close

अन्ततः भ्वाइस र भिडियो कलका लागि फेसबुक म्यासेन्जरमा थपियो इन्ड-टु-इन्ड इन्क्रिप्सन

टेकपाना टेकपाना

साउन ३०, २०७८ २०:५२

अन्ततः भ्वाइस र भिडियो कलका लागि फेसबुक म्यासेन्जरमा थपियो इन्ड-टु-इन्ड इन्क्रिप्सन

काठमाडौं । फेसबुकले आफ्नो लोकिप्रय च्याट एप म्यासेन्जरमा भ्वाइस र भिडियो कलका लागि इन्ड-टु-इन्ड इन्क्रिप्सन फिचर थप गरेको छ । कम्पनीले शुक्रबार एक ब्लग पोस्ट गर्दै यस्तो सुरक्षा फिचर थप गरेको जानकारी दिएको हो ।

साथै सोही अवसर पारी कम्पनीले ‘सेक्रेट कन्भर्सेसन‘ अप्सनका लागि पनि नयाँ अपडेट जारी गरेको छ । यी फिचरले फेसबुक म्यासेन्जरलाई थप सुरक्षित बनाउने कम्पनीको विश्वास छ ।

फेसबुक मेसेन्जरले २०१६ मा ‘सेक्रेट कन्भर्सेसन’ अप्सन थप गर्दै पहिलोपटक टेक्स्ट म्यासेजका लागि इन्ड-टु-इन्ड इन्क्रिप्सन सुरु गरेको थियो ।

टेक्स्ट म्यासेजसँगै भ्वाइस र भिडियो कलमा प्रयोगकर्ताको रुचि बढ्दै गएकाले यो फिचर विस्तार गरिएको कम्पनीले जनाएको छ ।

सुरूवातमा यो फिचर केही प्रयोगकर्ताका लागि मात्र उपलब्ध गराइएको छ । चाँडै नै सबैका लागि इन्ड-टु-इन्ड इन्क्रिप्सन फिचर खुला गरिने कम्पनीले जनाएको छ ।

यो फिचर प्रयोगमा आएसँगै म्यासेन्जरमा हुने कल तेस्रो व्यक्तिले सुन्न सक्दैन । अर्थात् दुई डिभाइसबाट म्यासेन्जरमा हुने कलमा तेस्राे पक्षले पहुँच राख्न सक्दैन ।

हाल म्यासेन्जरमा एक दिनमा १५ कराेडभन्दा बढी भिडियो कल हुन्छ । तर इन्ड–टु–इन्ड इन्क्रिप्सन सेवा स्वतः रुपमा लागू नहुँदा अर्को पक्षले प्रयाेगकर्ताबीचकाे कलमाथि पहुँच राख्ने जोखिम थियो ।

फेसबुकले चाँडै नै ग्रुप च्याट र कलका लागि पनि यो फिचर सुरू गर्ने जानकारी दिएको छ । साइबर सुरक्षा विज्ञहरूले फेसबुक म्यासेन्जरका सबै च्याटमा स्वतः इन्ड–टु–इन्ड इन्क्रिप्सन कार्यान्वयन गर्द दबाब दिइरहेका छन् । हाल टेक्स्ट म्यासेजको हकमा प्रयोगकर्ता आफैंले सेटिङमा गएर यसलाई प्राइभेट कन्भर्सेसन गर्ने अप्सनमात्र छ ।

फेसबुकको अर्को च्याट एप ह्वाट्सएपले यसअघि नै सबै च्याटका लागि इन्ड-टु-इन्ड इन्क्रिप्सन लागू गरेको छ । यो फिचरका कारण म्यासेज पठाउने र पाउने बाहेक अन्य व्यक्तिले पहुँच राख्न सक्दैन ।

अर्कोतर्फ फेसबुक म्यासेन्जरको टेक्स्ट कन्भर्सेसनमा पनि सानो अपडेट आएको छ । यसअन्तर्गत ‘सेक्रेट कन्भर्सेसन’ मा गएर प्रयोगकर्ताले ५ सेकेन्डदेखि २४ घण्टासम्म म्यासेज आफैं हराउने बनाउन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१