ने क्वालकम स्नापड्रागन ८८८ चिपसेट राखिएको छ ।

फोनमा पावरका लागि ४६०० एमएएच क्षमताको ब्याट्री राखिएको छ । जसले ५५ वाट वायर्ड फास्ट चार्जिङ तथा ५० वाट वायरलेस फास्ट चार्जिङ र १० वाट रिभर्स चार्जिङ सपोर्ट गर्दछ ।

साओमी मि इलाभेनमा हार्मन तथा कार्डन साउन्ड ट्युनिङका साथै स्टेरियो स्पिकर समेत राखिएको छ । यसमा पछाडि भागमा तीन वटा क्यामेराको सेटअप रहेको छ भने अगाडि भागमा सेल्फीका लागि सिंगल पञ्चहोल क्यामेरा दिइएको छ ।

यसको पछाडि भागमा एफ/१.८५ अपार्चर सहितको १०८ मेगापिक्सेलको प्राइमरी सेन्सर रहेको छ । जुन ओआईएस (अप्टिकल इमेज स्टेबलाइजेसन) युक्त रहेको छ ।

त्यससँगै फोनमा १३ मेगापिक्सेल अल्ट्रा वाइड एंगल लेन्स र पाँच मेगापिक्सेलको म्याक्रो सेन्सर लगाइएको छ । सेल्फीका पारखीहरुका लागि यसमा २० मेगापिक्सेलको फ्रन्ट क्यामेरा राखिएको छ ।

फोनमा टाइम फ्रिज, म्याजिक जुम, प्यारलल वर्ल्ड, फ्रिज फ्रेम आदि जस्ता एआई फिचर समेत रहेका छन् । इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर र बिल्ट इन हार्ट रेट सेन्सर रहेको यो फोनमा एनएफसी तथा वाईफाई सिक्स ई सपोर्ट समेत रहेको छ ।