close

गुगलको नयाँ रेकर्ड, ३ महिनामै कमायो २१ खर्ब नाफा

टेकपाना टेकपाना

बैशाख १६, २०७८ १९:१३

गुगलको नयाँ रेकर्ड, ३ महिनामै कमायो २१ खर्ब नाफा

काठमाडौं । २०२१ को पहिलो त्रैमासिकमा पनि गुगलको मातृ कम्पनी अल्फाबेटको आम्दानीले उचाइ छोएको छ । नयाँ वर्षको नयाँ त्रैमासिक पनि महामारीको चपेटामा परेर मानिसहरु घरमा थुनिँदा अल्फाबेटको सेवा अत्याधिक प्रयोग भएकाे हाे ।

कम्पनीको खुद नाफा १६२ प्रतिशतले बढेर तीन महिनामै १७ अर्ब ९० करोड डलर (२१ खर्ब २१ लाखभन्दा बढी) को रेकर्ड राखेको छ । गत जनवरीदेखि मार्चसम्मकाे अवधिमा कम्पनीकाे सबैभन्दा धेरै आम्दानी विज्ञापनकै कारणले बढेको छ ।

गुगलले शक्तिको दुरुपयोग गरी एकाधिकार कायम गरिरहेको विषयमा अमेरिकी प्रशासनबाट अनुसन्धान बढिरहँदा गुगलको आम्दानीमा पछिल्लो विकास भएको हो ।

गुगल प्रयोगकर्ताहरुको अनलाइन गतिविधि बढेको कारण यस्तो परिणाम आएको कम्पनीले बताएको छ ।

‘गत वर्षभर मानिसहरु सुसूचित हुन, कनेक्टेड तथा मनोरञ्जन प्राप्त गर्न गुगल सर्च तथा विभिन्न अनलाइन सेवाहरुको प्रयोग गरे,’ अल्फाबेट र गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईले भने ।

विश्वभर अर्थतन्त्र पुन: सुचारु भई अनलाइन विज्ञापनमा खर्च बढाउन मानिसहरु उत्प्रेरित भइरहेको अवस्थामा टेक जाइन्ट कम्पनीहरुले राम्रो पर्फमेन्स दिन सक्ने विश्लेषकहरुले अपेक्षा गरेका थिए ।

यसै अपेक्षाअनुरुप उक्त त्रैमासिक अवधिमा गुगल सर्च व्यवसाय ३० प्रतिशतले बढेर ३१ अर्ब ९० करोड डलरको भएको छ भने युट्युवको बिक्री पनि ४९ प्रतिशतले बढेर ६ अर्ब डलरमा पुगेको छ ।

तर पछिल्ला वर्षहरुमा यस्ता टेक जाइन्टरहरुले प्रतिस्पर्धा तथा गोपनीयताका विषयमा निरन्तर नियामकहरुको चेतावनी सुन्दै आइरहेका छन् ।

पछिल्लो पटक गत सोमबार मात्र स्ट्रिमिङ टिभी टेक्नोलोजी कम्पनी रोकुले गुगलमाथि गैरप्रतिस्पर्धी स्वभाव देखाएर आफ्नो युट्युव तथा हार्डवेयर व्यवसायलाई अगाडि बढाएको आरोप लगाएको छ ।

यसैबीच अमेरिका र युरोपेली नियामकहरु पनि गुगल र अन्य टेक जायन्ट कम्पनीमाथिको नियमनलाई थप कडाईका साथ लिएर जाने विषयमा निरन्तर छलफलमा छन् ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१