close

करोडौं ट्वीटर प्रयोगकर्ताको ईमेल एड्रेस लिक

टेकपाना टेकपाना

पुस २४, २०७९ २०:२७

करोडौं ट्वीटर प्रयोगकर्ताको ईमेल एड्रेस लिक

काठमाडौं । करोडौं ट्वीटर प्रयोगकर्ताको ईमेल एड्रेस लिक भएको छ । अज्ञात प्रयोगकर्ताले ह्याकर फोरममा ईमेल एड्रेस सहितको डेटा निःशुल्क रुपमा प्राप्त गर्न सकिने गरी सार्वजनिक गरेका हुन् ।

जसमा ट्वीटर अकाउण्ट सेटअपका लागि प्रयोग भएका २० करोड भन्दा बढी ईमेल एड्रेसका साथै अन्य जानकारी समेत रहेको छ । उक्त डेटामा यसअघि नै लिक भएका तथा नयाँ दुवै प्रकारका ईमेल एड्रेस समावेश रहेको अनुमान गरिएको छ ।

जसमा दश करोड भन्दा बढी नयाँ ईमेल रहेको दाबी गरिएको छ । तर, लिक भएको डेटाको स्वतन्त्र अध्ययन नभएकाले कति डेटा नयाँ छ भन्ने कुरा यकिन गर्न नसकिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यो विषयमा हालसम्म ट्वीटरले कुनै आधिकारिक बयान दिएको भने छैन । साइबर क्राइम इन्फरमेसन फर्म हुडसन रकका साइबर विज्ञ एलन ग्यालले लिक भएका ईमेल आधिकारिक रहेको बताएका छन् ।

उनै ग्यालले लिक भएको डेटामा २० करोड ईमले एड्रेस रहेको जानकारी दिएका हुन् । साथै उनले यसमार्फत धेरै ट्वीटर अकाउन्ट ह्याक हुनसक्ने चेतावनी समेत दिएका छन् ।

यसरी निःशुल्क रुपमा उपलब्ध भएको डेटा धेरैले डाउनलोड समेत गरेको जनाइएको छ । यस्ता डेटा विभिन्न प्रयोजनका लागि प्रयोग हुन सक्ने भएकाले धरैले उक्त अज्ञात व्यक्तिलाई धन्यवाद समेत दिएको उल्लेख छ ।

पछिल्लो अध्यावधिक: पुस २४, २०७९ २०:३५